निर्जीवन बीमा व्यापारमा चमक : मोटर र सम्पत्ति बीमाको दह्रो पकड, ‘कुन बढ्यो–कुन घट्यो’ ? « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

निर्जीवन बीमा व्यापारमा चमक : मोटर र सम्पत्ति बीमाको दह्रो पकड, ‘कुन बढ्यो–कुन घट्यो’ ?



काठमाडौं । निर्जीवन बीमा व्यापार साढे ८ प्रतिशत वृद्धि भएको छ । कम्पनीहरुले १० महिनामा साढे ३५ अर्बको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै उपब्लध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीहरुले ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा ८.४५ प्रतिशत धेरै हो । जबकि, गत आवको सोही अवधिमा कम्पनीहरुले ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

निर्जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा मोटर बीमाको छ । १० महिनामा कम्पनीहरुले मोटर बीमा मार्फत १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले मोटर बीमा ६.८ प्रतिशत बढाएका छन् । गत आवको साउनदेखि बैशाखसम्म आइपुग्दा पनि १० अर्ब ९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

कुल व्यवसायमा मोटर बीमाको योगदान ३०.०५ प्रतिशत छ । १० महिनामा कम्पनीहरुले १३ लाख २१ हजार ८५४ वटा मोटर बीमालेख बिक्री गरेका छन् । सरकारले हाल मोटर बीमा अनिवार्य गरेको छ । सवारीसाधन दर्ता गर्दा बीमा अनिवार्य बनाइएको नीतिको प्रत्यक्ष असर मोटर बीमामा देखिएको छ । पछिल्लो समय यस्तो व्यवसायमा निरन्तर बढोत्तरी देखिएको छ ।

दोस्रो ठुलो हिस्सा रहेको सम्पत्ति बीमा व्यवसाय पनि १०.७४ प्रतिशत वृद्धि भएको छ । १० महिनामा कम्पनीहरुले यस बीमा मार्फत ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने १०.७४ प्रतिशत बढी हो । कुल व्यवसायमा सम्पत्ति बीमाको योगदान २५.१९ प्रतिशत छ । कम्पनीहरुले सो अवधिमा ४ लाख ९२० वटा बीमालेख बिक्री गरेका छन् । सरकारले भवन निर्माण स्वीकृति, बैंक ऋण र ठूला संस्थागत संरचनामा सम्पत्ति बीमा अनिवार्य गरेकोले सम्पत्ति बीमा पनि तीव्र गतिमा बढेको छ ।

यस्तै, इन्जिनियरिङ तथा ठेक्का बीमा मार्फत पनि ६ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा यस्तो बीमा ९.५२ प्रतिशत वृद्धि भएको छ । देशभर भइरहेका विकास निर्माणको कार्यहरु अघि धमाधम अघि बढीरहेका छन् । सडक, जलविद्युत्, अस्पताल, विद्यालय निर्माणदेखि ठूला ठेक्का सम्झौताहरू भइरहेका छन् । जसले इन्जिनियरिङ्ग बीमामा स्थिर वृद्धिमा टेवा पुगेको हो । कुल व्यवसायमा यस्तो बीमाको योगदान १६.९० प्रतिशत छ । यस बीमा मार्फत कम्पनीहरुले २७ हजार ११६ वटा बीमालेख बिक्री गरेका छन् ।

समिक्षा अवधिमा सामून्द्रिक बीमा २९.१७ प्रतिशत वृद्धि भएको छ । १० महिनामा यस्तो बीमा मार्फत २ अर्ब १० करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, कृषि तथा बाली बीमाभने १९.८६ प्रतिशत र हवाई बीमा पनि १० प्रतिशत घटेको छ । चालु आवको १० महिनामा कम्पनीहरुले कृषि तथा बाली बीमा मार्फत १ अर्ब ३५ करोड २ लाख र हवाई बीमा मार्फत १ अर्ब ९० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, लघुबीमा भने २७१.९३ प्रतिशत वृद्धि भई ७८ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा भने कम्पनीहरुले यस्तो बीमा मार्फत २१ करोड बीमा शुल्क आर्जन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्