दशैँतिहारमा यात्रु ठग्ने, जुवातास खेल्ने र मदिराको विकृति फैलाउनेलाई पाता कस्छौँः एसपी पण्डित « Arthapath.com
१७ आश्विन २०७९, सोमबार

दशैँतिहारमा यात्रु ठग्ने, जुवातास खेल्ने र मदिराको विकृति फैलाउनेलाई पाता कस्छौँः एसपी पण्डित



रमेश पण्डित (प्रहरी उपरिक्षक), प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोट

करिब दुई महिनाअघि प्रहरी प्रमुख नुवाकोटको नेतृत्व गर्न आइपुग्नुभएका प्रहरी उपरिक्षक (एसपी) रमेश पण्डित एक साहसिक र सशक्त प्रहरी अधिकारी हुन् । पण्डित खटिएका जतिपनि क्षेत्रहरु छन्, जहाँका तमाम अपराध र अपराधी, तस्कर र गुण्डा समुहहरुले उहाँलाई नेपालका एक ‘खतरनाक सिंघम’ मान्छन् र त्यस्ता आपराधिक समुहहरु पण्डितसँग आजसम्म पनि तर्सिन्छन् । यसअघि नेपालका विभिन्न जिल्लामा रही प्रहरी संगठनको सफल कमाण्ड गरिसक्नुभएका उहाँको अपराध नियन्त्रणमा त्यस्ता कैयन् अपरेसनका स्मरणिय उदाहरणहरु छन् । जसले जनताको स्यावासी मात्रै बटुलेन, सिंगो प्रहरी संगठनकै छवि उच्च बनाइदिएको पाइन्छ । यसभन्दा अघि पण्डितले नेतृत्व गरिसक्नुभएका धेरै जिल्लाहरुमध्ये महोत्तरी, लमजुङ्ग, बाँके लगायतका जिल्लाहरु मुख्य हुन् । इलाका प्रहरी कार्यालय खैरहनी चितवन, लुम्बिनी इलाका कार्यालय जस्ता अपराध नियन्त्रणका त्यस्ता चुनौतिपूर्ण स्थानहरु थिए, जहाँ पण्डितकै अब्बल कमाण्ड भूमिकाले तस्कर र अपराधमा संलग्नहरु ठेगान लगाइए । लमजुङ्गमा मौलाएको गुण्डागर्दी र तस्करको दादागिरी, चोरी निकासीलाई ठप्प पार्न सफल भएको प्रशंग होस् या डिएसपीको रुपमा २०६३÷०६४ सालतिर महोत्तरीमा रहँदा तराई मधेशमा आन्दोलनको राँको दन्किएको कहालिलाग्दो प्रतिकुल परिस्थितिमा होस् । पण्डित त्यस्ता आतंक, अराजकता र अपराधिक समुहसँग कहिल्यै डगमगाउनुभएन ।  सरकारलाई ठूलै सुरक्षा चुनौतिको रुपमा तराई मधेसमा आन्दोलनको आगो फैलिरहँदा उहाँकै कमाण्डमा बर्दीवास–सिन्धुली जस्ता राजमार्गहरुको सहज तथा सुरक्षित आवागमनमा देखाएको आँटले पनि यो भन्छ र प्रेरणा सिकाउँछ की– ‘‘नेतृत्व गर्ने एक व्यक्तिमा इमान्दारिता र साहसिक भूमिका देखाउन सक्षम हुनसके हरेक चुनौति र अफ्ट्याराहरुलाई पनि पन्छाउँदै शान्ति सुरक्षा र अमनचयन ल्याउन सम्भव छ’’ भन्ने उदाहरण पण्डितले नै पस्किदिनुभयो । लुम्बिनी इलाका कार्यालयमा रहँदा थुप्रै जघन्य अपराध र मानव हत्यामा संलग्न २८ कुख्यात हत्याराहरु भारतका विभिन्न शहरमा लुकेर बसिरहेकालाई भारतसँगै समन्वय गरी पक्रिन सफलता पाउनुभएको थियो । देशका पहुँचवाला, नेता र राजनीतिको संरक्षणमा हुर्किएका अपराधमा संलग्न यस्ता धेरै अभियुक्तहरुलाई उम्किन नदिएर कानुनको जन्जिरले पाता कसेकै कारणले होला, आजपनि ‘त्यो डिएसपी सिंघम’ कहाँ पुग्यो, कहाँ सरुवा भयो’ जस्ता खेजिनीति तिनै व्यक्तिहरु र तिनका समुहले ‘पण्डितलाई असफल पार्नुपर्छ’ भन्ने नियतले हिजोआज पनि गर्ने गरेको लुम्बिनी, लमजुङ्ग र चितवनतिर कार्यरत प्रहरी र तिनका अधिकृतहरु चर्चा गर्छन् ।  तस्करी, गुण्डागर्दी, अपराध र अपराधीका विरुद्ध कुनैपनि सम्झौता नगरी कानुन कार्यान्वयनमा ‘निर्मम’ ढंगले प्रस्तुत हुने प्रहरी उपरिक्षक पण्डितसँग दशैँतिहार चाडपर्वमा हुने यात्रुमाथीको ठगी, जुवातास, मदिराको विकृति नियन्त्रणसँगै, शान्तिसुरक्षा र आसन्न मंसिरमा हुने आम निर्वाचन लक्षित सुरक्षा तयारीका सन्दर्भमा रहेर पत्रकार रामहरि गजुरेलले अर्थपथ डटकम अनलाइनका लागि गर्नुभएको अन्तर्वार्ता ।    

