‘तीन महिनाभित्र अमेरिका र युरोपबाट वालेटमा रेमिट्यान्स पठाउन सक्ने व्यवस्था गर्दै छौं’ « Arthapath.com
७ असार २०७८, सोमबार

‘तीन महिनाभित्र अमेरिका र युरोपबाट वालेटमा रेमिट्यान्स पठाउन सक्ने व्यवस्था गर्दै छौं’



अहिले पनि अधिकांश बैंकले ‘एफ वान सफ्ट’को मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरिरहेका छन् । कुनै पनि बैंकको आफ्नै एप्लिकेशन छैन । यस्तो बेला माछापुच्छ्रे बैंकले ‘रेमिट्याप’ नामक नयाँ एप्लिकेशन सुरु गरेको छ । यो वालेटलाई नेपालभित्रका विद्युतीय भुक्तानीका साथसाथै मूल रुपमा विदेशबाट आउने रेमिट्यान्समा उपयोग गर्ने खालले विकास गरिएको बैंकले बताएको छ । यसै सन्दर्भमा अर्थपथले बैंकका रेमिट प्रमुख सुदन भण्डारीसँग कुराकानी गरेको छ ।

‘रेमिट्याप’ वालेटबाट ग्राहकले के फाइदा पाउँछन् ?

बैंकको आफ्नै स्वामित्वमा डिजिटल सेवामा अघि बढौं भनेर हामीले याे एप्लिकेशन सुरु गरिएका हाैं । यसमा अन्य वालेटजस्तै विजुलीको पैसा तिर्ने, रिचार्ज गर्ने, टिकट काट्नेजस्ता सुविधा राखेका छौं । भोलिका दिनमा यसलाई विदेशबाट रेमिट्यान्स पठाउन पनि यही एप्लिकेशनको प्रयोग गर्न सक्नेगरी हामीले काम गरिरहेका छौं । अहिलेसम्म नेपालमा सिधै वालेटमा रेमिट्यान्स आउने सुविधा छैन ।

हामीले भविष्यमा सिधै वालेटमा रेमिट्यान्स पठाउनसक्ने व्यवस्था गरेका छौं । हामी रेमिट्यान्समा नै यो एप्लिकेशनको उपयोग बढि होस् भनेर यसको नाम नै रेमिट्या राखेका हौं । अहिले नै रेमिट्यान्स पठाइहाल्न मिल्ने अवस्था बनिसकेको छैन । यसका लागि ३-४ महिता समय लाग्ला । तर हामी यही वर्षभित्र रेमिट्यान्स पठाउनसक्ने गरी वालेटको विकास गर्छौं ।

अरु बैंकले पनि वालेट ल्याइरहेका छन् । प्रतिस्पर्धा कस्तो छ ?

आईएमई पे, प्रभु पेजस्ता वालेटहरु त आएका छन् । तर बैंककै स्वामित्वमा रहेको वालेट अहिले छैन । अधिकांश बैंकले अहिले पनि फोन पे नै प्रयोग गरिरहेका छन् । हामीले बैंककै स्वामित्वमा रहने गरी वालेट तयार गर्न लागेका हौं ।

रेमिट्यान्सको कारोबार गर्ने भनेपछि फोनपेजस्तै अरु बैंकलाई पनि यस एप्लिकेशनमा जोड्ने योजना छ की, तपाइँहरु आफैंमात्र चलाउने तयारी हो ?

अरु बैंकहरु हाम्रो वालेटमा सहभागि हुन चाहनुहुन्छ भने हामी उहाँहरुलाई सहभागि गराउँछौं । अरु बैंकलाई हाम्रो प्लेटफर्म शेयर गर्न कुनै समस्या रहँदैन । यस कुरामा चाहीँ अरु बैंकले कस्तो नीति लिन्छन् भन्ने आधारले महत्व राख्छ । अरु बैंकले हामीसँग मिलेर काम गर्न चाहे भने हामी सदस्य बनाएर अघि बढ्न सक्छौं ।

यसमा हामीले उच्च दरमा क्यासब्याकको सुविधा दिएका छौं । जसका कारण ग्राहकलाई हाम्रो वालेटमा जोटिन उत्पेरण मिल्ने छ । यसले अन्य बैंकलाई पनि हामीसँग साझेदारीमा आउन सहयोग पुग्न सक्छ । तर अहिले नै अन्य बैंकसँग साझेदारीको कुरा अघि बढिसकेको छैन ।

अब यो एप कहिलेदेखि ग्राहकले उपयोग गर्न पाउँछन् ?

