शिवम् सिमेन्टको मुद्दा सुपरिवेक्षण विभागले छानविन गरिरहेको छ: अध्यक्ष हमाल [अन्तर्वार्ता] « Arthapath.com
१९ पुष २०७९, मंगलवार

शिवम् सिमेन्टको मुद्दा सुपरिवेक्षण विभागले छानविन गरिरहेको छ: अध्यक्ष हमाल [अन्तर्वार्ता]



रमेशकुमार हमाल
अध्यक्ष, नेपाल धितोपत्र बोर्ड

तपाई धितोपत्र बोर्डको अध्यक्ष भएर आइसकेपछि धेरै साहसिक निर्णय लिनुभयो । तर, तपाईंलाई रोक्न धेरै समूह लागिपरेको भनिन्छ नि ?

त्यो त हाम्रो नेपालमा स्वभाविक संस्कृतिजस्तै पनि हो । जुन किसिमको बजारको दिशा नै परिवर्तन गर्ने जग बनाउन हामी लाग्यौं, त्यसमा अलिअलि अवरोध आउने कुरा स्वभाविक नै हो । मैले अन्यथा लिएको छैन । हामीले पनि सम्झाउन नसकेको हो कि ? तर, यस बारेमा हामीले बजारलाई के फाइदा हुन्छ भनेर अझै बुझाउन सक्नुपर्छ । हाम्रो प्रयास निरन्तर अघि बढाउछौं ।

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइलेन्स रोक्न ठूला व्यापारिक समूह लागेको भनिन्छ, किन होला ?

हामीले चाहेको मूल लक्ष्य बजारमा उचित प्रतिष्पर्धा हो । प्रतिष्पर्धाको वातावरण भएमात्रै स्वच्छ मूल्य प्रणाली (फेयर भ्यालू सिस्टम) स्थापना हुन्छ । लगानीकर्ताको हकहित संरक्षणका लागि यो जरुरी छ । बजारको दायरा र सन्तुलन पनि बढ्छ । त्यसका लागि प्रमुख दुई वटा कुरा मध्ये एउटा खुला ब्रोकर प्रणाली हो । जसअन्तर्गत ठूलो खाका, ठूलै पूँजी र संस्थागत सुशासनमा बलियो जग भएका सक्षम कम्पनीहरुले ब्रोकर सेवा दिन थालेपछि बजार राम्रो दिशामा हिँड्छ । त्यसकारण खुला प्रणाली जरुरी छ ।

एक्सचेञ्ज पनि अहिले सरकारी स्तरमा चलेको छ । त्यसको जुन स्तरमा प्रडक्टको विविधिकरण हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । जुन प्रविधमा, टुल्समा, प्रडक्टमा र कम्पनीको संचरनामा विविधिकरण हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । उत्पादनमुलक क्षेत्रका कम्पनीहरु सूचीकरणमा नआउनुको प्रमुख कारण नै एक्सचेञ्जमा फेयर मार्केट भ्यालूको भरोसा सम्पूर्ण स्तरमा दिन नसक्नु हो । यसमा सुधार ल्याउन खुला ब्रोकर प्रणाली र कर्पोरेट एक्सचेञ्ज चाहिन्छ । यी दुई कुरा अघि बढेमात्रै बजार सही दिशामा हिँड्छ । राजश्वको दायरा पनि फराकिलो हुन्छ । सर्वसाधारण नागरिकले पनि राम्रो कम्पनीहरुमा लगानी गर्न पाउँछन् ।

पुरानो ब्रोकर कम्पनीहरु र नेप्सेको नेतृत्व तपाईको विरुद्ध संगठित रुपमै लागेको भन्छन् नि, किन ?

मलाई त्यस्तो लाग्दैन । नेप्से त हाम्रो सहयात्री नै भयो । नेप्सेबाट त्यस्तो विरोध भए जस्तो लाग्दैन । ब्रोकरहरुसँग पनि धेरै सहकार्य भएको छ । उहाँहरुले ५० जनाले चलाएको बजार थियो । उहाँहरुले आफ्नो व्यवसायिक सीमा नाघ्नु भयो होला, त्यो अर्को कुरा भो । तर उहाँहरुको विरोध स्वाभाविक छ । ५० वटाभन्दा बढी थप्न पाईदैन, हामीले मात्र कमाउन पाउनुपर्छ, अरुले यो क्षेत्रमा आउनै हुँदैन भन्नु अस्वाभाविक त होइन । तर, राज्य र नियामकले केवल ५० जनाको स्वार्थ रक्षा गरेर बस्न सक्दैन । बजारको हित र ५२ लाख लगानीकर्ताको हित कसरी हुन्छ, हाम्रो ध्यान त्यतैतर्फ हो ।