प्रहरीको शान्ति सुरक्षाको नियमित कामसँगै अहिले कुन–कुन अभियानलाई जिल्लामा प्राथमिकतामा राखेर प्रहरी अगाडी बढेको छ ?

अहिले चाडबाड सुरु भइसकेको हुँदा चाडपर्व लक्षित सुरक्षा योजनाहरु तयार गरेर प्रहरी परिचालन गरेका छौँ । विषेशगरी दशैंतिहार आउने समयमा यात्रुहरु ठगिने, विभिन्न तवरले लुटपाट हुने जस्ता विगतका घटनाहरुले पनि पाठ सिकाएको हुँदा हामीले जिल्लाका विभिन्न बजार तथा शहरी स्थानमा यात्रु सहायता कक्षहरु स्थापना गरेका छौँ । यातायात सुविधा भएका प्रत्येक प्वाइन्ट–प्वाइन्टमा सवारी आवागमन र भिडभाड हुन्छ, त्यस्ता ठाउँहरुमा प्रहरीको पैदल गस्ति, मोबाइल गस्ती र सादा पोसाकमा प्रहरीहरु परिचालनको व्यवस्था गरिसकेका छौँ । त्यसका अलवा वित्तिय कारोबार (किनमेल) हुने बजार क्षेत्र र बैंकिङ्ग कारोबारका लागि भिडभाड हुने जहाँ नगद पैसाको कारोबार हुने ठाउँहरुमा सादा र युनिफर्म सहितको प्रहरी जनशक्ति परिचालन गरेर यहाँको समग्र शान्ति सुरक्षालाई हामीले यात्रु आवागमनदेखि उनीहरु र समग्र सर्वसाधारण नागरिकको शान्ति सुरक्षालाई मजबुत राख्नुका साथै त्यसको प्रत्यक्ष अनुभूति गराएका छौँ । भोलिका दिनहरुमा पनि त्यसलाई कायम राख्न हामी २४ सै घण्टा तैनाथ छौ र त्यसमा प्रतिवद्धसमेत छौँ ।    

पक्कैपनि यहाँले भनेजस्तै चाडपर्वको मुख्य मौशम छ । यसलाई प्राथमिकतामा राखेर प्रहरीले विषेश अभियान सञ्चालन गरिरहँदा चाडपर्व लक्षित अन्य व्यवस्थापन र सुरक्षा योजनाहरु के–के छन् ?

