‘मध्य भोटेकोशीको शेयरमा ढुक्क भएर लगानी गर्दा हुन्छ’

चिलिमे जलविद्युत्को सहायक कम्पनी ‘मध्य भोटेकोसी जलविद्युत् कम्पनी’ ले बुधवार वाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजना बनाउँदै छ । ३४–३४ मेगावाटका तीन वटा टर्बाइन राखेर १०२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको यो आयोजना २०७९ पुससम्म कम्तीमा एउटा टर्बायनबाट बिजुली उत्पादन गरिसक्ने योजनामा छ । यही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटी ।
नेपाल विद्युत प्राधिकरणको निर्देशकबाट २ वर्षअघि अवकाश पाएका शिवाकेटी देशकै ठुलो पञ्चेश्वर बहुवर्षिय आयोजनामासमेत साँढे ३ वर्ष काम गरेका थिए । नेपाल विद्युत प्राधिकरण अन्तर्गत विभिन्न निकायमा बसेर ३२ वर्ष काम गरेका सिवाकोटी निडर हक्की स्वभावका कर्मचारी हुन् । चिलिमे जलविद्युत कम्पनीमा २८ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका सिवाकोटीलाई नेपाल विद्युत प्राधिकरणले ६ महिनाअघि मध्य भोटेकोसी आयोजनाको सीईओको जिम्मेवारी दिएको छ । सोही आयोजनाले १ महिनाअघि स्थानीय प्रभावित सिन्धुपाल्चोकवासीलाई सेयर वितरण गरिसकेर सर्वसाधारणलाई सेयर निष्कासन तथा विक्री खुला गरेको छ । सिवाकोटीले आम लगानकर्तालाई ढुक्क भएर आईपीओमा लगानी गर्न आग्रह गर्छन् । उनै सीईओ सिवाकोटीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।
तपाईँहरूले आईपीओ त जारी गर्नु भयो । तर परियोजना चाहिँ कुन हातमा छ ?
आयोजनाको प्रगति राम्रो छ । २०२२ को डिसेम्बर (अर्को वर्षको पुस)सम्म एउटा युनिट सञ्चालनमा ल्याउन सक्छौँ भन्ने उद्देश्यले काम भइरहेको छ । यसका लागि अहिलेसम्म आशावादी छौँ । अहिले सबै क्षेत्रमा एकसाथ कामहरू भइरहेको छ । अहिलेसम्म ७५ प्रतिशत जति काम सकिइसकेको छ ।
इलेक्ट्रो मेकानिकलको सबै सामानहरू आयोजना स्थलमा पुगिसकेको छ । त्यसलाई बाढीले केही क्षति पुर्याएको छ । बाँकी भएका सामानहरू आगामी असारसम्म सबै आइसक्छन् । क्षति नभएका उपकरणहरू जडान हुँदै जान्छन् । बाँध र विद्युत् गृहको काम लगभग सकिने अवस्थामा छ ।
सुरुङ खन्ने काम भइरहेको छ । यसमा पनि राम्रै प्रगति भएको छ । ट्रान्समिसन लाइन निर्माणको काम पनि भइरहेको छ । कुनै पनि काम सुरु नगरेको अवस्थामा छैन । आगामी जेठसम्ममा हामीले भौतिक निर्माण (सिभिल वर्कस)को काम सक्ने लक्ष्य राखेका छौँ ।
सिन्धुपाल्चोकमा अन्यत्रभन्दा निकै बढी प्राकृतिक प्रकोपका घटना भएका छन् । यसबाट आयोजना कत्तिको प्रभावित भयो ?