बैंकलाई ब्रोकर लाइलेन्स दिने विषयमा धितोपत्र बोर्डले पुनर्विचार गर्ने भनेर पुराना ब्रोकरहरुसँग सहमति चाहीँ किन गरेको त ?
एकदम गलत, त्यो हुनै सक्दैन । पहिलो पल्ट होला, धितोपत्र बोर्डले गरेको कामप्रति जनताको यति ठूलो भरोसा भएको । अहिले यो नयाँ ब्रोकरको मुद्दामा पनि, खुला प्रणालीमा नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीको लागि पनि हामीलाई ठूलो जनसमर्थन प्राप्त छ । अदालतमा गईसके पछि केही समयका लागि यथास्थितिमा रोकिएको थियो । यो क्रममा पनि लगानीकर्ताका सबै छाता संगठनहरुले बोर्डको कदमलाई ‘आफ्नौ माग’ भनिसकेका छन् ।

१२ वर्ष अगाडि ब्रोकर थप्ने कुरामा यस्तै खालको रोकावट र विवाद भएको थियो, तीन वर्ष लगाएर बल्ल थपियो । अहिले पनि विवाद दोहोरिएको छ । त्यसलाई पूर्णरुपमा हटाउन के गर्न सकिन्छ ?

यही हाम्रो खुला नीति नै हो । खुला नीति आएपछि हामीलाई कुनै रोकावट आउँदैन । ओपन इन्ट्रि, ओपन एक्जिट । त्यही भएर नै यो प्रणालीको तय गरेका हौं । हामीले कोटा निर्धारण गने, हाकिमको तजविजी हुने, हामीले छनौट गर्ने जस्ता कुरामा पहिलेदेखि नै अन्योलता रहँदै आएको छ । हामीले बजारलाई पुरै खुला छोड्ने हो । प्रतिष्पर्धा गर्न दिने हो । उचित वातवरण निर्माण गर्ने हो । जसले जनतालाई राम्रो सेवा प्रदान गर्छ, उसको कम्पनी विस्तार हुनुपर्यो । जसले सेवा दिन सक्दैनन् तिनीहरु कि प्रतिस्पर्धामा उत्रनु पर्यो, कि बन्द गर्नुपर्यो । कसैले छानेर वा टीका लगाएर लाइसेन्स दिने प्रथा बन्द गर्न खोजिएको हो ।

तपाईले धितोपत्र बोर्डमा आएपछि केही इन्साइडर कारोबारीहरुलाई कारबाही सुरु गर्नुभयो । तर अघिल्ला नेतृत्वले जस्तै चलखेल गरेर टुंगोमा पुग्नै नदिने अवस्था त आउँदैन ?

मिडिया, लगानीकर्ता कसैले पनि शंका गर्ने ठाउँ यसमा छैन । यो त हाम्रो प्रमुख भूमिका हो । हामीले यसलाई उचित दिशा र निष्कर्षमा पुर्याएरै छाड्छौं । यस्ता कारोबारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढी सकेको छ । संचालक समितिले उचित निर्णय गरिसकेको छ । कार्यविधि अनुसार स्पष्टीकरण सोध्ने कामहरु भईरहेको छ । तहगत अधिकृतले पनि आफ्नो काम गरिसक्नु भएको छ । बोर्डले ४५ दिनको एउटा छोटो समय पनि तोकेको छ । तोकिएको अवधिभित्रै अध्ययन सकेर कारबाही अघि बढाउँछौं । बजारमा पदको लाभ लिएर वा सिन्डिकेशनको लाभ लिएर जुन चलखेल गर्ने प्रवृत्ति भन्ने सुनिन्नछ, त्यस खालका प्रवृत्ति बन्द गर्न ढिलाई हुनेछैन ।

तपाईले धितोपत्र बोर्ड प्रविधियुक्त बनाउने भन्नु भएको थियो । तर, सर्भिलेन्स सफ्टवेयरको कुरा त सेलायो नि ?