अहिले प्रहरीले चाडपर्वको अवसर पारेर पहिलाका फरार अभियुक्तहरु पनि लुकीछिपी घर आउनसक्ने हुँदा त्यस्ता अभियुक्तहरुलाई पनि पक्राउ विषेश पहलकदमी लिएका छौँ । विषेशतः नुवाकोट जिल्ला पहाडी भू–संरचना भएको हुँदा सप्राइज चेकिङसँगै पेट्रोेलिङहरु, मोबाइल गस्ती र सिनियर प्रहरी अधिकृतको कमाण्डमा नियमित दुईवटा मोवाइल गस्तीलाई परिचालन गरेका छौँ । मेरो सुरक्षा क्षेत्रमा यो छोटो हाइवे छ तर, मेरोमा गल्छीदेखि त्रिशूली–बेत्रावतीसम्म । यातायातदेखि आवागनको बढी चाप हुने अहिले मुख्य मार्ग यही पर्छ । यसमा पनि राति केही घटना घट्छ कि भनेर सँगै पेट्रोलिङको व्यवस्था पनि अहिले यो चाडबाड लक्षित योजनाअन्तर्गत यी कार्यहरु हामीले गरिरहेको अवस्था छ ।

यही दशैंतिहार जस्ता पर्वहरुमा जुवातास, जाँडरक्सी लगायतका विकृतिहरु अधिक हुनेगर्छ । यसको नियन्त्रणमा प्रहरीको अभियान र भूमिका कस्तो रहनेछ ?

यसको नियन्त्रणका लागि हामीले यसअघि चाडपर्वको समयबाहेक पनि सादा पोसाकका प्रहरी र पर्चा पम्पलेट, सामुदायिक प्रहरीमार्फत् जनचेतनाको कार्यक्रम प्रत्येक महिनामा चारवटा सञ्चालन गरिरहेका छौँ । अहिले दशैंतिहारलाई टार्गेट गरेर प्रत्येक युनिटमा ज–जसको आफ्नो जिम्मेवारी इलाका हो, त्यहाँ हामीले जुवातास खेलवाड र मदिराको सेवनले समाजमा अपराध बढ्ने र स्वयं त्यसको लतमा भएकाहरुको जिवन र भविष्य बर्बादीको बाटोमा जानेहुँदा त्यसबाट टाढा रहनुपर्नेमा जोड दिइरहेका मात्र छैनौँ प्रभावकारी प्रचारप्रसार गरी सचेत गराएका छौँ । केहिदिन पहिले घटस्थापनाअघि नै सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिसकेका छौँ । प्रायः रामरमिताका नाममा त केही धार्मिक हिसाबले मादक पदार्थको सेवन गर्नुपर्छ भन्ने एउटा भ्रम समाजमा अझैँ व्याप्त छ । त्यसलाई न्यूनिकरण गर्नको लागिपनि हामीले गाउँगाउँमा त्यहाँको नागरिक समूह, महिलाहरुको समूह र सामाजीक संस्थाहरुलाई सक्रिय बनाएर भेटिएजति मात्रामा घरेलु मदिरा नष्ट गरिसकेका छौँ । अर्कोतर्फ जुवातास नियन्त्रणका लागि हामीले गाउँ गाउँमा सचेतनाको कार्यक्रममार्फत् अघि बढिरहेका छौँ । जसले आफ्नो मनोरञ्जनका लागि जुवातासमा रम्दा वर्षभरीको कमाई, सम्पति हरण हुने, यसले गर्दा परिवारमा कलह, वेमेल हुनेमात्र होइन अन्त्यमा आत्महत्यासम्मका घटना हुनसक्छ भनेर सचेत गराइरहेका छौँ । त्यसबाहेक नेपालको प्रचलित कानुनले जुवातास खेल्नु, खेलाउनु, खेलवाड भइरहेको हेर्नुलाई पनि गैरकानुनी र दण्डनीय अपराध मानेकोले यसलाई मानिसको व्यक्तिगत अधिकारको नाममा सामान्य रुपमा लिन नहुनेतर्फ सजग गराएका छौँ । जसको लागि समुदायका अग्रजहरुलाई यस्तो अभियानमा अग्रसर गराएका छौँ । यसरी मात्रै जुवातासबाट अलग गराउन प्रेरणा मिल्न सक्छ भन्ने हाम्रो बुझाई र विश्वास हो । प्रचारप्रसारको यस्तो रचनात्मक विधि अपनाउनाले पनि गतवर्षभन्दा अझ न्यूनिकरण हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
तर, हामीले यसरी जनस्तरमा पुगेर होस् या अन्य माध्यामबाट जुवातास,  मदिरा नियन्त्रणका लागि नम्र निवेदन तथा अपिल गर्दापनि त्यसको बर्खिलाप कसैले गर्छ र विकृति सिर्जना गर्छ भने पक्राउ गछौँ । कानुनबमोजीम कडा कारबाही गरिछाड्छौँ ।  

