लघुवित्तलाई पुरानो ऋण उठाउन अहिले पनि चुनौती छ : सीईओ लम्साल « Arthapath.com
२९ आश्विन २०८१, मंगलवार

लघुवित्तलाई पुरानो ऋण उठाउन अहिले पनि चुनौती छ : सीईओ लम्साल



काठमाडौं । केही समय अघिसम्म लघुवित्त क्षेत्र चौतर्फी घेरामा पर्यो । सडकदेखि सदनसम्म लघुवित्तलाई लुटेरा जस्तो व्यवहार भयो । लघुवित्त क्षेत्रले कल्पना समेत नगरेको चुनौतीको सामना गर्नुपर्यो । अहिले लघुवित्त क्षेत्र विस्तारै लयमा फर्किएको छ । विकराल अवस्थाबाट फर्किएको लघुवित्तको अहिलेको अवस्था कस्तो छ । लघुवित्तको समग्र क्षेत्रको विषयमा केन्द्रीत रहेर लघुवित्त क्षेत्रका ज्ञाता विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ सम्पादित अंश ः

केही समय अघिसम्म चौतर्फी आक्रमणमा परेका लघुवित्तहरूको अवस्था अहिले कस्तो छ ?

केही कुराहरू सहज बनेको छ । पहिला सुरक्षामा नै चुनौती थियो । मानिसहरूले लघुवित्तको बारेमा विरोध गर्ने, धम्क्याउने, कार्यालयमाथि नै आक्रमण गर्ने जस्ता घटनाहरू धेरै भए । यी कुराहरू अहिले परिवर्तन भएको छ । अस्ति भर्खर भदौको ११ गते एउटा घटना भयो । सुरक्षा निकायबाट राम्रो ‘रेस्पोस’ भयो । त्यसपछि भने नकारात्मक घटना भएका छैनन् । अहिले अवस्था अलिक सहज भएको छ । अन्य कुराहरू पनि सामान्य बन्दै गइरहेका छन् । सुरक्षासँग सम्बन्धित समस्या चाहिँ सुधारिएको छ ।

पुरानो ऋण नउठ्दा लघुवित्तमा ठूलो समस्या देखिएको थियो । अहिले अवस्था सहज छ ?

‘रिकभरी’को अन्य केसमा आर्थिक कारोबारहरू त्यति बढ्न सकेको छैन । अहिले आर्थिक मन्दीले गर्दा बैंक तथा वित्तीय क्षेत्रमा यो समस्या देखिएको छ । पैसा नभएको कारण किस्ता तिर्न नसकेको अवस्था अहिले पनि छ । ऋण उठाउन अहिले पनि चुनौती नै छ ।

राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत सहुलियत दिएको छ । ग्राहक र संस्था दुवैलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति आएको छ । यसले कतिको सहजता सिर्जना गरेको छ ? लघुवित्तको अपेक्षा समेटिएको छ ?

खास गरी हामीलाई त त्यति सहज छैन । संस्थाहरूमा ‘प्रोभिजनिङ’को अलिकति घटाएको हो । ग्राहकहरूलाई समय देउ भन्ने कुरा गरेको छ । त्यसले सजिलो बनाउँछ । अब अहिले धेरै नै कार्यन्वयन भएको छैन । पुस महिनासम्म तिर्न नसकेको मान्छेहरूलाई समय दिनु भनेर राष्ट्र बैंकले निर्देशन गरेको छ । अहिले हामीसँग समय पनि छ । जुन ग्राहकलाई समय चाहिन्छ, उसलाई समय दिँदा संस्थालाई पनि फाइदा नै हुन्छ । किनभने निष्क्रिय कर्जा (एनपिएल) ‘चेन्ज’ गर्न सजिलो हुने भयो । ग्राहकलाई पनि केही राहत मिलेको छ । केही कुराहरू हाम्रो काम गर्ने तौरतरिका पनि सुधार गर्न भनेको छ । राष्ट्र बैंकले त्यो सुधार हुँदै गइरहेका पनि छन् ।

