‘मध्य भोटेकोशीको शेयरमा ढुक्क भएर लगानी गर्दा हुन्छ’ « Arthapath.com
२१ आश्विन २०७८, बिहीबार

‘मध्य भोटेकोशीको शेयरमा ढुक्क भएर लगानी गर्दा हुन्छ’



चिलिमे जलविद्युत्को सहायक कम्पनी ‘मध्य भोटेकोसी जलविद्युत् कम्पनी’ ले बुधवार वाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजना बनाउँदै छ । ३४–३४ मेगावाटका तीन वटा टर्बाइन राखेर १०२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको यो आयोजना २०७९ पुससम्म कम्तीमा एउटा टर्बायनबाट बिजुली उत्पादन गरिसक्ने योजनामा छ । यही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटी ।

नेपाल विद्युत प्राधिकरणको निर्देशकबाट २ वर्षअघि अवकाश पाएका शिवाकेटी देशकै ठुलो पञ्चेश्वर बहुवर्षिय आयोजनामासमेत साँढे ३ वर्ष काम गरेका थिए । नेपाल विद्युत प्राधिकरण अन्तर्गत विभिन्न निकायमा बसेर ३२ वर्ष काम गरेका सिवाकोटी निडर हक्की स्वभावका कर्मचारी हुन् । चिलिमे जलविद्युत कम्पनीमा २८ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका सिवाकोटीलाई नेपाल विद्युत प्राधिकरणले ६ महिनाअघि मध्य भोटेकोसी आयोजनाको सीईओको जिम्मेवारी दिएको छ । सोही आयोजनाले १ महिनाअघि स्थानीय प्रभावित सिन्धुपाल्चोकवासीलाई सेयर वितरण गरिसकेर सर्वसाधारणलाई सेयर निष्कासन तथा विक्री खुला गरेको छ । सिवाकोटीले आम लगानकर्तालाई ढुक्क भएर आईपीओमा लगानी गर्न आग्रह गर्छन् । उनै सीईओ सिवाकोटीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

तपाईँहरूले आईपीओ त जारी गर्नु भयो । तर परियोजना चाहिँ कुन हातमा छ ?

आयोजनाको प्रगति राम्रो छ । २०२२ को डिसेम्बर (अर्को वर्षको पुस)सम्म एउटा युनिट सञ्चालनमा ल्याउन सक्छौँ भन्ने उद्देश्यले काम भइरहेको छ । यसका लागि अहिलेसम्म आशावादी छौँ । अहिले सबै क्षेत्रमा एकसाथ कामहरू भइरहेको छ । अहिलेसम्म ७५ प्रतिशत जति काम सकिइसकेको छ ।

इलेक्ट्रो मेकानिकलको सबै सामानहरू आयोजना स्थलमा पुगिसकेको छ । त्यसलाई बाढीले केही क्षति पुर्‍याएको छ । बाँकी भएका सामानहरू आगामी असारसम्म सबै आइसक्छन् । क्षति नभएका उपकरणहरू जडान हुँदै जान्छन् । बाँध र विद्युत् गृहको काम लगभग सकिने अवस्थामा छ ।

सुरुङ खन्ने काम भइरहेको छ । यसमा पनि राम्रै प्रगति भएको छ । ट्रान्समिसन लाइन निर्माणको काम पनि भइरहेको छ । कुनै पनि काम सुरु नगरेको अवस्थामा छैन । आगामी जेठसम्ममा हामीले भौतिक निर्माण (सिभिल वर्कस)को काम सक्ने लक्ष्य राखेका छौँ ।

सिन्धुपाल्चोकमा अन्यत्रभन्दा निकै बढी प्राकृतिक प्रकोपका घटना भएका छन् । यसबाट आयोजना कत्तिको प्रभावित भयो ?