अन्य मनोरञ्जनका नाममा अवैध सामग्रीको ओसारपसार पनि यही बेलामा हुनेगर्छ । जसको आयात र प्रयोग प्रतिबन्धलाई कसरी कडाई गर्ने योजना छ ?  

हाम्रोमा तीनवटा मुख्य सडक नाकाहरु छन् । गुर्जेभञ्ज्याङ, गल्छी र ककनी नाका छ । यी तीनवटैमा ट्राफिक र नेपाल प्रहरीको संयुक्त चेकिङ छ र त्यसमा सुक्ष्म निगरानीको व्यवस्था मिलाएका छौँ । तिहारलाई लक्षित गरी विषेशगरी भुईचम्फा, पटकाजन्य चिजबिजहरु लगायत विष्फोटक पदार्थहरु आउनसक्ने सम्भावित खतरालाई हेरेर अहिलेदेखि नै निगरानी बढाइराखेका छौँ । तर, विगत केही वर्षदेखि यो पहाडी जिल्लामा शुन्यजस्तै छ । चाडबाडसँगै अब चुनाव पनि आइरहेको हुँदा मानिसहरुले मदिरा सेवन गर्ने र विभिन्न किसिमका घटना घटाउन सक्छन् । सोही अनुमान गरेर आफ्ना गाउँघरमा भएका घरेलु हतियार, लाइसेन्स भएका वा नभएका हतियारहरु पनि समयमै हामीले स्थानिय पालिकाहरुमार्फत् र जिल्ला सुरक्षा समितिले पनि निर्णय गरेर अभियानकै रुपमा संकलन गर्ने गरिरहेका छौँ । अर्कोतर्फ रेडियोमार्फत् २१ दिने सूचना पनि जारी गरिसकेको अवस्था छ । चाडबाडको समयमै लाइसेन्स प्राप्त भएका हतियारहरु भएपनि हाम्रो प्रहरीको नियन्त्रणमा राख्ने, अवैध किसिमका हतिहार छन् भने पनि त्यसलाई संकलन गर्ने र कानुन बमोजीम कारबाही गर्ने योजनाका साथ अघि बढिसकेका छौँ । भोली आउने आगामी आम निर्वाचनलाई पनि यो तयारीले शान्ति र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मद्दत पु¥याउनेछ ।

चाडपर्वमा सार्वजनिक यातायातमा क्षमताभन्दा धेरै यात्रु बोक्ने प्रवृति छ । ग्रामिण भेगमा त झन् मालवाहक सवारी साधनमा मान्छेहरु ओसारपसार हुनेहुँदा विगतमा धेरै दुर्घटनाहरु भएर ज्यान गुम्ने र घाइते हुने उदाहरण धेरै छन् । यस्तो भयावह स्थिति भविष्यमा आउन नदिन सार्वजनिक वा मालबाहक सवारीको निगरानी, नियमन र नियन्त्रणमा कसरी सोच्नुभएको छ ?

