व्यवसायमा आक्रामक देखिए जीवन बीमा कम्पनी : ११ महिनामै डेढ खर्बको व्यापार, कसको कति बढ्यो ? « Arthapath.com
१५ असार २०८२, आईतबार

व्यवसायमा आक्रामक देखिए जीवन बीमा कम्पनी : ११ महिनामै डेढ खर्बको व्यापार, कसको कति बढ्यो ?



काठमाडौं । बीमा विस्तारमा ठुला जीवन बीमा कम्पनीहरु आक्रामक देखिएका छन् । ११ महिनामै कम्पनीहरुको व्यवसायको आकार डेढ खर्ब पुगेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । साउनदेखि जेठ अन्तसम्म आइपुग्दा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १५.२९ प्रतिशत धेरै हो । एक वर्षको अवधिमा नै कम्पनीहरुको व्यवसायको आकार थप २० अर्ब ४३ करोड ३३ लाख रुपैयाँ बढेको छ । जबकि, गत आवको ११ महिनामा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको ११ महिनामा कम्पनीहरुले नविकरण मार्फत १ खर्ब ६ अर्ब ५ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, नयाँ व्यवसाय मार्फत २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

हाल कम्पनीहरुमा कुल सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख १२ हजार ४५७ रहेको छ । समिक्षा अवधिमा सबै कम्पनीहरुको व्यापार बढेको छ ।

व्यापारमा नेपाल लाइफ नै शीर्ष सूचीमा छ । कम्पनीले ११ महिनामा ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएको छ । यो गत आवको तुलनामा १५.३५ प्रतिशत बढी हो ।

दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यवसाय वृद्धिदर भने १८.३० प्रतिशत रहेको छ ।

तेस्रो सूचीमा रहेको एलआइसी नेपालले पनि आफ्नो व्यवायको आकार ८.४६ प्रतिशत बढाएर १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ पुर्याएको छ । यता, चौथो स्थानमा रहेको हिमालयन लाइफले पनि व्यवसाय सामान्य बढाएको देखिन्छ । कम्पनीको बीमा शुल्क आर्जन ३.९७ प्रतिशत बढेर १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कायम भएको छ ।

हाल नेपाल लाइफ, नेशनल, एलआइसी नेपाल र हिमालयन लाइफको हिस्सा ठुलो छ ।

समिक्षा अवधिमा व्यवसाय वृद्धिदर भने राष्ट्रिय जीवन बीमा कम्पनीको उच्च छ । कम्पनीको बीमा शुल्क आर्जन ५१.२० प्रतिशत वृद्धि भई ९ अर्ब ६४ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, रिलायव नेपाल लाइफको व्यवसाय पनि २३.३७ प्रतिशत, प्रभू महालक्ष्मीको २२.२५ प्रतिशत, सिटिजन लाइफको १९.५८ प्रतिशत, सूर्यज्योतिको १८.१२ प्रतिशत, आइएमई लाइफको १६.६५ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा यी कम्पनीहरुको बीमाशुल्क आर्जन क्रमशः ४ अर्ब ५५ करोड ७६ लाख, ४ अर्ब ५४ करोड ६६ लाख, ६ अर्ब ३२ करोड ७४ लाख, ९अ र्ब ४५ करोड ८१ लाख र ४ अर्ब ७२ करोड १९ लाख रुपैयाँ कायय भएको छ ।

समिक्षा अवधिमा एशियन लाइफको व्यवसाय ११.८८ प्रतिशत, सानिमा रिलायन्सको १०.७९ प्रतिशत, सन नेपालको १०.२२ प्रतिशत, मेट लाइफको ९.०७ प्रतिशत बढेको देखिन्छ ।

कसको व्यापार कति बढ्यो ?


प्रतिक्रिया दिनुहोस्