हामीले यो एपको सफ्ट लञ्चिङ गरेको तीन महिना भयो । यसमा सम्पूणर् सुविधाहरु जोडिसकिएको छैन । तर अहिले पनि तपाइँले यो एप डाउनलोड गर्नुभयो भने एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन सक्ने र कतिपय बलि भुक्तानी गर्नसक्ने सुविधा तत्काल पाउनुहुन्छ ।

वालेटमा रेमिट्यान्स प्राप्त गर्नेबारे कानूनी प्रबन्धहरु भइसकेका छन् ?

राष्ट्र बैंकले रेमिट्यान्सलाई डिजिलट कारोबारमा ल्याउने भनिसकेको छ । यसले कानूनी रुपमा कुनै अड्चन छैन । बैंकले गर्ने काम भनेको राष्ट्र बैंकको नीति र कानूनमा रहेर गर्ने हो । विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउन राष्ट्र बैंकको कुनै पनि नीतिले रोकावट गरेको छैन । विदेश पठाउन चाहीँ केही जटील कानून छ । हामीले यो एप्लिकेशनमा नेपालबाट विदेशमा रेमिट्यान्स पठाउने सुविधा राखेका छैनौं ।

यो एपबाट रेमिट्यान्सको कारोबार छिटोमा कहिलेदेखि सुरु हुन्छ भन्ने कुनै योजना छ ?

हाम्रो लक्ष्य अबको तीन महिनामा सेवा शुरु गर्ने भन्ने हो । हामी त्यसमा लागिरहेका छौं । कति समय लाग्छ, होरौं ।

रेमिट्यान्सको कारोबारलाई वालेटमा जोड्न केकस्ता जटीलता रहेछन् ?

यसको जटिलता भनेको प्रणालीको अन्तरआबद्धता नै हो । नेपाल र विदेशका साझेदारको भुक्तानी प्रणालीलाई आपसमा जोड्नु पर्ने हुन्छ । हामीलाई यसमा अलि बढी हतार भएकाले हामी छिटो काम होस् भन्ने चाहन्छौं । तर विदेशका साझेदारहरुले हामीलाई तत्कालै शीघ्र चासो नदिने चुनौति सधैंभरी छ । यसले गर्दा केही समय लाग्ने देखिएको हो । हामी अबको बढीमा ३ महिनाभित्र यी समस्याहरु समाधान गर्न सकिन्छ की भन्ने आधारमा प्रयास गरिरहेका छौं ।

रेमिट्यापले सुरुमा कुन कुन बजारलाई लक्ष्य बनाउने योजना छ ?

हामी यो सेवा अमेरिकाबाट सुरु गर्छौं । त्यसपछि बेलायतसँग जोडिन्छौं । अन्य युरोपेली मुलुकमा त्यसपछि सेवा विस्तार गर्ने योजना छ । हामीले उताका स्थानीय साझेदारहरुसँग एक हदसम्मको सम्झौता पनि गरिसकेका छौं । तर प्रणालीको अन्तरआबद्धता गर्ने प्रक्रियामा समय खर्च भइरहेको छ । अहिलेलाई हामीले अमेरिका र बेलायतमा त्यहाँका स्थानीय साझेदारसँग छलफल गरिरहेका छौं ।

धेरै रेमिट्यान्सको स्रोत मुलुक मानिएको पश्चिम एसियाली खाडी मुलुकमा तत्काल सेवा विस्तार गर्ने योजना छैन ?

खाडी क्षेत्रमा हामी दोस्रो चरणमा जान्छौं । युरोजोनमा सेवा सुरु भइसकेपछि हाम्रो लक्ष्य खाडीमै हुन्छ । हामी नेपालीहरु रहेका सबैजासो देशमा सेवा विस्तार गर्ने योजनामा छौं । तर खाडीको मामिलामा त्यहाँको स्थानीय कानून यस किसिमको कारोबारप्रति ज्यादा सकारात्मक नभएकाले हामी कसरी सेवा विस्तार गर्न सकिन्छ भन्ने हेरिरहेका छौं ।

डिजिटल कारोबारप्रति खाडी मुलुकहरु अहिले पनि धेरै खुला भइसकेका छैनन् । यसमा उनीहरुका केही आन्तरिक कारणहरु छन् । यसमा पनि हामीले त्यो बजारमा आफ्नो सेवा विस्तार गर्ने आधा खोजेर जाने छौं ।

कोभीड १९ ले डिजिटल बैंकिङलाई संसारभर नै अग्रसरता दिलाएको छ । भविष्यमा यो कसरी अघि बढ्छ भन्ने अनुमान छ ?