यहाँले उठाउनुभएको सवाल एकदमै सान्दर्भिक हो । यसलाई हामीले ट्राफिक प्रहरी, नेपाल प्रहरी कति आवश्यक पर्छ भनेर विगतमा भएको जनशक्तिभन्दा थप जनशक्ति पनि माथिल्लो तहबाट थप गरेर ल्याइसकेको अवस्था छ । जुन क्षेत्रबाट सवारी साधनहरु छुट्छन् तिनले बिचमा गएर ओभरलोड वा छतमा राखेर ओसारपसार गर्ने परिपाटी जुन छ त्यसलाई रोक्न पहाडी भेगमा पनि गस्तीको मोबाइल भेइकल्स (सवारी साधन)सहित ट्राफिक प्रहरीको छड्के चेकिङको व्यवस्था गरेका छौँ । सार्वजनीक बस तथा माईक्रोवस बाहेकका मालबाहक साधनहरुले पनि यात्रुहरु बोक्ने पाइएको खण्डमा यहाँ रहेका सम्पूर्ण किसिमका यातायात व्यावसायी समितिहरुलाई पहिले नै हामीले बैठक आव्हान गरी छलफलमार्फत् निर्णय गरेर नियम उलंघन गर्ने सवारी साधन वा समितिलाई प्रशासनले कानुन बमोजीम कारबाही गरिएको खण्डमा त्यसप्रति हामीलाई मान्य हुनेछ भन्ने लिखित नै निर्णयमा प्रतिवद्धता व्यक्त गर्न लगाएका छौँ । त्यसयता आजको दिनसम्म अपवादबाहेक त्यस्ता प्रकृतिका लापरबाही र घटनाहरु देखिएको छैन र दुईदिनअघि मात्रै पनि मालबाहक सवारी साधनमा यात्रुहरु ओसारपसार गरिएको अवस्थामा म आफैँ पनि मेरो अग्रसरतामा भएको मोबाइल चेकिङमा फेला पारी दुईवटा त्यस्ता साधनलाई नियन्त्रणमा लिएर कारबाहीसमेत ग¥यौँ । तर, शतप्रतिशत नै यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने चाहिँ होइन । यद्यपी हाम्रो गस्ती र प्रहरीको सुरक्षा योजनाले गर्दा धेरै नै हदसम्म यस्ता घटनाहरु यिन्त्रयण हुनेमा मैलेचाहिँ विश्वास गरेको छु । यदी नियमविपरित त्यसो गरिएको पाइएमा कानुनबमोजीम कारबाही गर्नेछौँ ।

यसै प्रशंगमा सार्वजनिक यातायातमा चाडबाडको मौका छोपेर सरकारले तोकेभन्दा भाडादर मनोमानी लिने र ब्रम्हलुट हुन्छ, यसबाट यात्रुहरु ठगिनबाट जोगाउन प्रहरी कत्तिको चनाखो छ ? अर्काेतर्फ, जो यात्रा गर्ने सर्वसाधारण यात्रुहरु छन् तिनको गुनासो सुन्ने व्यवस्था छ कि छैन र त्यसलाई सम्बोधन गरी ठगिएका यात्रुको गुनासो कार्यान्वयन गर्ने भरपर्दो वातावरण कत्तिको छ ?

यस विषयमा हामी सबैभन्दा गम्भिर छौँ । दशैंजस्ता चाडवाडको बेला सर्वसाधारणहरु नठगिउन भनेर सरोकारवाला निकाय र नागरिक समाज, राजनीतिक दलहरुसँग पनि हामीले एकचरणको बैठक बस्यौँ । यात्रुको सहजता र सार्वजनिक यातायातको व्यवस्थित प्रणाली सुधारका निम्ति घनिभूत छलफल चलायौँ । यसको अबिलम्ब कार्यान्वयन गर्ने निर्णय पनि ग¥यौँ । यात्रु ठग्नेजस्तो यस्तो प्रकृतिको बदमासी र अपराध सर्वसाधारणमाथी गरिएको खण्डमा स्वयं सम्बन्धित यातायात व्यावसायी समितिले पनि कारबाही गर्नुपर्ने, प्रशासनले पनि कारबाही गर्ने, कसैलाई छुट दिने कुरामा कहीँ कतैबाट पनि अलमल नगर्ने निर्णय गरेका छौँ । यसको कडाईका साथ कार्यान्वयन गर्नकै लागि भनेर हामीले गल्छीदेखि त्रिशूलीसम्म आईपुग्दा पाँच स्थानमा छड्के चेकजाँच र तीन स्थानमा नागरिक सहायता कक्ष राखेका छौँ । नागरिक सहायता कक्ष रहेका  विभिन्न ठाउँमा यातायातमा सवार यात्रुहरुलाई कति भाडादर तिर्नुभयो ?, तपाईंहरुको कुनै दुःखेसो, केही गुनासोहरु छन् ? भनेर प्रतिक्रिया लिइरहेका छौँ र गाडीहरुलाई यसैगरी क्रस चेकिङ गरिरहेका छौँ । यस्तै व्यवस्था हामीले छहरे–गुर्जेभञ्ज्याङ–टोखा सडकमार्गमा पनि दुई स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी कडाई गरिरहेका छौँ ।

