लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने गरी कम्पनीलाई ‘ग्रोथ’ गर्छौं : सीईओ न्यौपाने
कृष्ण प्रसाद न्यौपाने लघुवित्त क्षेत्रमा परिचित नाम हो । करीब ३ दशकदेखि लघुवित्त क्षेत्रमा आवद्ध छन् । लघुवित्त क्षेत्रमा २०५३ वैशाखदेखि आवद्ध उनले सहायक तहबाट नै करिअर सुरू गरेका हुन् । स्वावलम्बन लघुवित्तबाट काम सुरु गरेका उनले १८ वर्षसम्म सोही संस्थामा विभिन्न तहमा रहेर आफूले निखार्ने मौका पाए । यस दौरानमा नेपालका धेरै जिल्लाहरूमा पुगेका उनले लघुवित्त क्षेत्र र यसको महत्वलाई नजिकबाट चिनेका छन् ।
न्यौपाने अहिले महिला लघुवित्तको नेतृत्व गरिरहेका छन् । वित्तीय मध्यस्थताको रूपमा काम गर्दै आईरहेको महिला अधिकार तथा विकास केन्द्रलाई महिला लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन गरिएको महिला लघुवित्तले छोटो समयमा नै आफूलाई अब्बल बनाउन सफल भएको छ । महिला लघुवित्तका सीईओ न्यौपानेसँग लघुवित्त क्षेत्रमा रहेर गरिएको कुराकानीको सम्पादित अंशः–
महिला लघुवित्तको स्थापना कसरी भयो ? थोरै यसको परिकल्पनाको बारेमा प्रष्ट्याइदिनुस् न ।
म महिला लघुवित्तमा सुरुवाती चरणदेखि निया आवद्ध छु । सुरुमा वित्तीय मध्यस्थताको काम गर्ने गैरसरकारी संस्था महिला अधिकार तथा विकास केन्द्र थियो । यसले केही क्षेत्रमा वित्तीय मध्यस्तताको काम गर्दै आइरहेको थियो । यसले वित्तीय सेवाको सरल पहुँच नभएका तथा कम आय भएका विपन्न वर्गका परिवारका लक्षित महिलाहरूलाई आय मुलक कार्यमा संलग्न गराउन लघुवित्त सेवा उपलब्ध गराउँदै आइरहेको थियो । पछि यसैलाई महिला लघुवित्तको रूपमा सञ्चालन गरिएको हो ।
महिला लघुवित्त वित्तीय संस्था लि. कम्पनी ऐन अन्तर्गत २०७५ साल जेष्ठ २४ गते नेपाल सरकार कम्पनी रजिष्टारको कार्यालय काठमाडौंमा दर्ता भएको एक राष्ट्रिय स्तरको “घ” बर्गको लघुवित्त वित्तीय संस्था हो । यसका संस्थापकहरुमा महिला अधिकार तथा विकास केन्द्र, माच्छापुच्छे बैंक लि. र १८ जना लघुवित्त क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु रहेका छन् । वित्तीय संस्थाले मिति २०७५ कात्तिक १ गतेबाट विधिवत रुपमा कारोवार शुरु गरेको हो।
गरीबीको रेखा मुनी रहेका परिवारहरुलाई गरीवी मुक्त समृद्ध समाज स्थापना गर्ने, गरीब तथा विपन्न वर्गको आर्थिक र सामाजिक स्थितिमा सुधार ल्याउन वित्तीय कारोवारको माध्यमबाट सक्षम, दिगो आत्मनिर्भर परिवार, समाज र राष्ट्रको निर्माण गर्ने यसको मुख्य परिकल्पना हो ।
महिला अधिकार तथा विकास केन्द्र, माच्छापुच्छे बैंक लि. र १८ जना लघुवित्त क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु रहेका छन् । वित्तीय संस्थाले मिति २०७५ कात्तिक १ गतेबाट विधिवत रुपमा कारोवार शुरु गरेको हो।
राष्ट्र बैंकको स्वीकृति पाएपछि कार्यक्रम विस्तार गर्दै गयौं धेरै जिल्लाहरूमा गयौं । आईपीओ निष्काशन गर्यौं । धितोपत्र दोस्रो बजारमा पनि राम्रै मूल्य पायो । राम्रै गर्न सक्यौं । ग्राहकहरू पनि सन्तुष्ट नै थिए । अहिले ३८ वटा जिल्लामा कार्यरत थियौं । ७ वटै प्रदेशमा प्रदेश कार्यालय छन् । ७७ वटा शाखाहरू छन् । ८१ हजारभन्दा बढी ग्राहक सदस्य छन् । ५ अर्ब ३० करोडको पोर्टफोलियो छ । १ करोड ६४ करोड बचत छ । अहिले हाम्रो कारोबारहरू महिला लघुवित्तबाट कारोबार चलिरहेको छ ।
कुन कुन क्षेत्रलाई प्राथमिकतामा राख्नु भएको छ ?