अहिले हामीसँग जनशक्ति कम छ । हामी अलिकति घेराउमा पनि परियो । गर्न खोजेका आधारभूत पुनर्संरचनाका काम थिए, ती काम स्वाभाविक गतिमा हिड्न सकेनन् । हामी धेरै अल्झियौं । डेङ्गु लगायत महामारीले जनशक्तिमा असर गर्यो । त्यसपछि दशैं, तिहार र लगत्तै निर्वाचनले पनि प्रभाव पार्यो । यो गर्नैै पर्ने काम हो । अब हामी छिट्टै पहल गर्छौं ।

तपाईलाई नेपाल त्यसमा सरकारी संस्थामै पनि काम गर्न गाह्रो रहेछ भन्ने महशुस भएन ?

जुन उत्साहका साथ म आएको थिएँ, त्यो कम त भएको छैन । तर, यहाँ अनेक खालको चुनौती आउँदा रहेछन् । त्यसलाई सम्हाल्न सक्ने गरी बाटो कोर्नुपर्ने छ । म त्यसमा सजक छु । मेरो अबको बाँकी कार्यकालमा आफ्नो कामलाई अझै चुस्त बनाएर बढी प्रभावकारी बनाउछु, जुन चुनौति पनि छ ।

एउटा नियामक निकायमा बसेर काम गर्दा आईपर्ने चुनौतिको कारण यहाँको प्रवृत्ति हो की प्रणाली ?

हाम्रो सिस्टम धेरै जागरुक मान्छेहरु पनि हुनुहुन्छ । ट्यालेन्टेट पनि सबै छौं । तर, हाम्रा अधिकांश सार्वजनिक निकायमा, अझै निजी क्षेत्रमा पनि ‘परिणाम दिनुपर्छ’ भन्ने एउटै ध्ययमा काम गर्ने प्रबृत्ती बसिसकेको छैन । हामी कामलाई सकेन्डरी मान्छौं । हामी हाम्रा मूल्य मान्यता, राजनीतिक सम्बन्धहरु वा अन्य किसिमका सम्वन्धलाई बढी प्राथमिकता दिन्छौं । काम मात्रै हो भन्ने बुझ्न सकियो भने चाँहि हुन्छ । यद्यपि, विस्तारै धेरै सुधार पनि भएको छ । हाम्रो प्रबृत्ती नराम्रो छ भने त्यसलाई सुधार गर्ने जिम्मा पनि त हाम्रै हो ।

तपाई आएपछि सेबोनका कर्मचारीको सुविधा धेरै बढाउनुभयो । तर, कर्मचारीले नै तपाईलाई किन असहयोग गरिरहेका छन् ?

मलाई अधिकांश कर्मचारीको सहयोग प्राप्त छ । परिवारमा अलिअलि तिता मिठा कुरा हुनु त स्वाभाविक हो । मैले त्यसलाई अन्यथा लिएको छैन । अझै पनि म कर्मचारीकै हकहितमा काम गरिरहेको छु । उनीहरुको र्वत्ति विकासमा हामीजस्ता मान्छेले काम गरेपछि मात्रै भोलि राम्रो हुन्छ । यो संस्थाको जग त उहाँहरु नै हो । मैले कर्मचारी बलियो बनाए भने मात्र यो संस्था भोलि म नरहे पनि सहजरुपमा काम गर्न सक्छ । त्यस कारण कर्मचारीप्रति मेरो गुनासो छैन ।

बोर्डको अघिल्लो नेतृत्वले आर्थिक प्रभोलनमा खराब कम्पनीलाई पनि आईपीओको अनुमति दिएको थियो । यस्तो प्रवृत्तिले प्रणाली बिग्रँदैन ?

विशेष गरी आर्थिक पत्रकार साथीहरुले यसमा जोड दिनुभएको छ । मैले पनि विभागमा राम्रोसँग छलफल गरेर बलिया कम्पनीमात्र आउनुपर्छ भनेको छु । कम्पनीहरुको विवरण पत्र छन्, त्यसमा गहन अध्ययन गरेर कमजोर कम्पनीलाई अघि बढ्न दिनुहुँदैन यो एकदमै महत्वपूर्ण पक्ष हो र हामी भरपुर सजग छौं ।

पहिला बहुत चर्चामा रहेको ‘बुक बिल्डिङ’ भन्ने शब्द अचेल कहाँ पुग्यो ?