ग्राहकहरूलाई समय दिने कुरा गरेका थियौं हामीले । एकै ग्राहकले २÷३ जना संस्थाबाट कर्जा लिन पाउने भनेका थियौं । अहिले २ वटा संस्थाबाट लिन पाउने बनाएको छ । लोन र प्रोभिजनिङ अलि कम गर्ने भनेर दिएको छ । ‘सर्भिस चाजर्’ हिजोभन्दा घटेको छ । अहिले केही राम्रा कुराहरू आएको छ ।

सबैले पाठ सिकेका छन् । राष्ट्र बैंकको हिजोको नीतिले हामीलाई अप्ठ्यारो परिरहेकै थियो । अहिले त्यसमा पनि लचिलो हुँदै गइरहेको छ । विस्तारै सबै कुरा सकारात्मक हुँदै गइरहेको छ ।

हामीले सोचेअनुरुप नभएको भनेको आर्थिक कारोबार मात्रै हो । किनभने आर्थिक अवस्था चलायमान भएको छैन । बैंक वित्तीय संस्थाहरूको लगानी बढेको छैन । व्यापारिक क्रियाकलापहरूमा सुधार आउन सकेको छैन । समग्रमा आर्थिक सुधार देखिएको छैन । नत्र भने अरू कुराहरू सकारात्मक नै छन् ।

ब्याजदर सीमा संशोधन गर्ने कि खारेज गरेर आधारदर लागु गर्ने ? भन्ने बहस पनि हुन थालेको छ । यस विषयमा तपाईको राय के छ ?

हाम्रो खर्चको आधारमा लगानी गर्ने ब्याजदर निर्धारण गर्न पाउनुपर्यो भनेर भनिरहेका छौं । ब्याजदर बैज्ञानिक होस् भनेका छौं । १५ प्रतिशतमा क्याप नलगाइयोस् भनिरहेका छौं । जस्तो १२ प्रतिशतमा लगानी गर्न पनि तयार छौं बरू । तर हाम्रो जति खर्च हुन्छ त्यो अनुसार लगानी गर्ने प्रावधान आधारदरको हिसाबले लगाइदिनुपर्यो भनिरहेका छौं । यो भनेको आजको माग होइन । पाँच÷सात वर्षदेखि नै भनिरहेका छौं । आधारदरमा केही प्रिमियम थपेर लगानी गर्न पाउनुपर्यो । आधारदर कहिले बढी हुन्छ कहिले घटी हुन्छ । सोही अनुसार घटबढ गर्न पाउनुपर्यो भन्ने हाम्रो माग हो । त्यसो हुँदा कसैलाई पनि धेरै मर्का पर्दैन ।

अहिले शहरी क्षेत्रमा बसाई सर्ने क्रम बढ्दो छ । गाउँ गाउँमा पुँजी परिचालनका लागि जन्मिएको लघुवित्तको व्यवसायमा यसको कस्तो प्रभाव परेको छ ? अहिले त वाणिज्य बैंकहरू पनि सबै स्थानीय तहमा पुगिसकेको छ । यसले लघुवित्तलाई कत्तिको असर पारेको छ ?

यसले खास ठूलो असर पारेको छैन । किनभने नेपालको अर्थतन्त्रमा लघुवित्तको भूमिका हेर्नुपर्ने हुन्छ । ठूलो स्थानीय निकायमा एउटा बैंक पुग्दैमा सबैजना बैंकिङ्ग पहुँचमा पुगेका हुँदैनन् । हाम्रो स्थानीय तहहरूको केन्द्रमा ३ दिनसम्म हिडेर पुग्नुपर्ने पनि छन् । अहिलेसम्म बैंकहरूले दिएको ऋणीको संख्या १८ लाख हो । यो ‘क’, ‘ख’, ‘ग’ को ऋणीको संख्या हो । तर लघुवित्तको ऋणीको संख्या २७ लाख छ । लघुवित्तले जसरी समेटेको छ त्यहाँ बैंक पुगेका छैनन् । त्यसमा हामी स्पष्ट हुनुपर्छ । एक ठाउँमा वा स्थानीय तहको केन्द्रमा एउटा अफिस पुगेर मात्र हुँदैन ।

लघुवित्तले सबैलाई समेटेको छ भन्नुहुन्छ । दूरदराजमा पनि लघुवित्त पुग्न सकेको छ ?

