बाढी पहिरो क्षति उपर बीमा कम्पनीहरुले दिए ४ अर्ब ८७ करोड भुक्तानी, कुनको कति बाँकी छ ?

काठमाडौं । गत वर्षको असोजमा आएको बाढी पहिरो उपर बीमा कम्पनीहरुमा १२ अर्ब बढीको दावी पेश भएको छ । तर, कुल दावी पेशमा कम्पनीहरुले भने हालसम्म आधा पनि भुक्तानी दिएका छैनन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत जेठ २८ गतेसम्मको दावी विवरणले यस्तो देखाएको हो । बाढी पहिराले पुर्याएको क्षति उपर कम्पनीहरुले हालसम्म ३९.७० प्रतिशत मात्रै भुक्तानी दिएका छन् ।
प्राधिकरणका अनुसार कम्पनीहरुले ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका हुन् । कम्पनीहरुमा कुल १२ अर्ब २७ करोड ५७ल लाख रुपैयाँ बराबरको ३ हजार ६१२ वटा दावी पेश भएको थियो ।
गत असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण बाढी पहिरोबाट ठुलो क्षति पुर्याएको थियो । बाढी तथा पहिरोकै कारण ठुला ठुला परियोजना, पूर्वाधार, घर, पसल, सवारी साधान लगायतमा व्यापाक क्षति पुगेको थियो ।
प्राधिकरणका अनुसार १ हजार ७८७ वटा घर तथा भवन, ७१० वटा बढी निजी तथा सावर्जनिक सवारी साधान लगायतमा क्षति पुयाएको थियो ।
झन्डै ९ महिनामा कम्पनीहरुले ३ हजार ५६ वटा दावीमा भुक्तानी दिएका छन् । तर, अझै ५४.५३ प्रतिशत दावी भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीहरुले ६ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको हो ।
प्राधिकरणका अनुसार हालसम्म सम्पत्ति बीमा अन्तर्गत ३ अर्ब ४४ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तो बीमा अन्तर्गत अब ४ अर्ब ४५ करोड ६ लाख रुपैयाँ भक्तानी हुन बाँकी देखिएको छ ।
यस्तै, मोटर बीमा अन्तर्गत निजी तर्फ ३७ करोड २२ लाख, सार्वजनिक तर्फ २८ करोड २७ लाख रुपैयाँ भुक्तानी दिएका छन् । तर, मोटर बीमा तर्फ अझै ११ करोड ७८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी देखिएको छ ।
यता, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत पनि कुल २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ बराबरको दावी पेश भएकोमा कम्पनीहरुले ७० करोड ३० लाख रुपैयाँ भुक्तानी दिएका छन् । तर, २ अर्ब ७ करोड ७० लाख रुपैयाँ बराबरको दावी भने भुक्तानी हुन बाँकी देखिएको छ । यस्तै, पशुपन्छी बीमा अन्तर्गत ३ करोड ७१ लाख, सामून्द्रिक बीमामा १ करोड ७८ लाख, कृषि बीमामा १ करोड ५ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् ।

कुन कम्पनीले कति भुक्तान गरे ? कति बाँकी ?
गत वर्षको असोजको बाढी पहिरो क्षति उपर सबैभन्दा धेरै दावी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दिएको छ । कम्पनीले १ अर्ब ६७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा २ अर्ब १८ करोड ३१ लाख रुपैयाँ दावी पेश भएको थियो । अझै ८० करोड ४२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
यस्तै, शिखर इन्स्योरेन्ससले पनि ५६ करोड २५ लाख, सगरमाथा लुम्बिनीले ५१ करोड ६९ लाख, नेकोले ४८ करोड २२ लाख, युनाईटेड अजोडले ४२ करोड २६ लाख, हिमालयन एभरेष्टले ४१ करोड ७१ लाख, आइजीआई प्रुडेन्सियलले ३९ करोड ८ लाख, एनएलजीले ३१ करोड ४२ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ ।