विशेषत : हामी बजारभित्र रहेका शाखाहरूबाट त्यो भित्र रहेका गरीबहरूलाई काम गर्नको निम्ति, आयआर्जन गर्नका निम्ति व्यापार व्यवसाय गर्नका निम्ति ग्रुपहरू बनाएर बिना धितो ऋण दिन्छौं । हाम्रा सबै सदस्यहरू महिला छन् । आवश्यकता अनुसार उहाँहरूलाई बिना धितो ऋण दिन्छौं । समूहमा बस्न नचाहनेहरूलाई पनि धितो राखेर ऋण दिन्छौं । ग्रामिण क्षेत्रमा पनि त्यहाँको स्थानीय स्तरमा न्यून आय भएका किसानलाई कृषिसँग सम्बन्धित कुनैपनि कामहरू गर्नका निम्ति, उत्पादनसँग सम्बन्धित जुनसुकै कामका लागि हामीले कर्जा प्रवाह गरिरहेका छन् । सिपमुलक र आयमुलक कार्यमा हामीले लगानी गरिरहेका छौं । महिलाहरूलाई आयआर्जनका लागि सहजीकरण गर्नका निमित्त महिला लघुवित्तले काम गर्दै आइरहेको छ । महिलाहरूलाई आयआर्जन र उत्पादनशील क्षेत्रमा सरिक गराउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।
जहाँ असुविधा छ, महिलाहरूलाई काम गर्नका निमित्त पुँजीहरू चाहिएको छ त्यहाँ हामी पुग्छौं । गाउँघरका स-साना पुँजीहरू त्यसै हराइरहेको हुन्छ त्यसलाई बचत गर्ने बानी बसालेका छौं । हामी वित्तीय साक्षरता कमि भएको ठाउँमा पनि पुगेर वित्तीय साक्षरता प्रदान गरिरहेका हुन्छौं । महिलाहरूले काम गर्नका निम्ति अवसर पाइरहेका छैनन् त्यहाँ ग्रुपमा बसेर आफ्नो सेवा लिन सकिनेछ । सामाजिक काममा समेत उत्प्रेरित गराउन हामी माध्यम बनेका छौं । महिले महिलाहरूलाई वित्तीय साक्षरता पनि प्रदान गरिरहेका छौं । उनीहरूलाई प्रविधिको प्रयोग गरी कसरी वित्तीय कारोबार गर्न सकिन्छ भनेर सिकाइरहेका हुन्छौं । उनीहरूलाई आत्मनिर्भर बनाउनतर्फ अग्रसर छौं ।
वित्तीय साक्षरता अभाव भएका ठाउँमा पुगीरहँदा जटिलता चाहीं के रहेछ ?