प्राकृतिक प्रकोपले भने निकै समस्या गरिरहेको छ । यो आयोजनाको २०७० सालमा निर्माण सम्झौता भएको थियो । तर २०७१ साउन १६ मा जुरे पहिरो गएपछि गोदावरी राजमार्ग नै बन्द भयो । यसले निकै अवरोध गर्‍यो । त्यो पहिरो पन्छाउनमा आयोजनाले पनि सहयोग गर्‍यो ।

बिस्तारै पुनः काम सुरु भएको बेला फेरि २०७२ वैशाखमा महाभूकम्प गइदियो । यसले परियोजनालाई निकै नै क्षति पुर्‍यायो । चिनिया ठेकेदारले बनाएका ल्याब, क्वाटर (मान्छे बस्ने घर)देखि धेरै कुरा भत्किए । त्यसबाट पुनरुत्थान गर्नै समय लाग्यो । त्यसपछि पनि दुई पटक हामीलाई बाढीले ठुलो क्षति गर्‍यो ।

२०७७ सालमा बाढीले ठुलो विनाश गर्‍यो । हामीले भण्डार गृहमा ल्याएर राखेका ‘इलेक्ट्रो मेकानिकल’ सामानहरू ७५ प्रतिशतभन्दा बढी क्षति पुग्यो । अहिले हामी त्यसलाई भर्पाई गरिरहेका छौँ । यस वर्ष पनि आयोजनाको बाँधमा बाढी पसेर क्षति पुर्‍यायो । तर यी सबै समस्यालाई व्यवस्थापन गर्दै अघि बढेका छौँ । अहिले हामीले अहिले नै खोलामा तटबन्ध बनाएर खोलैमा काम गर्न थालिसकेको छौँ ।

यसरी प्राकृतिक प्रकोपहरू झेल्नुपर्दा आयोजनाको लागत हेरफेर हुन्छ की हुँदैन ?

हामीले आयोजना निर्माण सुरु गर्दा अनुमान गरेको लागत १५ अर्ब ३ करोड हो । यो कुरा हामीले आह्वान पत्रमा पनि लेखेका छौँ । कुल लागत १६ अर्ब ९७ करोडजति पुग्छ । सुरुमा २०१७ भित्रै आयोजना सक्ने लक्ष्य राखिएको थियो । तर विभिन्न कारणले यो लक्ष्यमा आयोजनाको काम सकिएन । अब डेढ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन हुन्छ । यद्यपि, परियोजनामा ढिलाइ भए पनि अहिलेसम्म लागत बढेको छैन ।

दाबीहरू आएका छन् । तर ती दाबी अनुसार लागत बढ्ने सम्भावना ज्यादै कम छ । केही केही लागत त बढ्छ । तर अरू आयोजनाजस्तो लागत बढ्ने सम्भावना छैन । यो आयोजना ईपीसी (इन्जिनियरिङ, प्राक्वोरमेण्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा बनाउन लागिएकाले ठेकेदारले बढी समय चाहिँ पाउँछ, तर बढी पैसा चाहिँ पाउँदैन ।

सर्वसाधारणलाई शेयर जारी गर्दै गर्दा आयोजनाको भावी वित्तीय स्वास्थ्य कस्तो हुन्छ ?

आयोजना सञ्चालनमा आएपछि यसले वार्षिक ५५ करोड युनिटभन्दा बढी बिजुली उत्पादन गर्छ । त्यति बिजुली बेचेर कम्पनीले वार्षिक ३ अर्ब जति कमाइ गर्न सक्छ । हामीले आयोजनाको ऋण चुक्ता गर्ने अवधि (पे ब्याक पिरियड) ७ वर्ष भनेका छौँ । त्यसपछि कम्पनीमा पैसै पैसा हुन्छ ।

शेयर धनीहरूका लागि लगानी गर्न यो निकै राम्रो आयोजना हो । यो आयोजनाको निर्माण सकिँदासम्म प्रतिमेगावाट लागत १६ देखि १७ करोड रुपैयाँ भित्रमै तयार गर्ने लक्ष्य राखिएको छ । यो भनेको अहिलेको अवस्थामा निकै प्रतिस्पर्धी (सस्तो) हो । यही कारण हाम्रो कम्पनीमा शेयर लगानी गर्नेका लागि आकर्षक हो ।

अहिले दोस्रो बजारमा जलविद्युत् कम्पनीका शेयर मूल्य घटिरको छ । यस्तो बेला आईपीओ ल्याउन खोज्नुको कारण के हो ?

