साढे १२ लाख बीमितले गरेनन् पोलिसी नविकरण : बीमा कम्पनीमा ३७ अर्ब ‘होल्ड’, किन बढ्दैछ यस्तो प्रवृत्ति ?

काठमाडौं । बीमालेख नविकरण नगर्ने प्रवृत्ति बढ्दो क्रममा देखिएको छ । जीवन बीमा कम्पनीमा यस्तो प्रवृत्ति बढ्दै गएको हो । अहिले झन्डै ३७ अर्ब रुपैयाँ बराबरको साढे १२ लाख बीमालेख नविकरण नभएको पाइएको छ ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको एक तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो एक वर्षको अवधिमा नै बीमालेख (रकम) नविकरण नगर्ने दर झन्डै १९ प्रतिशत वृद्धि भएको छ ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा जीवन बीमामा ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको बीमालेख नविकरण भएको छैनन् । नविकरण नभएको बीमालेखको संख्या पनि उल्लेख्य छ । सो अवधिमा १२ लाख ५४ हजार ४७८ वटा जीवन बीमालेख नवीकरण नगरी ‘व्यतित’ अवस्थामा रहेका छन् ।
हाल जीवन बीमा तर्फ १४ वटा ठूला तथा ३ वटा लघु बीमा कम्पनी सञ्चालनमा छन् । ती सबै कम्पनीहरूमार्फत बीमा गरिएका, तर म्यादभित्र नविकरण नभएका बीमालेखको स्थिति यो हो ।
प्राधिकरणका अनुसार नविकरण नभएका बीमालेखको संख्या ११.६३ प्रतिशत वृद्धि भएको छ । यो रकमको आधारमा यो वृद्धि १८.९६ प्रतिशत पुगेको देखिएको छ । गत वर्षको बैशाख मसान्तसम्म ११ लाख २३ हजार ७४२ वटा बीमालेख नविकरण भएका थिएनन् । गत वर्ष ३० अर्ब ९८ करोड ६७ लाख रुपैयाँ बराबरको बीमालेख नविकरण नगरि व्यतित अवस्था थिए ।
बीमा अभिकर्ताहरूको असक्रियता र ग्राहकसँग नियमित सम्पर्कको अभावले पनि यस्तो दर बढ्दो क्रममा रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कतिपय बीमित भने आर्थिक समस्याहरूमा पर्दा पनि बीमालेख नविकरण नहुने बताउँछन् । अर्को तर्फ बीमा सरेन्डर बारे जानकारी नहुँदा नविकरण दर बढ्ने उनीहरुको भनाई छ ।
प्राधिकरणका अनुसार १० महिनाको अवधिमा नै १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । यो गत आवको तुलनामा भने ११.७० प्रतिशत बढी हो । जबकि, गत आवको बैशाख मसान्तसम्म भने १० अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको सरेन्डर भएको थियो । समिक्षा अवधिमा सरेन्डर बीमालेखको संख्या भने झिनो घटेको देखिन्छ । १० महिनामा ८८ हजार ६३५ बीमितले अवधि नपुग्दै पोलिसी बन्द गरेका छन्, जबकि, गत आवको सोही अवधिमा भने यस्तो बीमालेखको संख्या ८९ हजार ७७ वटा रहेको थियो ।
धेरैजसो जीवन बीमा योजनाहरू ५ देखि १५ वर्षको निश्चित अवधिका हुन्छन् । बहुसंख्यक योजनाहरूमा बीमितले हरेक वर्ष बीमाशुल्क तिर्नुपर्ने हुन्छ । यदि निर्धारित समयमा शुल्क नतिरेको खण्डमा भने बीमालेख स्वतः ‘व्यतित’ हुन्छ । त्यसले बीमितलाई कुनै बीमा सुरक्षाको ग्यारेन्टी दिँदैन । यद्यपि, बीमालेख व्यतित भए पनि बीमितले पछि बक्यौता शुल्क तिरेर पुनः नवीकरण गर्न सक्ने सुविधा भने रहेको छ ।
बीमालेख तीन वर्षभन्दा बढी पुरानो भएको खण्डमा बीमितले त्यसलाई ‘सरेन्डर’ गरी आंशिक रकम फिर्ता पनि लिन सक्ने व्यवस्था पनि छ । तर, कम्पनीहरूले भने सरेन्डर प्रक्रिया र नवीकरणको सम्भावनाबारे जानकारी नपाएका बीमितहरूले आफ्नो बीमा नवीकरण नगर्ने र सरेन्डर पनि नगरी अलमलमा बस्ने समस्या पनि उत्तिकै पाइनछ ।
बीमा प्राधिकरणले जीवन बीमाको पहुँच विस्तारसँगै अभिकर्ता तथा कम्पनीहरुलाई बीमितसँग नियमित सम्पर्कमा रहन निर्देशन दिँदै आएको छ । तर, व्यवहारमा त्यसको कार्यान्वयन पनि न्यून देखिन्छ ।