सबै जिल्लामा लघुवित्त पुगेको छ । त्यसमा हाम्रो लघुवित्त मात्र भन्दा पनि सरकारको नीति, नेपाल राष्ट्र बैंकको नीति पनि हुनुपर्छ । १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनौ भन्ने अनि डोल्पामा गएर कसले काम गर्छ ? लागत पनि हेर्नुपर्यो नि । एक सय लगानी गर्दा १० रुपैयाँ खर्च हुन्छ । त्यस्तो महंगीमा गएर कर्मचारी पाल्नुपर्यो । व्यवसाय धेरै हुँदैन । संस्था पनि चल्नुपर्यो नि । प्राइभेट सेक्टर होइन – कसैले प्रायोरिटी दिएको छ र ? लगानी गरेर केहि नाफा पनि गर्नुपर्यो । लगानीकर्तालाई पनि प्रतिफल दिनु पर्यो नि । दुर्गममा गएर लगानी गर भन्ने तर तर केही पनि सुविधा दिएको छैन । ठाउँ अनुसार ब्याजदर निर्धारण गर्दिए हुन्थ्यो नि । चितवन र डोल्पामा लिने ब्याज फरक गर्दिए हुन्थ्यो । मोरङ र डोल्पामा गर्ने लगानी फरक हुनुपर्छ । सरकारले नै सहजीकरण गरिदिनु पर्छ । नीतिगत रूपमा नै आउनुपर्छ । एउटा सानो संस्थाले म डोल्पा, हुम्ला, मुगु जान्छु मात्र भनेर हुँदैन । संस्था पनि चल्नुपर्छ । लघुवित्त संस्थाहरूले आफैंले विवेक लगाएर गाउँ गाउँ जाने भन्ने चाहिँ हुँदैन । बाध्यात्मक रूपमा गाउँमै जानुपर्छ भन्ने होइन ।

स–साना पुँजी भएकालाई समेट्ने भएर गाउँ गाउँ भनिएको हो । बुझाइ र व्यवहार अलग भयो । लघुवित्त गाउँमा जानुपर्छ भन्ने अनि नीतिले चाहिँ सपोर्ट नगर्ने गरेर भएन नि । वाणिज्य बैंकहरूलाई पनि नीतिगत रूपमा नै सबै स्थानीय तहमा अनिवार्य पुग्न निर्देशन दिइएको थियो र त आज पुगे । नत्र को पुग्थे ? लघुवित्तलाई पनि त्यसै गर्नुपर्यो । स्थानीय तहमा पुग्ने वाणिज्य बैंकहरूलाई स्थानीय तहको डिपोजिट राख्न पाउने सुविधा समेत दिइएको थियो । सुविधा दिनुपर्यो नि । नीतिगत कुराले सुविधा दिनुपर्यो ।

अब लघुवित्तलाई पनि वित्तीय पहुँच नपुगेको ठाउँमा जाऊ सुविधा दिन्छु भन्नुपर्यो नि । संस्थालाई भन्दा पनि संस्था चल्ने वातावरण बन्नुपर्यो । १८ वर्षदेखि एउटै नीतिबाट लघुवित्त चलेको अवस्था छ । अहिले केही सुधार हुँदै छ । बिस्तारै सुधार हुँदै जाला ।

विजय लघुवित्तको परिकल्पना कस्तो थियो ? अहिले कसरी काम गरिरहेको छ ?

विजय लघुवित्त पनि अन्य लघुवित्त जस्तै हो । यो करीब १२ वर्ष अगाडि सुरू भनेको हो । म यस संस्थाको संस्थापक अध्यक्ष पनि हुँ । म लामो समय विकास क्षेत्रमा काम गरे । झन्डै २२ वर्ष विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरे । विदेशमा नै करीब १० वर्ष काम गरे । त्यहि अनुभवले लघुवित्त पनि विकास क्षेत्रमा जोडिन्छ भनेर सुरुवात गरेको हो । पहिलेदेखि नै विजय लघुवित्तले फरक तरीकाले काम गरिरहेको छ ।