यसक्रममा चारदिनअघि रातमाटेमा यात्रु बोकेर आएको बसले बाटो बिग्रिएको छ म जान्न भन्दै एकसय रुपैयाँ भाडा लाग्ने बाटोमा पनि बढी भाडादर लिनकै लागि यात्रुसँग बार्गेनिङ गरेर अफ्ट्यारोमा पारेका गुनासो आएकोेले कारबाहीको लागि प्रहरीले उक्त बसलाई नियन्त्रणमा लिएको छ । त्यसबाहेक, हालसम्म मैले दुःख पाएँ, म ठगिएँ भनेर कुनै गुनासो हामीसम्म आएको छैन । हामी अनुगमनलाई प्रभावकारी बनाउन यातायात व्यवसायी समितिलाई पनि संगै सहभागी गराएका छौँ । किनकी, हामीले नियमविपरित जाँदैनौँ र गरेमा हामीपनि सम्बन्धित बस र चालकलाई कारबाही गर्छौँ भनेर पहिल्यै प्रतिवद्धता जनाइसकेकोले यदी उहाँहरुसहित अनुगमनको क्रममा बदमासी भेटिए तपाईँको बस वा चालकबाट यस्तो लापरबाही भयो, अब कारबाहीको भागिदार बन्न तयार हुनुपर्छ भनेर दायरामा ल्याउन सजिलो होस् भन्नकै लागि हो । सर्वदलिय र सर्वपक्षिय टोली गठन गरेर हामीले अनुगमनलाई तिव्रता दिइरहेका छौँ ।

नेपालका अन्य जिल्लाका तुलनामा नुवाकोट अलिकति विशिष्ट, अलि धेरै चुनौँतिपूर्ण र जटिल छ, अपराध नियन्त्रण तथा कार्यान्वयनको सन्दर्भमा काम गर्न प्रहरीलाई समस्या छ भन्ने गरिन्छ । तपाईंले नुवाकोट जिल्लामा रहेर अहिले प्रहरी प्रमुखको रुपमा नेतृत्व गरिरहँदा तपाईँको अनुभव र भोगाईले के भन्छ ?  

