नेपालको शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो छः रमेश सिलवालको अन्तरवार्ता « Arthapath.com
२ श्रावण २०८१, बुधबार

नेपालको शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो छः रमेश सिलवालको अन्तरवार्ता



रमेशकुमार सिलवाल नेपालको शिक्षा प्रणालीमा गर्वसाथ लिइने नाम हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रहेका उनी आफ्नै नेतृत्वमा दुई लोकप्रिय कलेज सञ्चालन गरिरहेका छन् । गोल्डेन गेट इन्टरनेशनल कलेज र एड्भान्स कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टका अध्यक्ष उनै हुन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रहिसकेको उनले नेपाली विद्यार्थीलाई विश्वस्तरको शिक्षा प्रदान गर्नमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । उनै सिलवालसँग अर्थपथले वर्तमान शैक्षिक वातावरण, नेपालको शिक्षा प्रणाली र सुधारको बाटोका सेरोफेरोमा गरेको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एसईईको खस्किँदो नतिजाले नेपालको शैक्षिक स्तरमा कस्तो मानक बन्दै छ ?

एसईईको नतिजा सुखद छैन । यो वर्षको मात्र होइन, विगतका वर्षहरूको पनि नतिजा कमजोर रहँदै आएको छ । खालि प्रणालीगत रूपमा फरक भएको भएर मात्र यस्तो देखिएको हो ।

५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुन्छन् भने त्यो शिक्षालाई गतिलो शिक्षा मान्न सकिँदैन । बाँकी ४८ प्रतिशत विद्यार्थी ‘पास भएको’ भन्दा पनि ‘पास गराइएको’ हो । किनभने ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेहरू अनुत्तीर्ण नै हुन् । यसले वास्तविक नतिजा ३० प्रतिशतबाट माथि नउक्लिएको देखाउँछ ।

दुई विषय लाग्ने विद्यार्थीको संख्यालाई विश्लेषण गर्ने हो भने पनि यो नतिजा सकारात्मक छैन । नतिजालाई बागमती प्रदेशले टिकाएको छ । त्यसपछि दोस्रोमा गण्डकी छ । सुदूरपश्चिमको नतिजा एकदम कमजोर छ । दोस्रोमा लुम्बिनी र तेस्रोमा कर्णाली प्रदेश ज्यादा कमजोर देखिएका छन् । यसले प्रदेशगत रुपमा पनि सन्तुलित शैक्षिक स्तर नरहेको स्पष्ट हुन्छ ।

तर पोहोरको भन्दा ‘ए प्लस’ अर्थात् ४ जिपिए ल्याउनेको संख्या बढेको छ । ‘ए’ र ‘बि’ ल्याउनेको संख्या पनि अलिक बढेको छ । पोहोरका वर्षहरूमा १.६ जिपिए ल्याए पनि पढ्न पाउने प्रणाली थियो । यसपालि बाह्यमा २६.२५ प्रतिशत र आन्तरिकमा १० प्रतिशत ल्याउनै पर्ने छ । करीब ३६.२५ प्रतिशत ल्याए मात्र ११ पढ्न पाइन्छ । त्यसैले पनि अनुत्तीर्ण हुनेको संख्या बढी देखियो । यो सुधार्नुपर्ने छ ।

यस्तो हुनुमा को दोषी देख्नुहुन्छ ?

यसको पहिलो दोष शिक्षकलाई नै जान्छ । शून्य नतिजा कसरी आउँछ ? त्यहाँका शिक्षकले पढाएनन् । अनुगमन भएन । व्यवस्थापन कमिटीले ध्यान दिएनन् । स्थानीय तह र प्रदेशले पनि हेर्न सकेनन् । संघीय सरकारमा पनि प्रश्न उठ्छ ।

अब ‘गोहीको आँशु’ बगाउनुभन्दा यसलाई समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । सामुदायिक विद्यालयका ३५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण छन् । निजी विद्यालयहरुको पनि नतिजा खस्किएको छ ।

पहिलो शिक्षक र दोस्रोमा प्रधानाध्यापक दोषी छन् । त्यसपछि विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, स्थानीय तह र प्रदेश तथा केन्द्रीय सरकार दोषी छ । चौथोमा सरकार चलाउने निकाय र राजनीतिक पार्टीहरूले जिम्मेवारी लिनुपर्छ ।

विद्यार्थीको पढ्ने बानीमा पनि कमि आउँदै गएको हो ?

