तीनकुने हुलदङ्गा : बीमा कम्पनीमा सवा ४ करोड दावी पेश, अहिलेसम्म डेढ करोड मात्रै भुक्तानी

काठमाडौं । हुलदङ्गा उपरको क्षतिमा बीमा कम्पनीहरुले डेढ करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् ।
चैत १५ गते काठमाडौंका विभिन्न क्षेत्रमा भएको प्रदर्शनीमा हुलदङ्गाका कारण विभिन्न व्यक्तिहरु (बीमित)को धनसम्पत्तिमा क्षति भएको थियो ।
विशेषगरि काठमाडौंको तीन कुने क्षेत्रमा धेरै घर, गाडी र अन्य धनसम्पत्तिको क्षति भएको थियो । सोही हुलदङ्गा उपरको क्षतिमा बीमा कम्पनीहरुले सो बराबरको भुक्तानी दिएका हुन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत जेठ २८ गतेसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा कम्पनीहरुले ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको दावी पेश भएको थियो । उक्त दावीमा कम्पनीहरुले १ करोड ५८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिएका छन् ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमामा २१, मोटर बीमामा २६, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमामा १, र विविध( कैफियत) उल्लेख गर्ने बीमा अन्तर्गत २ वटा दावी पेश भएको थियो । त्यसमध्ये कम्पनीहरुले कुल ३० वटा दावीमा भुक्तानी दिएका हुन् । अब २० वटा दावीमा २करोड ५५ लाख ८२ हजार रुपैयाँ बराबरको भुक्तानी हुन बाँकी देखिएको छ ।
घर तथा भवनमा पुर्याएको क्षति उपर कम्पनीहरुले ५९ लाख २७ हजार मोटर बीमामा निजी तर्फ ७२ लाख ५७ हजार र सार्वजनिक तर्फ १६ लाख ६० हजार रुपैयाँ दावी भुक्तानी दिएका छन् । यता, विविध तर्फ १० लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । तर, हालसम्म पनि इन्जिनियरिङ्ग बीमा तर्फ भने ५ लाख रुपैयाँ दावी पेश भएको छ, यसमा कुनै पनि भुक्तानी भएको देखिदैन ।

सलिकोले दियो धेरै भुक्तानी, चार कम्पनीले अझैसम्म दिनन् भुक्तानी
समिक्षा अवधिमा सिद्धार्थ प्रिमियरसहित आठ कम्पनीले भुक्तानी दिएका छन् । तर, चार वटा कम्पनीले भने हालसम्म एक रुपैयाँ पनि भुक्तानी गरेका छैनन् ।
हिमालयन एभरेष्ट, सानिमा जिआइसी, प्रभू इन्स्योरेन्स र दि. ओरियण्टल इन्स्योरेन्स भुक्तानी नदिएका हुन् । यी कम्पनीहरुमा क्रमशः २२ लाख, ६ लाख, १ लाख १० हजार र ४७ लाख ५० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ ।
सबैभन्दा धेरे भुक्तानी भने सगरमाथा लुम्बिनी इन्स्योरन्सले ५५ लाख ८७ हजार रुपैयाँ दिएको छ । कम्पनीमा ७५ लाख ४९ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ । अब १९ लाख ६३ हजार रुपैयाँ बाँकी देखिएको छ ।
यस्तै, नेको इन्स्योरेन्सले २९ लाख ४२ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियरले २८ लाख ६९ हजार, राष्ट्रिय बीमा कम्पनीले १७ लाख ६० हजार, आइजीआई प्रुडेन्सियलले १० लाख ३६ हजार, नेपाल इन्स्योरेन्सले ६ लाख ७८ हजार, नेशनल इन्स्योरेन्सले ५ लाख ७६ हजार र शिखरले ४ लाख ९८ हजारज रुपैयाँ दावी भुक्तानी दिएका छन् ।
