लघुवित्त संस्था ग्रामिण क्षेत्रको आर्थिक पुनरुत्थानको दरिलो खम्बा हो : अध्यक्ष यादव « Arthapath.com
२८ आश्विन २०८१, सोमबार

लघुवित्त संस्था ग्रामिण क्षेत्रको आर्थिक पुनरुत्थानको दरिलो खम्बा हो : अध्यक्ष यादव



काठमाडौं । २०५४ साल मङ्सिरबाट लघुवित्त क्षेत्रमा पाइला टेकेका राम बहादुर यादव अहिले लघुवित्त बैंकर्स संघको नेतृत्व गरिरहेका छन् । उनले लघुवित्त क्षेत्रमा झन्डै ३ दशक अर्थात् २७ वर्ष योगदान गरिसकेका छन् । निर्धन उत्थान लघुवित्तबाट करियर सुरू गरेका यादब अहिले नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा कार्यरत छन् । लघुवित्त क्षेत्रको लामो अनुभव बटुलिसकेका उनै यादवसँग लघुवित्त क्षेत्रले भोग्नु परेको समस्या, लघुवित्तको महत्व र लघुवित्त क्षेत्रको बारेमा रहेर अर्थपथ डटकमले गरेको कुराकानीको सम्पादित अंश :

केही समय अघिसम्म समस्यामा परेका लघुवित्तहरूको अहिलेको अवस्था कस्तो छ ? सामान्य बनिसक्यो अथवा अप्ठ्याराहरू अझै बाँकी छन् ?

अहिले लघुवित्तको समस्या क्रमश: समाधान हुँदै गइरहेका छन् । अहिले अवस्था सामान्य बन्दै गइरहेको छ । राज्यस्तरबाटै सुरक्षा हुन थालेको अवस्था छ । अझै पनि केही व्यक्तिहरू मान्छेलाई भड्काइरहेका छन् । त्यस्ता व्यक्तिहरू आफ्नो व्यक्तिगत स्वार्थ र आर्थिक लाभका लागि हिडीरहेका छन् । यस्ता व्यक्तिहरूलाई कानुनी दयारामा ल्याउनुपर्छ ।

लघुवित्तमा पुरानो ऋण नउठ्ने समस्या देखिएको थियो । अहिले अवस्था कतिको सहज बनेको छ ?

कर्जा नउठ्नुको २/३ वटा कारण छन् । देशमा आर्थिक मन्दी छ । जसले गर्दा ऋणीले पैसा तिर्न सकेका छैनन् । अहिले पनि आर्थिक मन्दीबाट बाहिर आइसकेको अवस्था छैन । जुन गतिमा अर्थतन्त्र चलायमान हुनुपर्ने हो, त्यो हुन सकेको छैन । व्यवसायहरू राम्रो सँग चलन सकेको छैन । अर्थतन्त्र सामान्य अवस्थामा नफर्कीदासम्म असुलीको समस्या रहन्छ । अहिले उद्योगजरू नै पूर्ण रुमा सञ्चालन हुन सकेका छैनन् । रोजगारीमा कटौती छ । लघुवित्तको ग्राहक भनेको स-साना काम गर्ने, साना व्यवसायी तथा उद्यमीहरू हुन्छन् । आर्थिक मन्दीका कारण ऋणीहरू ऋण तिर्न सक्ने अवस्थामा छैनन् ।

अर्को कुरा ग्राहकहरूलाई ऋण तिर्नु पर्दैन भनेर भड्काएको अवस्था छ । यी र यस्ता कुराहरूले असुलीमा समस्या पारेको छ । तर विगतको तुलनामा थोरै सुधार भएको अवस्था छ । धेरै मान्छेले बुझिसकेका छन्, कर्जा मिनाहा हुने अवस्था छैन भनेर । उनीहरू आन्दोलन छाडेर आ-आफ्नो व्यवसाय र काममा फर्किसकेका छन् ।

अहिले राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत पुनरतालिकीकरणको समय दिएको छ । यो कुराहरूले गर्दा आउँदो दिनमा असुलीलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा छ । देशको अर्थतन्त्र पनि विगतभन्दा चलायमान होला । राम्रो हुँदै गइरहेको छ । हामी आशावादी पनि छौं । रिकभरी बढ्दै जानेमा विश्वत छौं ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्त र ऋणी दुवैलाई सहुलियत हुने गरी मौद्रिक नीति ल्याएको छ । यसमार्फत लघुवित्त संस्थाहरूको सबै माग समेटिएको छ ?