प्राकृतिक प्रकोपले भने निकै समस्या गरिरहेको छ । यो आयोजनाको २०७० सालमा निर्माण सम्झौता भएको थियो । तर २०७१ साउन १६ मा जुरे पहिरो गएपछि गोदावरी राजमार्ग नै बन्द भयो । यसले निकै अवरोध गर्यो । त्यो पहिरो पन्छाउनमा आयोजनाले पनि सहयोग गर्यो ।
बिस्तारै पुनः काम सुरु भएको बेला फेरि २०७२ वैशाखमा महाभूकम्प गइदियो । यसले परियोजनालाई निकै नै क्षति पुर्यायो । चिनिया ठेकेदारले बनाएका ल्याब, क्वाटर (मान्छे बस्ने घर)देखि धेरै कुरा भत्किए । त्यसबाट पुनरुत्थान गर्नै समय लाग्यो । त्यसपछि पनि दुई पटक हामीलाई बाढीले ठुलो क्षति गर्यो ।
२०७७ सालमा बाढीले ठुलो विनाश गर्यो । हामीले भण्डार गृहमा ल्याएर राखेका ‘इलेक्ट्रो मेकानिकल’ सामानहरू ७५ प्रतिशतभन्दा बढी क्षति पुग्यो । अहिले हामी त्यसलाई भर्पाई गरिरहेका छौँ । यस वर्ष पनि आयोजनाको बाँधमा बाढी पसेर क्षति पुर्यायो । तर यी सबै समस्यालाई व्यवस्थापन गर्दै अघि बढेका छौँ । अहिले हामीले अहिले नै खोलामा तटबन्ध बनाएर खोलैमा काम गर्न थालिसकेको छौँ ।
यसरी प्राकृतिक प्रकोपहरू झेल्नुपर्दा आयोजनाको लागत हेरफेर हुन्छ की हुँदैन ?
हामीले आयोजना निर्माण सुरु गर्दा अनुमान गरेको लागत १५ अर्ब ३ करोड हो । यो कुरा हामीले आह्वान पत्रमा पनि लेखेका छौँ । कुल लागत १६ अर्ब ९७ करोडजति पुग्छ । सुरुमा २०१७ भित्रै आयोजना सक्ने लक्ष्य राखिएको थियो । तर विभिन्न कारणले यो लक्ष्यमा आयोजनाको काम सकिएन । अब डेढ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन हुन्छ । यद्यपि, परियोजनामा ढिलाइ भए पनि अहिलेसम्म लागत बढेको छैन ।
दाबीहरू आएका छन् । तर ती दाबी अनुसार लागत बढ्ने सम्भावना ज्यादै कम छ । केही केही लागत त बढ्छ । तर अरू आयोजनाजस्तो लागत बढ्ने सम्भावना छैन । यो आयोजना ईपीसी (इन्जिनियरिङ, प्राक्वोरमेण्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा बनाउन लागिएकाले ठेकेदारले बढी समय चाहिँ पाउँछ, तर बढी पैसा चाहिँ पाउँदैन ।
सर्वसाधारणलाई शेयर जारी गर्दै गर्दा आयोजनाको भावी वित्तीय स्वास्थ्य कस्तो हुन्छ ?
आयोजना सञ्चालनमा आएपछि यसले वार्षिक ५५ करोड युनिटभन्दा बढी बिजुली उत्पादन गर्छ । त्यति बिजुली बेचेर कम्पनीले वार्षिक ३ अर्ब जति कमाइ गर्न सक्छ । हामीले आयोजनाको ऋण चुक्ता गर्ने अवधि (पे ब्याक पिरियड) ७ वर्ष भनेका छौँ । त्यसपछि कम्पनीमा पैसै पैसा हुन्छ ।
शेयर धनीहरूका लागि लगानी गर्न यो निकै राम्रो आयोजना हो । यो आयोजनाको निर्माण सकिँदासम्म प्रतिमेगावाट लागत १६ देखि १७ करोड रुपैयाँ भित्रमै तयार गर्ने लक्ष्य राखिएको छ । यो भनेको अहिलेको अवस्थामा निकै प्रतिस्पर्धी (सस्तो) हो । यही कारण हाम्रो कम्पनीमा शेयर लगानी गर्नेका लागि आकर्षक हो ।
अहिले दोस्रो बजारमा जलविद्युत् कम्पनीका शेयर मूल्य घटिरएको छ । यस्तो बेला आईपीओ ल्याउन खोज्नुको कारण के हो ?