जलविद्युत्को शेयर भनेर मात्र हुँदैन । चिलिमे समूहको शेयर र अरू जलविद्युत्को शेयरमा फरक पर्छ । चिलिमे समूह भनेको सरकारी स्वामित्व अन्तरगतकै कम्पनी हो । यसमा पारदर्शितालाई निकै उच्च तहमा पालना गरिएको हुन्छ । आयोजनाको अवस्था पनि राम्रो छ । अरू आयोजनाले भन्दा यसले हिउँदमा पनि २० प्रतिशत बढी ऊर्जा उत्पादन गर्छ । भोटेकोसीमा पानी राम्रो भएको फायदा पनि लगानीकर्ताका लागि जानकारी नहुन सक्छ ।

अहिले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा हिउँ पग्लिने जोखिम बढेको छ । यस्ता जोखिमलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

जलवायु परिवर्तनको जोखिमलाई हामीले पूर्णतः नकार्न सक्दैनौँ । हामीले आयोजनाको नदी मुहान र त्यस वरपरको पर्यावरणलाई एक पटक अध्ययन गरेका हुन्छौँ । नेपाल सरकारका परियोजनामा भने यसबारे विस्तृत अध्ययन हुन्छ । तर हामीले त्यसरी नियमित र विस्तृत अध्ययन गरेका छैनौँ । तर आयोजनाका संरचनाहरू भने सुरक्षित ढङ्गले बनाइएको छ । त्यस्ता जोखिमलाई थेग्ने गरी परियोजना बनेको छ ।

अहिले शेयर लगानी गर्ने लगानीकर्ताले कहिलेदेखि लाभांश पाउँछन् ?

लाभांश त आयोजना सञ्चालनमा आएपछि पाइहाल्छन् । हामीले बैङ्कको ब्याज पनि तिर्दै जाने र लाभांश पनि दिँदै जाने योजना बनाएका छौँ । ऋण तिरिसकेपछि भने बढी लाभांश पाइन्छ । यसबाहेक हामीले अर्को आयोजना पनि खोजिरहेका छौँ । अर्को आयोजना बनाइयो भने लगानीकर्ताले पाउने प्रतिफल अझै बढ्छ ।

अर्को आयोजना तयारी सुरु भइसकेको हो ?

बाटो खासै बनाउन नपर्ने, सुगम ठाउँमा राम्रो खोला पाइयो भने हामी चाँडै अर्को आयोजना पनि सुरु गर्ने योजनामा छौँ । यसका लागि हामीले इञ्जिनियरहरुको एउटा टोली पनि खटाइसकेका छौँ । २–३ सय मेगावाट क्षमताको आयोजना पाए तुरुन्त सुरु गर्ने तयारीमा छौँ । यस कारण पनि हाम्रो कम्पनीका सेयर धनीलाई लाभ हुने छ ।

चिलिमे जलविद्युत्को शेयर हेर्ने हो भने पहिले निकै उच्च दरमा लाभांश दिन्थ्यो । तर अहिले लाभांश निकै कम भएको छ । चिलिमेले नै बनाउने अरू आयोजनामा पनि त्यस्तै हुँदैन भन्ने के आधार छ ?

लाभांशको कुरा गर्दा जलविद्युत्को एउटा भन्दै समय चक्र हुन्छ । पहिले उसको चुक्ता पुँजी कम थियो यही कारण उसले बढी लाभांश दिइरहेको थियो । तर पछि कुनै दबाबले हो वा अरू केही कारणले बोनस शेयर दिन थाल्यो । विकसित मुलुकमा नगद लाभांश मन पराउँछन् ।तर नेपालमा बोनस शेयर खोज्छन् । अझ विकसित मुलुकमा राम्रो नमान्ने हकप्रद शेयर पनि नेपालमा आकर्षणको कारण बनिरहेको छ ।

चिलिमेले सुरुदेखि नै नगद लाभांश दिएको भए अहिले पनि ४०–५० प्रतिशत लाभांश दिन सक्थ्यो । बिचमा पुँजी बढाएका कारण लाभांश कम भएको हो । तर चिलिमेले त्यसरी बढाएको पुँजी पुनः लगानी गरेको छ । रसुवागढीमा ३२ प्रतिशत र साञ्जेन तथा भोटेकोसीमा ३७ प्रतिशत लगानी चिलिमेको छ । यी आयोजनाहरूबाट प्रतिफल आउन थालेपछि चिलिमे पुनः ब्लूचीप कम्पनी बन्छ ।


प्रतिक्रिया दिनुहोस्