निर्जीवन बीमा : ‘राम्रो व्यापार, तीव्र प्रतिस्पर्धा’, शिखरको वर्चश्व कायमै, कसले कति उठाए प्रिमियम ?

काठमाडौं । ठुला निर्जीवन बीमा कम्पनीहरुको व्यापार साढे ६ प्रतिशत वृद्धि भएको छ । १० महिनाको अवधिमा नै कम्पनीहरुले ३५ अर्ब बढीको व्यवसाय भित्र्याएका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवको १० महिनामा कम्पनीहरुले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । कम्पनीको व्यवसाय वृद्धिदर ६.७६ प्रतिशत छ ।
समिक्षा अवधिमा कम्पनीहरुले मोटर बीमा मार्फत १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले १३ लाख २१ हजार ८५४ वटा मोटर बीमालेख बिक्री गरेका छन् । मोटर बीमा व्यवसाय ६.८० प्रतिशत वृद्धि भएको हो ।
यता, सम्पत्ति बीमा मार्फत कम्पनीहरुले ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले ४ लाख ९२० वटा सम्पत्ति बीमालेख बेचेका छन् ।
प्राधिकरणका अनुसार इन्जिनियरिङ्ग बीमा मार्फत ६ अर्ब ६ करोड ३४ लाख, विविध बीमा मार्फत ३ अर्ब ८५ करोड ९ लाख, सामून्द्रिक २ अर्ब १० करोड २४ लाख, कृषि तथा बाली मार्फत १ अर्ब ३५ करोड २ लाख, हवाई मार्फत १ अर्ब ९० करोड ११ लाख र लघुबीमा मार्फत ७८ करोड १० लाख बीमा शुल्क आर्जन गरेका छन् । १० महिनामा लघुबीमासहित ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका हुन् ।
व्यापारमा शिखर इन्स्योरेन्सकै वर्चस्व कायमै देखिन्छ । कम्पनीले सर्वाधिक व्यापार भित्र्याएको छ । १० महिनामा शिखरले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भने ३.०९ प्रतिशत बढी हो । गत आवको १० महिनामा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
निर्जीवन बीमा व्यापारमा दोस्रो ठुलो हिस्सा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को छ । कम्पनीले पनि १० महिनामा ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यापार गत वर्षको तुलनामा ४.०१ प्रतिशत वृद्धि भएको हो ।
तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले पनि व्यापार ९.१८ प्रतिशत बढाएर ३ अर्ब ४७ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, हिमालयन एभरेष्टको व्यापार पनि ५.१७ प्रतिशत वृद्धि भई ३ अर्ब ८ करोड १८ लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियलको पनि ४.६७ प्रतिशत बढेर ३ अर्ब २ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
व्यापार बढाउन भने ओरियण्टल इन्स्योरेन्स शीर्ष सूचीमा देखिएको छ । कम्पनीले व्यापार ३७.१ प्रतिशत बढेको छ । १० महिनामा कम्पनीले २ अर्ब २५ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेपाल इन्स्योरेन्सको वृद्धिदर पनि उच्च नै छ । कम्पनीको व्यापार ३४.१४ प्रतिशत बढेर १ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्स पनि व्यापार १८.९ प्रतिशत बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता, सानिमा जिआईसीको व्यावसाय पनि ७.७ प्रतिशत, नेकोको २.०८ प्रतिशत वृद्धि भएको छ ।
गत वर्षको तुलनामा चार वटा कम्पनीको व्यापार भने गिरावट देखिएको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको १३.१६ प्रतिशत घटेर १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ कायम भएको छ । यता, युनाईटेड अजोडको ३.८४ प्रतिशत, नेशनल इन्स्योरेन्स १.४७ प्रतिशत र प्रभू ०.६५ प्रतिशत घटेको छ ।
कसको घट्यो–कसको बढ्यो ? (रकम लाखमा )