जलविद्युत्को शेयर भनेर मात्र हुँदैन । चिलिमे समूहको शेयर र अरू जलविद्युत्को शेयरमा फरक पर्छ । चिलिमे समूह भनेको सरकारी स्वामित्व अन्तरगतकै कम्पनी हो । यसमा पारदर्शितालाई निकै उच्च तहमा पालना गरिएको हुन्छ । आयोजनाको अवस्था पनि राम्रो छ । अरू आयोजनाले भन्दा यसले हिउँदमा पनि २० प्रतिशत बढी ऊर्जा उत्पादन गर्छ । भोटेकोसीमा पानी राम्रो भएको फायदा पनि लगानीकर्ताका लागि जानकारी नहुन सक्छ ।
अहिले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा हिउँ पग्लिने जोखिम बढेको छ । यस्ता जोखिमलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
जलवायु परिवर्तनको जोखिमलाई हामीले पूर्णतः नकार्न सक्दैनौँ । हामीले आयोजनाको नदी मुहान र त्यस वरपरको पर्यावरणलाई एक पटक अध्ययन गरेका हुन्छौँ । नेपाल सरकारका परियोजनामा भने यसबारे विस्तृत अध्ययन हुन्छ । तर हामीले त्यसरी नियमित र विस्तृत अध्ययन गरेका छैनौँ । तर आयोजनाका संरचनाहरू भने सुरक्षित ढङ्गले बनाइएको छ । त्यस्ता जोखिमलाई थेग्ने गरी परियोजना बनेको छ ।
अहिले शेयर लगानी गर्ने लगानीकर्ताले कहिलेदेखि लाभांश पाउँछन् ?
लाभांश त आयोजना सञ्चालनमा आएपछि पाइहाल्छन् । हामीले बैङ्कको ब्याज पनि तिर्दै जाने र लाभांश पनि दिँदै जाने योजना बनाएका छौँ । ऋण तिरिसकेपछि भने बढी लाभांश पाइन्छ । यसबाहेक हामीले अर्को आयोजना पनि खोजिरहेका छौँ । अर्को आयोजना बनाइयो भने लगानीकर्ताले पाउने प्रतिफल अझै बढ्छ ।
अर्को आयोजना तयारी सुरु भइसकेको हो ?
बाटो खासै बनाउन नपर्ने, सुगम ठाउँमा राम्रो खोला पाइयो भने हामी चाँडै अर्को आयोजना पनि सुरु गर्ने योजनामा छौँ । यसका लागि हामीले इञ्जिनियरहरुको एउटा टोली पनि खटाइसकेका छौँ । २–३ सय मेगावाट क्षमताको आयोजना पाए तुरुन्त सुरु गर्ने तयारीमा छौँ । यस कारण पनि हाम्रो कम्पनीका सेयर धनीलाई लाभ हुने छ ।
चिलिमे जलविद्युत्को शेयर हेर्ने हो भने पहिले निकै उच्च दरमा लाभांश दिन्थ्यो । तर अहिले लाभांश निकै कम भएको छ । चिलिमेले नै बनाउने अरू आयोजनामा पनि त्यस्तै हुँदैन भन्ने के आधार छ ?
लाभांशको कुरा गर्दा जलविद्युत्को एउटा भन्दै समय चक्र हुन्छ । पहिले उसको चुक्ता पुँजी कम थियो यही कारण उसले बढी लाभांश दिइरहेको थियो । तर पछि कुनै दबाबले हो वा अरू केही कारणले बोनस शेयर दिन थाल्यो । विकसित मुलुकमा नगद लाभांश मन पराउँछन् ।तर नेपालमा बोनस शेयर खोज्छन् । अझ विकसित मुलुकमा राम्रो नमान्ने हकप्रद शेयर पनि नेपालमा आकर्षणको कारण बनिरहेको छ ।
चिलिमेले सुरुदेखि नै नगद लाभांश दिएको भए अहिले पनि ४०–५० प्रतिशत लाभांश दिन सक्थ्यो । बिचमा पुँजी बढाएका कारण लाभांश कम भएको हो । तर चिलिमेले त्यसरी बढाएको पुँजी पुनः लगानी गरेको छ । रसुवागढीमा ३२ प्रतिशत र साञ्जेन तथा भोटेकोसीमा ३७ प्रतिशत लगानी चिलिमेको छ । यी आयोजनाहरूबाट प्रतिफल आउन थालेपछि चिलिमे पुनः ब्लूचीप कम्पनी बन्छ ।