म नुवाकोट आएको आज करिब ४८ दिन भयो । मैले प्रहरी जीवनमा तराईदेखि पहाडका सबैजसो जिल्लाको अनुभव गरेको छु । बर्खायाम भएकोले म यहाँ आउनेबित्तिकै बाढीपहिरोजस्ता समस्या आयो र त्यसको कारणले सिर्जित समस्याको समाधानतिर नियमित कामबाहेक अलिधेरै खटिएँ । तपाईँले भनेजस्तै केही हदसम्म सही हो । किनभने यो जिल्ला विगतदेखि नै नेपालको राजनीतिको केन्द्रमा छ । नीति निर्माणदेखि हरेकमा अब्बल हैसियत राख्छ । सबै राजनीतिक दलका पोलिटिकल फिगरका रुपमा उच्च कोटीका नेताहरु यो जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनुभएको हुँदा नुवाकोटलाई मैले पनि यस अर्थमा विशिष्ट मान्छु । यहाँ एकै दलको मात्र बर्चश्व छैन, सबै दलको समानजस्तै उपस्थिति रहेकोले शान्ति, सुरक्षा र सु–व्यवस्था कायम गर्नकै लागि समानुपातिक हिसाबले हामीले सबैसँग सहकार्य गरेर जानुपर्ने परिस्थिति छ । यो हाम्रो दायित्व पनि हो । अर्कोतर्फ सबैको सोचविचार एकै किसिमको नभएकोले यो जिल्ला अन्य जिल्लाको तुलनामा फरक पनि छ । यहाँ विगतलाई फर्केर हेर्दा अपराधका घटनाहरु पहिलेभन्दा अहिले धेरै देखिएको हुँदा पहाडी जिल्लाहरुमध्ये नुवाकोट जिल्ला चुनौतिपूर्ण जिल्ला पनि हो । अपराध नियन्त्रणको लागि यसप्रकारको चुनौतिसँग लड्न सबै राजनीतिक दलहरु, सरोकारवालासँग सहकार्य आवश्यक छ र म यसैगरी अघि बढिरहेकै छु । तर, म यहाँ आइपुगेपश्चात् भने त्यसकिसिमको कुनै घटना नघटेको हुँदा आगामी दिनमा यो जिल्ला अपराध नियन्त्रणमा सफलता प्राप्त गर्दै सहज ढंगले अवतरण हुनेछ भन्ने मैले महसुस गरेको छु ।

अपराध नियन्त्रणमा कानुनबमोजीम स्वतन्त्र ढंगले काम गर्ने वातावरण हुँदैन । आफ्ना मान्छेलाई जोगाउन दलका नेता र पहुँचवालाहरुको हस्तक्षेप हुनेगर्छ हाम्रो नेपाली समाजमा । तपाईँले त्यस्तो दवावको सामना गर्नुपरेको छ कि छैन ?
म आएको ४८ दिनको अवधिमा धेरै किसिमका घटना र मुद्धाहरु दर्ता भएका छन् । ति कुनैपनि घटनामा सामान्य अवस्था र बुझ्ने क्रममाचाहिँ के भएको भनेर चासो राख्ने, बुझ्ने गर्नुहुन्छ । तर, यो मुद्धामा फलानो मान्छेलाई छोडिदिनुप¥यो भनेर त्यस्तो किसिमको पोलिटिकल प्रेसर पनि आएको छैन । सामान्यतयाः के भएको भनेर घटनाविवरण बारे सोध्नुहुन्छ । सोधीखोजी गर्नु त उहाँहरुको दायित्व पनि हो । त्यतिधेरै अनावश्यक प्रेसको महसुस चाहिँ गरेको छैन ।

केहिगरी तपाईंलाई त्यस्तो प्रेसर आईहाल्यो भने त्यसलाई झेल्नुहुन्छ वा मानिदिनुपर्ने परिस्थितिमा पुग्नुहुन्छ ?  

कुनैपनि हालतमा कानुनभन्दा विपरित गरिएको अपराधलाई कसैले दबाब दिँदैदा मान्न सकिँदैन । त्यो क्षम्य पनि हुँदैन । हामी यो देशका कर्तव्यनिष्ठ र जिम्मेवारी बोकेर अपराधबिहिन समाज निर्माणका खातिर खटिएका मान्छे हौँ । जहाँ गएपनि हामी जागिर नै खाने हो । त्यसो भएको हुनाले कानुनसंगत कारबाहीको दायरामा ल्याई त्यसको भागिदार बनाइछाड्ने कुरामा हामी कुनै हालतमा पछि हट्दैनौँ । कानुनी कारबाही गरिछाड्छौँ । जो आपराधिक घटनामा संलग्न छ त्यसको बारेमा र घटनाको सन्दर्भमा वास्तविकता थाहा नभएकोले हुनसक्छ, नेताज्युहरुले हामीलाई सोध्नुहुन्छ । तर, त्यही कुरालाई हामीले वास्तविकता बुझाइदिई सकेपछि केहीपनि राजनीतिक दलको उच्च कोटीका नेताहरुले त्यस्तो विषयमा प्रेसर गर्नुहुन्न । यदी प्रेसर दिनुभयो भनेपनि कानुनभन्दा विपरित गरिएको काममा कुनै हालतमा अपराध र अपराधमा संलग्नलाई प्रसय दिने कुरामा सम्झौता गर्दैनौँ । कसैलाई छोड्दैनौँ । कानुन बमोजीम अघि बढ्छौँ बढ्छौँ । यो कानुनी राज्य हो । त्यसैले हामी दण्डहिनलाई प्रत्साहन दिन सक्दैनौँ ।