पढ्ने बानीमा कमि आएको हो । यो भनेको निरन्तर प्रक्रिया हो । एसईई आएर मात्र पढ्ने होइन । हरेक दिन, हरेक क्षण पढ्न बस्नुपर्छ । हामीले विद्यार्थीलाई पढ्ने बनाउन सकेनौँ । उपयोगी कुरा पढ्ने बनाउन सकेनौँ ।

अहिले प्रत्येक विद्यार्थीको हात हातमा मोबाइल छ । बच्चा रुँदा पनि मोबाइल दिएर फकाउने चलन छ । प्रविधिको सदुपयोग भएको छ कि छैन । यो हेरेनौँ । जसले सदुपयोग गर्यो, उसले राम्रो परिणाम निकाल्यो । जसले दुरूपयोग गर्यो, त्यसले नकारात्मक परिणाम सिर्जना गरेको छ । यो पनि एउटा कारक तत्व हो ।

हाम्रो शिक्षाको गुणस्तर साँच्चै खराब भएको हो ? एसईई, +२ र त्योभन्दा माथिल्लो तहको शैक्षिक स्तर कस्तो छ ?

पोहोरको वर्षसँग तुलना गर्ने हो भने अहिलेको एसईईको नतिजा उल्टो छ । एसईईको तुलनामा ११–१२ को नतिजा राम्रो छ । स्नातक तहको कुरा गर्ने हो भने शिक्षा शास्त्रको एकदम दयनीय ९ देखि १२ प्रतिशत छ । अहिले थोरै बढेको छ । १५ प्रतिशत पुगेको छ । अरू विषयमा पनि विषयगत हेरेर छ ।

स्नातक तहको नतिजा २७–२८ प्रतिशत छ । यसमा सन्तुष्ट हुने ठाउँ चाहिँ छैन । सबैभन्दा राम्रो नतिजा निजीको छ । दोस्रोमा सामुदायिकको छ । तेस्रोमा मात्रै आङ्गिक क्याम्पसहरूको छ । यो प्राविधिक विषय बाहेकको नतिजा हो । प्राविधिक शिक्षामामा चाहिँ आङ्गिक पहिलो छ ।

एसईईको नतिजा खस्किँदो छ । यस्तो हालतले ११–१२ मात्र सञ्चालन गरिरहेका कलेजहरूको भविष्य के होला भन्ने प्रश्न उब्जाएको छ । अब त सरकारले पनि +२ लाई हटाएर माध्यमिक विद्यालयको मान्यता दिइसकेको छ । संख्यात्मक रूपमा यस्ता कलेजको २५०–२६० वटा छन् ।

जसको विद्यालय छैन, सबैभन्दा धेरै विद्यार्थी त्यसमा छ । जम्मा ४८ सय जति छ +२ छन् । त्यसमा पनि २५० वटामा करीब ३५ प्रतिशत विद्यार्थी छन् । नतिजा पनि त्यसको राम्रो छ । मान्छेले विशेषज्ञाता खोज्यो । यस्ता कलेजमा विश्वविद्यालय पढाउने शिक्षकहरू हुन्छन् । राम्रो पढाई हुन्छ । विशेषज्ञ प्राध्यापक हुन्छन् । त्यसो हुँदा पनि विद्यार्थीको अभाव छैन ।

११–१२ लाई हामीले उच्च मावि भनेर भन्यौँ । १० कक्षासम्म विद्यालय हो । ११–१२ प्री–युनिभर्सिटी प्रोग्राम हो । यसले विश्वविद्यालयलाई विद्यालयसँग जोड्छ । २ वर्ष भए पनि यसको महत्व बढी छ । यसले विद्यार्थीलाई गन्तव्यको छनोट गर्न र भविष्य निर्धारण गर्न सघाउँछ ।

०–१२ मै जानुपर्छ भन्नु बेतुकको कुरा हो । विद्यार्थी पाएन भने बन्द हुन्छ । छनोटको अधिकार विद्यार्थी र अभिभावकलाई हुन्छ । जसले जतिसम्म पढाउन चाहन्छ, त्यति नै दिऊँ न । भोलि कहाँ जान्छ भन्ने चिन्ता लिने होइन नि । मूल कुरा राम्रो शिक्षा हुनुपर्यो । ‘कति प्रोग्राम त’ भन्ने होइन ।

यस्तो खालको शिक्षाले त विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई प्रतिस्पर्धा गर्न गाह्रो होला नि ?