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले धेरै कुरा समेटेको छ । विगतको तुलनामा धेरै राम्रो मौद्रिक नीति आएको छ । मौद्रिक नीति ग्राहक र संस्था दुवैको लागि सकारात्मक बनेको छ । हामीले नेपाल लघुवित्त बैंकर्स संघबाट राखेको धेरै सुझाव समेटिएका छन् । ग्राहकहरूको तर्फबाट हेर्ने हो भने समय समायोजनका कुराहरू आएका छन् । सेवाशुल्कका कुराहरू पनि आएको छ । सेवाशुल्क घटेको अवस्था छ । ग्राहकको गुनासो सुनुवाईका कुराहरू पनि आएको छ ।

अरू धेरै कुरा समेटिएको अवस्था छ । केही कुराहरू छन् । जस्तो लघुवित्तहरू कर्जाको पहुँचको लागि बैंक धाउनुपर्ने अवस्था छ । वाणिज्य बैंकहरूले पैसा दियो चल्ने नत्र नचल्ने अवस्था छ । केही मापदण्ड बनाएर त्यो मापदण्ड पूरा गरेका लघुवित्त पब्लिक डिपोजिटको केही अंश अथवा ५ लाख रुपैयाँ बचतको रूपमा आउने अवस्था छ । त्यो मापदण्ड पुरा गरेका लघुवित्त संस्थाहरूलाई त्यो रकम चलाउन दिए हुन्थ्यो भन्ने माग हो । गाउँघरमा छरिएका पैसा बैकिङ सिस्टमभित्र ल्याउन पाए हुन्थ्यो । अहिले पनि गाउँघरका मान्छेहरूले घरमै पैसा राख्छ । पाँच लाखभन्दा माथि नजाने गरी त्यो भन्दा तल भए राम्रो हुन्थ्यो भन्ने हो ।

लघुवित्तको ब्याजदर महँगो भयो भन्ने गुनासाहरू पनि यदाकदा आउने गरेका छन् । कर्जामा लाग्ने सेवाशुल्क पनि घटेको अवस्था छ । ब्याजदरमा १५ प्रतिशतको क्याप लगाइएको अवस्था छ । सीमा संशोधन गर्नुपर्ने हो अथवा खारेज गर्नुपर्ला ?

क्याप त हट्नुपर्छ । ब्याजदर निर्धारण बजारले गर्ने हो । ब्याजदरमा वैज्ञानिकीकरण हुनुपर्यो । ब्याजदर बढ्दा बढ्ने र घट्दा घट्ने हुनुपर्यो ।ब्याजदर महँगो भए महँगो र सस्तो भए सस्तो गर्न पाउनुपर्यो । मौद्रिक नीतिले पनि यसलाई संशोधन गर्ने भनेको अवस्था छ । एकीकृत निर्देशन पनि आउला । त्यो हेर्न बाँकी छ । छिटै क्याप हटोस् भन्ने हाम्रो माग हो । हैन भने आधार दरमा कति प्रिमियम लिन पाउने त्यो हिसाबले तोक्नुपर्यो ।

अहिले शहरी क्षेत्रमा बसाइ सर्ने क्रम बढिरहेको छ । गाउँ गाउँमा पुँजी परिचालनका गर्ने परिकल्पनासहित आएको लघुवित्तलाई यसले कस्तो असर पारेको छ ?

पहिलो कुरा त मान्छे गाउँ किन आइरहेको छ त्यो बुझ्नुपर्यो । त्यहाँ रोजगारीको अवस्था छैन । व्यवसाय गर्न सक्ने र वृद्धि गर्न सक्ने वातावरण पनि छैन । बजारीकरणको अवस्था राम्रो छैन । पछिल्लो समय पूर्वाधारको विकास हुँदै गइरहेको छ । अहिले पनि गर्न बाँकी काम त धेरै छ । तर पूर्वाधार विकासका धेरै काम बाँकी छन् ।  स्वास्थ्य, शिक्षादेखि रोजगारीका कुरामा सहज भयो भने मान्छे गाउँबाट शहर आउँदैनन् । यसको लागि लघुवित्त क्षेत्र हातेमालो गर्न तयार छ । लघुवित्तमा ६० लाख घरधुरी आवद्ध छ । त्यो आधारलाई सरकारले महत्व दिएर व्यवसायीकरण गर्नको लागि, उद्यमशीलता विकासका लागि लघुवित्तसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने हो ।

