बीमा नीतिको तयारीमा प्राधिकरण, बीमाको दायरा बढाउनका महत्त्वपूर्ण हुने

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन सुरु गर्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रवार केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग वार्षिक बीमा नीति, २०८२ को मस्यौदामाथि भएको छुट्टाछुट्टै अन्तर्क्रिया कार्यक्रम भएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रको सुधार विधिसम्मत रूपमा अगाडि बढोस्, प्रक्षेपसित सेवा प्रवाह होस् र बीमा क्षेत्र अझै विश्वसनीय हुन सकोस् भनेर वार्षिक बीमा नीति ल्याउन सुरु गर्न लागिएको बताए ।
अध्यक्ष ओझाले भने, “वार्षिक बीमा नीति ल्याएपछि सोही अनुसारको कार्यक्रम तथा बजेट बन्छ, स्रोत सुनिश्चित हुन्छ, कार्यान्वयन गर्ने निकाय तथा शाखा स्पष्ट हुन्छ र तिनको मूल्याङ्कन गर्न सहज हुन्छ, सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने हुन्छ ।”
वार्षिक बीमा नीतिको मस्यौदाको गहन अध्ययन गरी साना ठुला सबै किसिमका सुझावहरू यही असार १५ गतेभित्र दिन बीमा कम्पनीहरूलाई आग्रह गर्दै अध्यक्ष ओझाले भने, “बीमा कम्पनीहरूबाट आउने सुझावहरूलाई नीतिमा समेट्न प्रयास गर्छौँ, नीति मार्फत प्रक्षेपसित संयन्त्र बनाउन खोजिएको हो, बीमाको दायरा बढाउनका लागि प्रक्षेपसित सेवा महत्त्वपूर्ण हुन्छ, प्रक्षेपसित सेवा दिनुपर्छ ।”
सरकारी भवन, सडक र पुरातात्त्विक सम्पदा लगायतका सरकारी संरचनाहरूको कसरी बीमा गर्ने भन्ने सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन तयार गर्ने काम भइरहेको र छिट्टै नै यस सम्बन्धी प्रतिवेदन सरकार सक्षम बुझाउने जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले समग्र बीमा क्षेत्रलाई सही ढङ्गले अघि बढाउन प्राधिकरणले वार्षिक बीमा नीति ल्याउन सुरु गर्न लागेको उल्लेख गर्दै नीतिलाई अझै परिष्कृत बनाउनका लागि सहयोग पुग्ने गरी सुझावहरू दिन आग्रह गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले वार्षिक बीमा नीति, २०८२ को मस्यौदा प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू, जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।