अन्य देशहरूको तुलनामा नेपालको शिक्षा कमजोर छ । शिक्षाको गुणस्तरमा एशियामा तलबाट तेस्रो हो हाम्रो मुलुक । तर नेपालको राम्रो प्रडक्टहरू अन्तर्राष्ट्रिय बजारमा विकेका पनि छन् । हार्वर्ड, अक्सफोर्ड लगायतका ख्यातिप्राप्त विश्वविद्यालयमा हाम्रा विद्यार्थीहरू छन् । यहाँबाट साच्चिकै पढ्न (कमाउने दाउमा होइन) गएका छन् । उनीहरूले राम्रो परिणाम ल्याएका छन् ।

तर कतिपय विद्यार्थी पढ्ने नाममा उतैको स्थायी आवासीय अनुमति (पीआर) लिन गइरहेका छन् । त्यसको अध्ययन गर्नु जरूरी छ । कमाउन र त्यहाँको नागरिक बन्न गएकाहरूको पढाई बिग्रेको छ ।

पढ्नको निम्ति कति विद्यार्थी गएका छन् ? उनीहरू अध्ययन गरेर फर्के कि फर्केनन् ? अध्ययन पूरा गरे कि गरेनन् ? कति प्रतिशतले अध्ययन पूरा गरेछन् ? कति प्रतिशत त्यही देशमा बसेछन् ? कति प्रतिशत फिर्ता भएछन् ? सरकारले यस्तो किसिमको विवरण तयार पारोस् र अध्ययन गरोस् ।

हाम्रो सरकारलाई आफ्ना नागरिक विदेश गएपछि ‘को कहाँ छ’ भन्ने मतलब नै छैन । पैसा पठाएको छ कि छैन भन्ने मात्र सोध्छन् । जापान र कोरिया बाहेक अष्ट्रेलिया, अमेरिका र युरोप पुग्नेहरू यो देश नफर्किने गरी गएका छन् ।

पछिल्लो समय विश्वविद्यालय स्तरका कलेजमा विद्यार्थीको संख्या घट्दो छ । एयरपोर्टमा हेर्ने हो भने दिनदिनै विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । यसले त कतिपय कलेज नै खाली हुने अवस्थामा पुगेको छ । यसलाई कसरी रोक्न सकिएला ?

यसो हुनुमा आन्तरिक र बाह्य दुबै कारण छन् । आन्तरिक कारण भनेको विश्वविद्यालयको गैरजिम्मेवारीपन हो । विदेशी राष्ट्रहरूमा तालिका (सेड्युल) छ । सेड्युलअनुसार उनीहरू चल्छन् । तर हाम्रो यहाँ १८ महिनासम्म नतिजा प्रकाशन हुँदैन । त्यति हुँदा पनि गर्व गर्छौं ।

खै त उपकुलपतिहरूको नैतिकता ? हामीले क्यालेन्डर बनाएर सोहीअनुसार चल्न सकेनौँ । ४ वर्षभित्र स्तरीय शिक्षा दिन्छौँ भन्ने प्रतिबद्धता खै ? पहिले र अहिले खासै भिन्नता नै छैन । सुधार गर्नुपर्ने धेरै कुरा छन् ।

पूर्वाधार र सुविधा बढाउनुपर्यो । अनुभवी शिक्षक बढाउनुपर्यो । विद्यार्थी पढ्नको लागि कक्षा कोठासम्म आउने प्रणालीको विकास गर्नुपर्यो । नजितामुखी हुनुपर्यो । शिक्षकले जिम्मेवारी लिने प्रणाली हुनुपर्यो । पाठ्यक्रमलाई समयानुसार निरन्तर परिस्कृत गर्दै जानुपर्यो । जाँच यो आउँछ भनेर घोक्ने प्रणालीको अन्त्य हुनुपर्यो । शिक्षालाई ज्ञान, श्रम, सीप, प्रविधि, राष्ट्रियता, उद्यमी र रोजगारसँग जोड्नुपर्यो ।