दशैँतिहार जस्ता पर्व नेपालीहरुको साझा चाड भएकोले अरु क्षेत्रका हरेक नेपालीहरु यस्ता चाडपर्वमा घरपरिवारसँग रमाइलोसँग मनाउन व्यस्त छन् तर, प्रहरी भने ‘बिदा नपाउनेको दशैँ’ को रुपमा देश र जनताको सेवामा दिनरात खटिनुपर्ने बाध्यता छ । अरुले दशैँ मनाइरहँदा तपाईं एक प्रहरी प्रमुख आफैँलाई र आफु मातहतका प्रहरीले घर जान नपाउँदा कस्तो अनूभूति गर्नुहुन्छ ?

हामीले जागिरको सुरुवातमा नै देश र जनताको सेवा गछौं भनेर कसम खाएका हुन्छौं । हामी यो जिल्लामा वा जुन ठाउँका जनता तथा नागरिकको सुरक्षामा खटिएका छौं,  त्यहाँका बासिन्दाहरुले सहज र शान्तिपूर्ण रुपमा चाडपर्व मनाउन पाउनुभयो भने त्यसमा नै नेपाल प्रहरीको खुशी र गौरवको कुरा हो । नेपाल प्रहरीमा जोडिएका नयाँहरुलाई आफ्नो  काम कर्तव्य र पेशागत मर्यादामा रहेर देश र जनताको सेवा गर्नुपर्छ भनेर सिकाएका हुन्छौं । विशेष गरि चाडवाडको बेलामा विभिन्न आपराधिक गतिविधि हुनेभएकाले यसमा हामी सचेत भई जनताको सेवा गर्नुपर्छ । देश र जनतको सेवा गर्न पाउँदा घर जान पाइन भन्ने खिन्नता लाग्दैन । तर, हामी नेपाल प्रहरीका पारिवारिक समस्या र बाध्यता अनुसार चाडपर्वमा जाने आउने पनि व्यवस्था गरिरहेका हुन्छौं । नागरिकहरुले शान्तिपूर्ण रुपमा दशैं मनाउन पाए भने हाम्रो खुशी रमाईलो नै त्यही हुनेछ ।

हिजोआज निर्वाचनलक्षित तयारीमा पनि जुटिरहनुभएको छ । निर्वाचनलाई सुरक्षा व्यवस्था मजबुत बनाउन र निर्वाचन सम्पन्न गर्न आवश्वक जनशक्ति व्यवस्थापनमा म्यादी प्रहरीको भर्ना कार्यक्रम के हुँदैछ ?
दशैं तिहार लगत्तै निर्वाचन हुने भएको छ । र त्यसका लागि म्यादी प्रहरीको भर्ना आजसम्म पूर्व प्रहरी, पूर्व म्यादी, पूर्व सशस्त्र प्रहरी, पूर्व नेपाली सेनाहरुको अन्तर्वार्ताहरु चलिरहेको छ । नयाँ म्यादी प्रहरीमा आउनेहरुका लागि भने लिखित परिक्षा सञ्चालन भईरहेको छ । यी सबै कार्यहरुको अन्तिम तयारी भएको छ । असोज २५ गतेसम्म हामीले नतिजा प्रकाशन गरि छनौट सम्वन्धी सबै कुराहरु टुङ्ग्याउँनेछौं ।

Tags :

प्रतिक्रिया दिनुहोस्