ठूला भनिएका लघुवित्तले २२÷२२ प्रतिशत ब्याज लिँदा पनि विजयले १८ प्रतिशत मात्र लिएको थियो । हामीले नीतिहरू पनि असाध्यै सजिलो बनाएका थियौं । संस्थाले कति नाफा कमायो मात्र हेरिन्छ । उसले गरेका राम्रो कामहरू खासै नोटिस गरिँदैन । तर हामील फरक गरिरहेकै छौं । अहिले परिस्तिथि नै अठ्यारो बन्दा केही असहज भएको छ । सोचे अनुरुप काम गर्न सकिएको छैन ।

तर हामी अझै पनि राम्रो गर्ने कोसिसमा छौं । हामीले हाम्रो मिसनलाई अगाडी बढाएका पनि छौं । यो धमिलिएको परिस्थिति फेरी संग्लिदै जान्छ होला । विजय लघुवित्तले ठिकै गरिरहेको छ ।

पुँजी परिचालनका क्षेत्रहरू के के छन् ? कसरी लगानीका दयारा बढाइरहनु भएको छ ?

लघुवित्तहरूको पुँजी परिचालनको मूख्य स्रोत बैंक तथा वित्तीय संस्थाबाट ल्याउने बिपन्न बर्ग कर्जा र सदस्यहरूबाट जम्मा गरिएको बचत नै हो । लगानीको क्षेत्र त समग्र लघुवित्त संस्थाहरूले जे गर्छन् त्यहिँ नै हो । फरक खालको त त्यस्तो केही छैन । फरक खालको प्राक्टिस केही गर्न पनि खोज्यौं । तर कृषिमा हाम्रो प्राथमिकता छ । व्यापार र उत्पादनसँग सम्बन्धित कुराहरूमा नै लगानी गरिरहेका छौं । विजय लघुवित्तले ग्रीन इन्टरप्राइजेज भनेर पनि गरेको थियो । डिपोजिट, क्रेडिट प्रडक्ट र रिसोर्स मोबिलाइजेसनको कुरा चाहिँ समग्रमा लघुवित्त संस्थाहरूले गर्ने नै भए । स्रोत चाहिँ बाहिरबाट ल्याउन निकै प्रयास गरे । अन्तर्राष्ट्रिय फोरमहरूमा पनि गए तर सम्भावना नहुने रहेछ । हामीजस्ता साना लघुवित्तहरूलाई अन्तर्राष्ट्रिय फण्ड ल्याउन गाह्रो हुने रहेछ ।

लघुवित्त संस्थाहरू बीचको अस्वस्थ प्रतिस्पर्धा अलि घटेको हो ?

अलिक कम चाहिँ भएको छ । तर पूर्ण रूपमा भइसकेको छैन । अझै पनि छ कहिँ कतै । कम्प्लाइन्सको कुरा गर्दा यस्तो गरौँ भनेर गरेको पनि देखिन्छ कहिकतै । त्यो राम्रो होइन । तर सुधार धेरै भएको छ अहिले ।

विजय लघुवित्तको आगामी रणनीति के–के छ ?

फरक त केही छैन । सदस्यहरूलाई अलिकति समय दिएर रिकभरी कै कुरामा लाग्नुपर्नेछ । पोर्टफोलियोको क्वालिटी कसरी बढाउने भन्ने नै हो । कर्मचारीहरू क्षमता कसरी अभिवृद्धि गर्ने भन्ने नै हो । उनीहरूलाई ग्राहकसँग कसरी मित्रवत व्यवहार गर्न सिकाउने भन्ने नै हो । तालिमहरू दिइरहेका छौं । पछिल्लो समय कर्मचारीले राम्रो व्यवहार गरेन भन्ने रिपोर्ट नै आयो नि त । त्यो हुँदा यो कुरामा ध्यान दिएका छौं । सदस्यहरूसँग सम्पर्क बढाइरहेका छौं । समय पनि दिइरहेका छौं । तत्कालको प्राथमिकता भनेको ऋणको गुणस्तर सुधार नै हो ।


प्रतिक्रिया दिनुहोस्