गाउँमै सबै सुविधा दिने हो भने यसले सबैको लागि राम्रो हुन्छ ।  हामी कृषि आधुनिकीकरणका कुरा गरिरहेका हुन्छौं । तर बजारीकरणको अभाव छ । लघुवित्त संस्थाहरू ५ खर्ब रुपैयाँ लगानी गरेको अवस्था छ । जसको ७५ प्रतिशत लगानी कृषिमा छ । लगभग ३ खर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी छ । साना किसानले रिबेट पाउँदैन तर कमर्सियल बैंकका ग्राहकले छुट पाइरहेका हुन्छन् । कमर्सियल बैंकबाट कृषि करोड करोडको कर्जा लियो भने छुट पाउँछ । ५० हजार, एक लाख दुई लाख लिनेले छुट पाउँदैन । कृषि र साना किसानलाई व्यावसायिकीकरण गर्नु छ भने लघुवित्तमार्फत यस्ता कार्यक्रम गर्नुपर्यो ।

उत्पादन, बजारीकरणदेखि भण्डारण सम्मको सुविधा हुनुपर्छ । बल्ल ग्रामिण क्षेत्रमा हामीले चाहेजस्तो विकास हुन्छ । यो कुराहरू लघुवित्त मार्फत सम्भव छ ।

अहिले नयाँ कर्जा परिचालनको अवस्था कस्तो छ ?

समग्रमा हेर्ने हो भने लघुवित्त क्षेत्रमा अहिले ६८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । यो भनेको पब्लिक सेक्टरको पैसा हो । अर्को कुरा २ अर्ब ३० अर्ब रुपैयाँ वाणिज्य बैंकहरूबाट आएको छ । अहिलेको अवस्थामा तरलताको अवस्था सहज छ । पुँजी परिचालन अवस्था गाह्रो छैन । बैंक तथा वित्तीय संस्थाबाट सहज हिसाबले पैसा पाइरहेका छौं । ब्याजदर पनि कम भइरहेको छ ।

तर अहिलेजस्तो सहज अवस्था सधैं रहन्छ भन्ने हुँदैन । हामीले विगतलाई सम्झिउ अवस्था कस्तो थियो । ब्याजदर महँगो थियो । हामीले १५ मा लगानी गर्नेपर्ने अवस्था थियो । १३/१४ प्रतिशत ब्याजमा लिएर व्यवसाय गर्न कति गाह्रो थियो लघुवित्तलाई ।

हिजोको पाठ सिकेर दिगो हिसाबले जानुपर्ने अवस्था छ । निरन्तररूपमा अगाडी बढ्नको लागि पब्लिक डिपोजिटका कुराहरू छन् । ब्याजदर क्यापका कुराहरू, वाणिज्य बैंकबाट पाँच प्रतिशत व्यापार सेक्टरमा लगानी गर्नुपर्ने कुराहरू छन् । त्यो लघुवित्त क्षेत्रभित्रै आउनुपर्यो । पाँचप्रतिशतभन्दा माथि जति नि लगानी गर्न पायो तर पाँच प्रतिशत कम्तिमा लघुवित्तभित्रै आउनुपर्यो । पहिला व्यवस्था थियो त । अहिले खै त ? यो भनेको लघुवित्तले स्रोत पाओस् भनेर हो नि । अहिले त्यो स्रोतलाई विविधिकरण गरेको अवस्था छ ।

एउटा लघुवित्त कोष खडा गर्दियोस् भन्ने हाम्रो माग हो । सरकारले बजेटमार्फत त्यहाँ पैसा राखिदियोस् । अन्तर्राष्ट्रिय निकायबाट फण्ड आओस् । लघुवित्त कोषको भोल्यूम ठूलो मात्रामा बनाएर सरकारले ३ प्रतिशतमा दिएर ६ प्रतिशत मार्जिनमा लगानी गर भन्ने हो भने सहज हुन्थ्यो नि । यसले ग्राहक र संस्था दुवैलाई सहज हुन्थ्यो । लघुवित्तलाई राम्रोस्नाग परिचालन गर्न सक्यौंभने मात्र वित्तीय स्रोत परिचालनमा सहज हुन्छ ।