‘बुक बिल्डिङ’ हाम्रो प्राथमिकता हुँदाहुँदै पनि सही बाटो लिन सकिरहेको छैन । त्यसका लागि हामी गृहकार्य गरिरहेका छौं । हामीले नेप्सेसँग सहकार्य गरेर अघि बढ्ने हो । नेप्सेको टीमसँग पनि मैले बारम्बार कुरा गरिरहेको छु । हाम्रो पक्षबाट केही काम अघि बढी रहेका छन् । सर्भिलेन्स सफ्टवेयर प्रविधि र बुक बिल्डिङ् अब फास्ट ट्रयाकमा लग्नु पर्नेछ ।

तपाईंको १० महिने कार्यकाललाई कसरी सम्झनु हुन्छ ?

कर्मचारीको मनोबल उठाइएको छ । उचित तालिमहरुको व्यवस्था गरिएको छ । हामीले नेप्सेमा भएका प्रणालीगत केही चुनौति थिए, त्यसलाई हामीले केही हदमा निक्र्यौल गरेका छौं । चलखेलको संभावना घटाउन काम भएको छ । ब्रोकरले डेडिकेटेड टिएमएस प्रणाली लागू गर्नुपर्ने भनेर नियम पारित गर्यौं । मर्जर तथा प्राप्तिको प्रक्रियामा दुई वर्षसम्म कारोबार रोकिने अवस्थालाई अहिले बढीमा १५ दिनमा झारेका छौं । खुला ब्रोकर प्रणालीका लागि नियमावली पास भएको छ । नयाँ स्टक एक्सचेञ्जका लागि अन्तरराष्ट्रिय अभ्यास बमोजिम नै नयाँ निर्देशिका जारी भयो । एसएमई प्लेटफर्मका लागि नयाँ नियामवली बनाउने काम ६० प्रतिशत सकिएको छ । अव हामीले दक्ष प्राविधिक उत्पादनका लागि ट्रेनिङ/रिसर्च इन्स्टिच्यूट आफैंले खोल्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रका, सामाजिक क्षेत्रमा भएका ठूला कम्पनीलाई जनतामा केही स्वामित्व दिने अभियान चलाउनु पर्नेछ । यसो गर्दा सर्वसाधारणले अलि बलिया कम्पनी पाउछन् । त्यसका लागि नै हामी नयाँ खुला ब्रोकर प्रणाली र एक्सचेञ्जको तयारी गरेका छौं ।

तपाईलाई एउटा व्यापारिक समूहसँग जोडेर आलोचना गरिन्छ नि ?

त्यो त नेपालमा स्वाभाविक हो । चिनजान हुनु, सम्वन्ध जोड्नु त एउटा पक्ष होला । तर, मेरो कामले देखाउछ नि, मैले के गरिरहेको छु भनेर । म जोडिएको ५२ लाख लगानीकर्तासँग हो । मेरो अरुसँग कुनै खास सम्बन्ध छैन ।

सेयर बजार अहिले जुन किसिमले घटिरहेको छ, यो कुनै नीतिगत समस्याले गर्दा त होइन ?

बजार बढाउने, घटाउने भन्ने हाम्रो काम होइन । हामीले त बलियो बनाउने, चलखेल बिनाको स्वच्छ बनाउने, पारदर्शी बनाउने हो । त्यो दिशामा हामी काम गरिरहेका छौं । नेपाली बजार तल आएको जस्तो त लाग्छ । अन्तराष्ट्रिय दवाव पनि छ । तरलताको अभाव र ब्याजदर वृद्धिले हाम्रो देशको आफ्नै आन्तरिक दवाव पनि छ । लगानीकर्ता साथीहरु धेरै हतास हुने बेला पनि होइन । राम्रा दिन पनि आउनेवाला छन् । त्यसका लागि पनि तयारी गर्नुपर्छ ।

लगानीकर्ताको दवाव कत्तिका आउँछ ?

दवाव होइन, उहाँहरुको सुझाव आउँछन् । त्यो राम्रो कुरा हो । त्यसले हामीले बजारको सही चित्रण पहिल्याउन सघाउँछ । लगानीकर्ताले हामीलाई बारम्बार बजारका महत्पूर्ण आयमहरु, समस्याहरु सम्झाउँछन् । केके गर्दा लगानीकर्ताको हकहित संरक्षण हुन्छ, भन्ने कुरा बुझाउँछन् । त्यसलाई मनन गरेर अगाडि बढ्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्