सुधारको बाटोमा नेपाली अर्थतन्त्र, सकरात्मक बन्दै आर्थिक सूचकहरु « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

सुधारको बाटोमा नेपाली अर्थतन्त्र, सकरात्मक बन्दै आर्थिक सूचकहरु



काठमाडौं । नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । पछिल्लो सयम आर्थिक सूचकहरु सकरात्मक बन्दै गएका छन् । आयातमा गरिएको कडाइ तथा प्रतिबन्धले पनि देशको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएका हुन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजकि गरेको चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले पनि नेपाली अर्थतन्त्र सुधारतर्फ केन्द्रित देखाएका छ ।

चालु आवको मंसिर मसान्तसम्ममा रेमिट्यान्स वृद्धि, विदेशी विनिमय सञ्चिति वृद्धि, सोधानान्तर स्थिति बचत लगायतका सुचकमा सकरात्मक सुधार आएको छ ।

६ प्रतिशतले बढेर १३ खर्ब नजिक पुग्यो विदेशी विनिमय सञ्चिति

विदेशी विनिमय सञ्चिति करिब १३ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा विदेशी सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्मको तुलनामा भने विदेशी सञ्चिति ६.३ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म विदेशी सञ्चिति १२ खर्ब १५ अर्ब ८० रुपैयाँ रुपैयाँ बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति पाँच महिनामा ३ प्रतिशतले मात्र वृद्धि भएको हो । चालु आवको मंसिर मसान्तसम्ममा यस्तो सञ्चिति ९ अर्ब ८२ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । सो अवधिमा कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा भने ११ खर्ब बढी रहेको छ । राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तसम्मको तुलनामा पाँच महिनामा ७.८ प्रतिशतले बढेको हो । मंसिर मसान्तसम्म यस्तो सञ्चिति बढेर ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा भने १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने ३.८ प्रतिशतले कमी देखिएको छ । सो अवधिमा यस्तो सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । गत असार मसान्तसम्ममा भने १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७२.६ प्रतिशत र २३.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा

चालु आवको पाँच महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । सो अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स

चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ । चालु आवको मंसिर मसान्तसम्ममा रेमिमट्यान्स २३ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । चालु आवको मंसिरसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

लगातार घट्दै महंगी

चालु आवको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । पछिल्लो दुई महिनाको तुलनामा महंगी लगातर घट्न थालेको छ । गत असोज मसान्तसम्ममा ८.५० प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति कात्तिकमा ८.०८ प्रतिशतमा झरेको थियो । अघिल्लो वर्षको मंसिर महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.२९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.२९ प्रतिशतले बढेको छ ।

मंसिर महिनामा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ मंसिर महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यस्तै, मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२२ प्रतिशत रहेको थियो । मंसिरमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १३.१४प्रतिशत र ४.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.५१ प्रतिशत रहेको छ ।

आयात निर्यात क्रमशः २०.७ प्रतिशत ३४.६ प्रतिशतले घट्यो

चालु आवको पाँच महिनामा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, अलैंची, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । चालु आवको पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ६६४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ ।

कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घट्यो

चालु आवको पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई ५९७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.३ प्रतिशत रहेको थियो । सो अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५० अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९२ अर्ब ३४ करोड रुपैयाँ बराबरको भएको थियो ।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३.४ प्रतिशत र ४६.५ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत रहेको थियो ।

सो अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.१ प्रतिशत, पुँजीगत वस्तुको ९.० प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.८ प्रतिशत, १०.९ प्रतिशत र ३५.४ प्रतिशत रहेका थिए । वार्षिक विन्दुगत आधारमा मंसिर महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क १.६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ११.१ प्रतिशतले बढेको छ ।

सरकारले व्यहोर्यो १ खर्ब ८ अर्ब घाटा

चालु आवको पाँच महिनामा सरकारले १ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी घाटा ब्यहोरेको हो । पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब २६ अर्ब ८९ करोड आम्दानी गरेको छ भने ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ ।

पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ चालु खर्च (कर्मचारीको तलब र दैनिक सरकार सञ्चालनका लागि हुने खर्च) गरेको छ । यो गत वर्षको पाँच महिनाको भन्दा ११.६ प्रतिशतले बढी हो । तर, विकास निर्माणका काममा भने यो अवधिमा सरकारले जम्मा ३३ अर्ब ९९ करोड रुपैयाँमात्र खर्च गरेको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ४६ अर्ब ९६ करोड खर्च गरेको छ ।

पाँच महिनाको अवधिमा सरकारले ३ खर्ब ३६ अर्ब ८९ करोड रुपैयाँले राजस्व संकलन गरेको छ । यो गत वर्षको भन्दा २०।७ प्रतिशतले कम हो । कर राजस्वमार्फत ३ खर्ब १ अर्ब ४६ करोड आम्दानी गरेको छ भने गैह्रकर राजस्वमार्फत् २५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्