कुनै न कुनै दिन सिंगो संसार नै डिजिटल कारोबारमा रुपान्तरित हुने छ । अहिले महामारीका कारणले विश्व भर नै जसरी डिजिटल च्यानलहरुको प्रयोग बढेको छ, यस आधारमा अबको बढीमा ५ वर्षभित्र हामी अधिकांश वित्तीय सेवा डिजिटल रुपमा दिनसक्ने अवस्थामा पुग्छौं ।

आजको दिनमा पनि दुबइ, कतार, साउदी अरबमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउनु पर्यो भने लाइन लागेर लामो कागजी फारम भर्नुपर्ने अवस्था छ । तर यो अवस्था लामो समय रहन सक्दैन । अबको ४ देखि ५ वर्षभित्र उनीहरुले पनि आफ्नो काम गर्ने ठाउँबाटै वा बसेको ठाउँबाट मोबाइल वालेटबाटै पैसा पठाउन सक्ने सुरुवात होलाजस्तो लाग्छ । युरोप अमेरिकामा अहिले जुन स्तरमा डिजिटल कारोबारको विकास भएको छ, खाडी क्षेत्रमा पनि त्यसले गति लिन्छ भन्ने विस्वास छ ।

अहिले सरकार र केन्द्रिय बैंकले पनि डिजिटल भुक्तानीलाई निकै प्राथमिकता दिएको छ । अझै पनि यसको पुर्वाधार वा कानूनी व्यवस्थामा अभाव खड्केको कुनै कुरा बाँकी छ ?

कानूनी रुपमा त्यस्तो समस्या केही छैन । केन्द्रिय बैंकले पनि यसलाई निकै अग्रसरताका साथ अघि बढाएको छ । तर पुर्वाधारको हकमा अहिले एउटा सानो समस्या छ । त्यो असुविधा भनेको के हो भने, डिजिटल कारोबार गर्नका लागि ‘क्वीक रेस्पोन्स (क्यूआर)’को जुन व्यवस्था छ, त्यसमा इन्ट्रिगेशन भइसकेको छैन ।

जसरी एउटा बैंकको एटीएम अर्को बैंकको बुथमा चल्छ, त्यसरी नै एउटा वालेटको क्यूआर अर्को वालेटमा चल्ने सुविधा अहिले छैन । रेमिट्यापको क्यूआर रेमिट्यापकै मर्चेण्टमा मात्रै चल्ने, फोनपेको क्यूआर फोनपेको मर्चेण्टमा मात्रै चल्ने अवस्था छ । आगामी दिनमा बजारका सबै वालेट सेवा प्रदायकहरु मिलेर यसलाई ‘इण्टर अपरेटेबल’ बनाउनु पर्ने जरुरी छ ।

त्यसो गरिएन भने पछिपछि आउने कम्पनीलाई आम समूदायमा आफ्नो पहूँच विस्तार गर्न र बजार प्रतिस्पर्धा गर्न कठीनाइ हुन्छ । यदी एउटाको क्यूआरबाट अर्को सेवाप्रदायकको मर्चेण्टमा सजिलै चल्ने अवस्था भयो भने सबै वालेट सेवा प्रदायकका ग्राहकलाई हित गर्छ । यसले समग्र डिजिटल कारोबारलाई अघि बढाउन पनि निकै ठूलो मद्दत गर्ने छ ।

नेपालमा एटीएम मेसिनको इण्ट्रिगेशन गर्ने कुरा वर्षैंसम्म चले पनि बल्लबल्ल राष्ट्र बैंकले कम्तिमा ३ वटा कारोबार निःशुल्क गरिदेउ भन्नु परेको छ । यस्तो बजारमा प्रतिस्पर्धा बढाउनेगरी क्युआरको प्रणाली जोडिन सजिलो होला र ?

राष्ट्र बैंकले यसबारे एउटा सुझाव चाहीँ मागेको छ । सबै वालेटका क्यूआरलाई कसरी आपसमा जोड्न सकिन्छ भन्ने विषयमा चासो दिएको छ । राष्ट्र बैंकले यसमा अग्रसरता लिएको हिसाबले भविष्यमा यसबारे ‘सर्कुलर’ आउन सक्छ । त्यसबाट एउटाको क्यूआर अर्कोमा सहजै चलाउने वातावरण बनाएर अघि बढ्न सकिन्छ । यसका लागि राष्ट्र बैंकलाई नीति निर्माणमा केही समय लाग्न सक्छ ।

यसमा कुनै ठूला प्राविधिक समस्याहरु रहँदैनन् । राष्ट्र बैंकले ‘नेशनल पेमेण्ट गेटवे’ बनाउने कुरा पनि अघि बढाइरहेको छ । यसमा थुप्रै काम भइसकेका छन् । राष्ट्रिय भुक्तानी प्रणालीको विकास भइसकेपछि यस्ता सेवाहरुको परस्पर इण्ट्रिगेशन गर्न सजिलो पनि हुने छ ।


प्रतिक्रिया दिनुहोस्