अहिले लघुवित्तको भूमिकामा पनि यदाकदा शंका पैदा भइरहेको अवस्था छ । कतिपयले यसको महत्व र भूमिका नै बुझेका छैनन् । लघुवित्तले खेलेको भूमिकाबारे पनि थोरै प्रष्ट्याइदिनुस् न ।

ग्रामिण क्षेत्रलाई कायापलट बनाउन सक्ने भूमिका लघुवित्तले खेल्न सक्छ । ग्रामिण क्षेत्रमा उद्यमशीलता विकासका लागि, रोजगारी सिर्जना गर्नका लागि, देश बाहिर रहेका मान्छेलाई गाउँमै फर्काउनको लागि र गाउँमै व्यवसाय गर्नका लागि ठूलो काम गर्न सक्छ । त्यसको लागि सरकारको सपोर्ट चाहियो । सरकारले पनि लघुवित्तको महत्वलाई बुझ्नुपर्छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । यसले ग्रामिण क्षेत्रको पुनरुत्थानमा खम्बकै काम गर्न सक्छ । वित्तीय पहुँच अभिवृद्धिको लागि उत्तिकै भूमिका खेलेको छ । महिला सशक्तीकरणलाई अभिवृद्धि गर्नका लागि पनि लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको छ । ग्रामिण क्षेत्रमा रोजगारी वृद्धि गरेको छ । २२ हजार मान्छेले त प्रत्यक्ष रोजगारी नै पाएको छ । २७ लाख मान्छेले कर्जा लिएको अवस्था छ । जसमध्ये ९६ प्रतिशत महिलाहरू छन् । वित्तीय पहुँच अभिवृद्धि, गरीबी न्यूनीकरणमा पनि भूमिका खेलेको छ ।

अहिले नेशनल लघुवित्तको नेतृत्व पनि गरिरहनु भएको छ । यसको सुरुवात कसरी भयो ? के कस्ता कम गरिरहेको छ ?

नेशनल लघुवित्तको मुख्य प्रोमोटर एनआईएमबिएल, कुमारी बैंक, नबिल बैंकसहित ११ वटा बैंक वित्तीय संस्था छन् । ३० जना संस्थापक सेयरधनीको रूपमा आवद्ध छन् । २०७१ असार १८ गते यसको सुरुवात भएको हो । सुरूदेखि नै मैले नै नेतृत्व गरिरहेको छु । अहिले हामी एघारौं वर्षमा छौं । ७३ जिल्लामा हाम्रो पहुँच पुगेको अवस्था छ । १८५ वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेका छौं । जसमध्ये २ लाख ३० हजार ग्राहक जोडिएका छन् । एक लाख ३५ हजार जनालाई कर्जा प्रवाह गरेका छौं ।

हामीले २२ अर्ब कर्जा प्रवाह गरिसकेका छौं । ग्राहकहरूबाटै ६ अर्ब बचत परिचालन गरेका छौं । सुरुवातदेखि नै नेशनलले लघुवित्तको आधारभूत मूल्य मान्यतालाई आधार बनाएर अगाडी बढेको छ । ७ करोड चुक्ता पुँजीबाट सुरू भएको कम्पनी १ अर्ब ३० करोडभन्दा माथि गइसकेको छ । हाम्रो ३ अर्ब त इक्वीटी नै भइसकेको अवस्था छ । हामीले राम्रो नाफा मात्र कमाएका छैनौं । प्रतिफल पनि दिइरहेका छौं । ग्राहकहरूलाई पनि विभिन्न सेवा प्रदान गरिरहेका छौं ।

 १० वर्षमा ३ वटा संस्थालाई मर्ज गरेका छौं । महिला सहयात्रा, सजिलो लघुवित्त र समिट लघुवित्तलाई मर्ज गरिसकेका छौं । हामी एकदम दिगो रुपमा अघि बढेका छौं ।


प्रतिक्रिया दिनुहोस्