अर्को कारण शिक्षामा नयाँपन आएन । शिक्षामा दलीयकरण भयो । राजनीतिकरण भयो । पार्टी–पिच्छे प्राध्यापक, कर्मचारी र विद्यार्थीको काम छैन । चाहिन्छ भने साझा मोडल बनाउनु पर्यो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कुनै अर्थ छैन । बरू विद्यार्थी काउन्सिल बनाए हुन्छ ।

यहाँ त पढ्नभन्दा नपढ्नका निम्ति विद्यार्थी नेता भएका छन् । यसले पनि पढ्ने विद्यार्थीमा निरासा सिर्जना गरेको छ । राजनीतिक पार्टी र सरकारले नेपालमा भविष्य छ भनेर विद्यार्थीलाई ऊर्जा दिन सकेनन् । प्रेरणा जगाउन सकेनन् । विश्वास दिलाउन सकेनन् । यो महान कमजोरी हो ।

गोल्डेन गेट कलेज कस्तो कलेज हो ? अभिभावक र विद्यार्थीले कस्तो कलेज रोज्ने ?

‘मेरोमा पढ, अन्त नपढ’ भन्ने भाष्य कहिले पनि हुँदैन । हामीले पढाउने पाठ्यक्रम एउटै हो । परीक्षामा आउने प्रश्न पनि उस्तै हो । फरक त केवल ‘कसरी पढाउने’ भन्ने कुरा हो ।

फरक यत्ति हो, कलेज दीर्घजीवी छ कि अर्धजीवी छ ? विद्यार्थी र अभिभावकले कलेज छान्दाकै बखत केही आधारभूत कुरा विचार गर्नु पर्छ । सञ्चालक समितिमा कोको छन्, संस्थाको उद्देश्य कस्तो छ ? भिजन के छ ? त्यो अनुसार काम गरेको छ कि छैन, त्यो हेर्नुपर्यो ।

शिक्षक अनुभवी छन् कि छैनन् ? शैक्षिक वातावरण छ कि छैन, त्यो हेर्नु पर्यो । पूर्वाधार र सुविधा छ कि छैन, त्यो हेर्नु पर्यो । ल्याब, लाइब्रेरी, कम्युटर, प्रशासन राम्रो हुनुपर्यो । खेल मैदान, बगैँचा, क्यान्टिन, यातायात हुनुपर्यो । परिणाम पनि राम्रो हुनुपर्यो ।

गोल्डेन गेट कलेज नै भनेर विद्यार्थीले किन रोज्ने ?

गोल्डेन गेट कलेज माथि उल्लेखित सबै कुरामा राम्रो छ । हामीले ११ र १२ कक्षामा विज्ञान, मानविकी र व्यवस्थापन संकाय अध्यापन गराइरहेका छौं । स्नातकमा १८ वटा र स्नाकोत्तर तहमा ७ वटा कोर्सहरू पढाइरहेका छौँ । सबै विषयलाई मध्यनजर गरेर गोल्डेन गेटबाट विद्यार्थीलाई शिक्षा प्रदान हुँदै आएको छ ।

शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि हामीले विशेष जोड दिएका छौँ । विश्वविद्यालय बनाउने हाम्रो उद्देश्य हो । त्यसकारण हाम्रो शैक्षिक गुणस्तर र पाठ्यक्रम बाहिरका गतिविधीले विद्यार्थीलाई तानिरहेको छ ।

गोल्डेन गेट कलेजलाई विश्वविद्यालय बनाउने तयारी हो ?

गोल्डेन गेटको कलेजको स्थापना कालको उद्देश्य नै यस कलेजलाई विश्वविद्यालय बनाउने हो । हामी पूर्ण रूपले तयार छौँ । तर कानुन बाधक छ ।

निजीलाई विश्वविद्यालय खोल्न नदिने प्रावधान छ । हामीलाई राज्यको लगानी चाहिँदैन, गुणस्तरीय शिक्षा दिन्छौँ भन्दा पनि राज्य मौन छ । यसलाई विश्वविद्यालय बनाउनको लागि अहिले हामी प्रयासरत छौँ । यसले विस्तारै पूर्णता पाउँछ भन्ने हाम्रो विश्वास हो ।


प्रतिक्रिया दिनुहोस्