साढे १४ प्रतिशत बढ्यो बीमा व्यापार, व्यवसायको आकार २ खर्ब नजिक « Arthapath.com
२२ असार २०८२, आईतबार

साढे १४ प्रतिशत बढ्यो बीमा व्यापार, व्यवसायको आकार २ खर्ब नजिक



काठमाडौं । बीमा व्यवसायको आकार एक वर्षमै साढे २४ अर्ब बढेको छ । कुल व्यवसायको आकार २ खर्ब नजिक पुगेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय १४.५१ प्रतिशत बढाएका छन् । समिक्षा अवधिमा कम्पनीहरुले कुल १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा यस्तो बीमा शुल्क १ खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ रहेको थियो । पछिल्लो एक वर्षको अवधिमा नै कम्पनीहरुले व्यापार २४ अर्ब ७१ करोड रुपैयाँ बढाएका हुन् ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय वृद्धिदर उच्च देखिएको छ । समिक्षा अवधिमा जीवन बीमकले व्यवसाय १६ प्रतिशत बढाएका छन् । ११ महिनामा कम्पनीहरुले कुल १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा पनि कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरु व्यवसाय बढाउन निकै आक्रामक देखिएको छ । विशेषगरि नयाँ व्यवसाय बढाउन कम्पनीहरु तातिएका छन् । समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन २६.९८ प्रतिशत बढेर ३५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत आवको ११ महिनामा भने कम्पनीहरुको यस्तो बीमा शुल्क २७ अर्ब ७० करोड रुपैयाँ मात्रै रहेको थियो ।

यता, नविकरण मार्फत संकलन हुने बीमा शुल्क पनि १३.१२ प्रतिशत वृद्धि भएको देखिन्छ । समिक्षा अवधिमा कम्पनीहरुको यस्तो बीमा शुल्क १ खर्ब १९ अर्ब ९८ करोड २४ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा १ खर्ब ६ अर्ब ५ करोड ७८१ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको बीमालेख बिक्री दर पनि ३.१ प्रतिशत वृद्धि भएको छ । ११ महिनामा कम्पनीहरुले ६१ लाख ८७ हजार ८२२ वटा बीमालेख जारी गरेका छन् । गत आवको सोही अवधिमा भने ६० लाख ४६ वटा मात्रै बीमालेख जारी गरेका थिए ।

कुल सक्रिय जीवन बीमालेखको संख्या पनि १० प्रतशित बढेर १ करोड ५४ लाख ९८ हजार ७०१ पुगेको छ ।
समिक्षा अवधिमा ठुला जीवन बीमा कम्पनीहरुले मात्रै १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । लघु जीवन बीमकले भने १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

९ प्रतिशत बढ्यो निर्जीवन बीमा व्यवसाय

वन बीमाको तुलनामा निर्जीवन बीमा व्यवसाय वृद्धिदर भने कम छ । समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय ९.०६ प्रतिशत बढेको देखिन्छ ।

प्राधिकरणका अनुसार ११ महिनामा कम्पनीहरुले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा यस्तो बीमा शुल्कको आकार ३६अ र्ब ५६ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

निर्जीवन बीमालेख बिक्री दर पनि ७.८७ प्रतिशत वृद्धि भएको छ । कम्पनीहरुले ११ महिनामा कुल २९ लाख २६ हजार ५२९ वटा बीमालेख बिक्री गरेका छन् । जबकि, गत आवको सोही अवधिमा २७ लाख १३ हजार ७१ वटा बीमालेख बिक्री गरेका थिए ।

समिक्षा अवधिमा ठुला निर्जीवन बीमकले कुल ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, लघु निर्जीवन बीमकले भने ८४ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्