बीमा प्राधिकरणले पनि निकाल्न थाल्यो ‘वर्तमाने’ बुलेटिन, नीति निर्माणमा कसरी पुग्छ सहयोग ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बीमा प्राधिकरणले पनि निकाल्न थाल्यो ‘वर्तमाने’ बुलेटिन, नीति निर्माणमा कसरी पुग्छ सहयोग ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७ औं वर्ष प्रवेशको अवसरमा बीमा बारे विस्तृत तथ्यांकहरु मासिक रुपमा प्रकाशन गर्ने अभ्यासको थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले हरेक महिना प्रकाशन गर्ने ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनकै भाँति प्राधिरकणले पनि मासिक रुपमा यस्तो प्रकाशन सुरु गरेको हो ।

राष्ट्र बैंकको उक्त प्रतिवेदनलाई बोलिचालिको भाषामा ‘वर्तमाने’ भन्ने गरिएको छ । हरेक महिनाको विवरण पस्कने भएकाले पनि यो नाम आकर्षक देखिन्छ । प्राधिकरणले पनि अब त्यस्तै खालको दस्तावेज सार्वजनिक गर्न थालेको हो ।

पहिले पनि बीमा क्षेत्रका आंशिक तथ्यांकहरु प्रकाशन गर्ने अभ्यास थियो । त्यसलाई परिस्कृत र एकीकृत गरेर प्रकाशन आरम्भ गरेको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताए ।

पहिलो पल्ट गत चैतका आँकडाहरु समेटेर प्रतिवेदन प्रकाशन भएको प्राधिकरणले बताएको छ । यस प्रकाशनलाई प्राधिकरणले ‘बीमा प्रतिबिम्ब’ नाम दिएको छ । नेपाली बीमा क्षेत्रको मासिक तथ्यांक संस्करणका रुपमा यो प्रतिवेदनले निरन्तरता पाउने सुवेदी बताउँछन् ।

यसमा बीमा क्षेत्रका थुप्रै सूचना र तथ्यांकलाई व्यवस्थित रुपमा सम्प्रेषण गरिएको छ भने समष्टिगत विश्लेषण पनि गरिएको छ । जसले बीमा क्षेत्रको वास्तविक परिस्थिति जान्न र बजारको माग तथा आवस्यकतालाई हेरेर नीति निर्माण गर्नमा यो अभ्यास निकै उपयोगी हुने प्राधिकरणले जनाएको छ ।

पहिले भइरहेका कामलाई थप परिस्कृत गर्दै लैजाने अभ्यासमा प्राधिकरणले काम गरिरहेको छ । केहीदिन अघि मात्रै प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष शरद ओझाले प्राधिकरणभित्र अनुसन्धान विभागै बनाएर यस प्रकारका प्रकाशन आरम्भ गर्ने बताएका थिए ।

यस किसिमको विस्तृत प्रतिवेदन नयाँ ढाँचामा निकाल्ने कोसिस भएका कारण पहिलो पल्ट केही ढिलाइ भएको भए पनि भविष्यमा प्रकाशनको समय घटाउँदै लाने कोसिस गरिने प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

सरकारले नयाँ बजेट निर्माणमा तीव्र रफ्तारले काम गरिरहेका बेला बीमा सम्बद्ध नीतिहरु तर्जुमा गर्न र लक्ष्य निर्धारण गर्नमा पनि यो प्रतिवेदन सहयोगी हुनसक्ने ठानिएको छ ।

यस्तो छ पहिलो प्रतिवेदन :


प्रतिक्रिया दिनुहोस्