बीमितको नयाँ आर्थिक साथी बन्यो ‘बीमालेख धितो कर्जा’: कुन कम्पनीले कति दिए ऋण ? कति गर्छन आम्दानी ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमितको नयाँ आर्थिक साथी बन्यो ‘बीमालेख धितो कर्जा’: कुन कम्पनीले कति दिए ऋण ? कति गर्छन आम्दानी ?



काठमाडौं । बीमालेख धितोमा जीवन बीमा कम्पनीहरुले १ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । बीमालेख धितो राखेर कर्जा लिनेहरु बढी रहेका छन् । यस्तो कर्जा साढे ६ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिनसक्ने व्यवस्था छ । बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्ने पनि व्यवस्था रहेको छ ।

प्राधिकरणले तीन वर्षपछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण-त्याग्न गर्न सकिने व्यवस्था गरिदिएको छ । बीमितहरुले तीन किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ । कर्जाको ब्याजदर भने १० प्रतिशत वरिपरि नै हुने गरेको छ । बीमितहरूले बीमालेखलाई धितो राखेर सहज रुपमा ऋण लिन थालेका छन् ।

बीमालेख धितोमा कर्जा लिएर धेरै बीमितले साना तथा घरेलु व्यवसायहरू सञ्चालन गर्न थालेका छन् । किराना पसल, मोबाइल मर्मत केन्द्र, टेलरिङ, डेरी वा कृषि व्यवसायमा लगानी गरिने कम्पनीहरु बताउँछन् ।

यसका साथै, स्वास्थ्य उपचार, शिक्षामा खर्च, आकस्मिक पारिवारिक आवश्यकताहरू पूरा गर्न पनि बीमितले यस्तो कर्जा लिने नेपाल बीमा प्राधिकरणका अधिकारीहरु बताउँछन् । कतिपयले भने कर्जा लिएर व्यवसाय सुरु गरी त्यसैको आम्दानीबाट बीमा शुल्क तथा कर्जाको किस्ता भुक्तानी गर्ने उनीहरुको भनाई छ ।

बीमा कम्पनीले अन्य सम्पत्ति धितो नचाहिने, प्रक्रिया सहज र शीघ्र कर्जा स्वीकृति हुने जस्ता सुविधाले गर्दा यो सेवा लोकप्रिय बन्दै गएको हो । बीमालेख धितो कर्जा सेवा बीमा कम्पनीहरूको लागि लाभदायक वित्तीय उपकरण सावित भइरहेको छ । बीमा कम्पनीहरूले प्रविधि प्रयोगमार्फत यस्तो सेवालाई अझ छरितो र पारदर्शी बनाउन सके सेवा दीर्घकालीन आर्थिक साझेदारको रुपमा स्थापित हुनसक्ने देखिन्छ ।

कर्जा प्रवाहमा सबैभन्दा अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा ३६ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.०७ प्रतिशत बढी हो ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले २१ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेछ । तर, यो अघिल्लो वर्षको तुलनामा १.२४ प्रतिशत घटेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब २१ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो गत वर्षको तुलनामा भने ११.१८ प्रतिशत बढी हो ।

यस अवधिमा आइएमई लाइफ कर्जा प्रवाह वृद्धिदरमा सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले ९ महिनामा ९४ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै ३५.२८ प्रतिशत वृद्धि गरेको हो ।

यस्तै, रिलायवल नेपाल लाइफको कर्जा प्रवाह २४.६७ प्रतिशत, सिटिजन लाइफको २३.७६ प्रतिशत, सन नेपालको २२.०३ प्रतिशत, सानिमा रिलायन्सको २०.८० प्रतिशत, प्रभु महालक्ष्मीको १८.१० प्रतिशत र हिमालयन लाइफको ११.८१ प्रतिशतले वृद्धि भएको छ ।

यता, केही कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा न्यून वृद्धि मात्र देखाएका छन् । सूर्यज्योति लाइफको कर्जा प्रवाह ८.९८ प्रतिशत, मेट लाइफको ५.३४ प्रतिशत, एशियन लाइफको २.८९ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको कर्जा प्रवाह ०.१४ प्रतिशतले मात्र बढेको छ ।

बीमालेख धितो कर्जाबाट हुने आम्दानी पनि उल्लेख्य बढ्यो

बीमालेख धितोमा कर्जा प्रवाहसँगै बीमा कम्पनीहरूको आम्दानीमा समेत उल्लेखनीय वृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीहरूले कूल ७ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १६.७२ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितो कर्जाबाट २ अर्ब ७५ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशत बढी हो । एलआईसी नेपालले १ अर्ब ७९ करोड २१ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ५.९७ प्रतिशत वृद्धि भएको हो ।

यस्तो आम्दानी उच्च वृद्धिदर भने प्रभु महालक्ष्मी लाइफको रहेको छ । कम्पनीको यस्तो आम्दानी १२७.४० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, आइएमई लाइफको आम्दानी ८८.८९ प्रतिशत, सूर्यज्योतिको ६५.३२ प्रतिशत, हिमालयन लाइफको ४०.३० प्रतिशत, सानिमा रिलायन्सको ३४.७४ प्रतिशत, रिलायवल नेपालको ३१.२७ प्रतिशत, सन नेपालको ३०.४० प्रतिशत, नेशनल लाइफको २४.६६ प्रतिशत, सिटिजन लाइफको २०.४२ प्रतिशत र राष्ट्रिय जीवन बीमाको आम्दानी १९.४१ प्रतिशत बढेको छ । यता, एशियन लाइफको आम्दानी ५.८७ प्रतिशत र मेट लाइफको ३.३५ प्रतिशत वृद्धि भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्