चुनौती धेरै नै छ । जहाँ बैंकिङ पहुँच पुगेको छैन त्यहाँ पुग्ने लक्ष्य लघुवित्तको हुन्छ । पहिलो कुरा त उनीहरूलाई वित्तीय पहुँच पुर्याउन गाह्रो । गाउँमा उत्पादनशील क्षेत्रमा आयआर्जन कम हुन सक्छ । जसले गर्दा ऋण दिँदा किस्ता बुझाउन सक्छ कि सक्दैन भन्ने हुन्छ ।
राम्रा पक्षहरू पनि धेरै छन् । गरीबहरूले आयआर्जनका काम गर्न सक्छन् । लघुवित्तका कारण कति मान्छेले व्यवसाय गरेका छन् । लघुवित्तहरूले अप्ठ्यारो अवस्थामा पनि नागरिकलाई साथ दिएको छ । अहिले ७७ वटै जिल्लामा लघुवित्तहरू पुगेको अवस्था छ । नेपालको गरीबी न्यूनीकरणमा लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको छ । अहिले अप्ठ्यारो परेको बेला लघुवित्त चाहिन्छ भन्ने सबैले बुझेका छन् ।
पछिल्लो समय लघुवित्त कम्पनीहरूको प्रतिस्पर्धा कम भएको हो ?
पहिले धेरै संस्थाहरू थिए । धेरै संस्थाहरू भएपछि अस्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने भएपछि मर्ज हुँदै गयो । त्यसो हुँदा अस्वस्थ प्रतिस्पर्धा चाहीं घटेको हो । प्रतिस्पर्धा नै नहुने भन्ने चाहीं छैन । नेपाल राष्ट्र बैंकले एक व्यक्तिले २ वटाभन्दा बढी लघुवित्तबाट ऋण लिन नपाइने व्यवस्था गरेको छ । त्यसो हुँदा पनि प्रतिस्पर्धा चाहीं घटेको छ । त्यसमा पनि २ वटा वित्तीय संस्थाबाट बढीमा सात लाखसम्म मात्र कर्जा लिन पाइने व्यवस्था छ । अस्वस्थ प्रतिस्पर्धा हटेको छ ।
पुरानो ऋण उठाउन लघुवित्तहरूलाई हम्मेहम्मे परेको अवस्था थियो । अहिले सहज बनेको हो ?
ऋण उठाउन समस्या छ । तर छिट्टै समाधान हुने अवस्थामा पनि छ । अहिले लघुवित्तलाई धेरैले बुझिसकेका छन् । मान्छेलाई पैसाको आवश्यकता परिरहेको हुन्छ । पुरानो पैसा नतिरि अर्को पैसा पाइँदैन भन्ने पर्न थालेको छ । पहिला ऋणीलाई भड्काउने काम भएको थियो । अहिले त्यो पनि नियन्त्रणमा आइसकेको अवस्था छ । नेपालमा लघुवित्तको एकदमै आवश्यकता छ । यसको आवश्यकता ढिलो चाँडो सबैले बुझ्नेछन् । यो समस्या पनि समाधान हुनेछ ।
महिला लघुवित्तले कम्पनीको ‘ग्रोथ’को लागि के गरिरहेको छ ? लगानीकर्तालाई प्रतिफल दिन सक्ने गरी ‘ग्रोथ’ गर्ने रणनीतिक योजना के छ ?
हामी सामाजिक काम गर्ने गैर सरकारी संस्थाबाट आएको हौँ । सामाजिक काममा पनि हामी उत्तिकै सक्रिय छौं । स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा अग्रसर भएर काम गरिरहेका छौं । सामाजिक उत्तरदायित्व अन्तर्गत हामी प्रसस्त काम गरिरहेका छौं । हामीले आईपीओ जारी गरे देखि नै सेयर बजारमा राम्रो मूल्य पनि पायो । सेयरधनीलाई पनि राम्रै प्रतिफल वितरण गर्न सक्यौं । अहिले पनि हामी नाजुक अवस्थामा छैनौं ।
हामीले कमाइको केही हिस्सा सामाजिक काममा लगाएर पनि प्रतिफल दिन सक्ने अवस्थामा नै छौं । हामीले सबै काम राष्ट्र बैंकले दिएको नीति निर्देशनभित्र रहेर नै गरिरहेका छौं । राष्ट्र बैंकको नीति भित्रै रहेर सेयरधनीलाई लाभांश पनि दिनेछौं । शाखाहरू पनि आफूलाई व्यवस्थापनगर्न सक्ने हिसाबले बढाएका छौं । जहाँ व्यवसाय गर्न सक्छौं त्यहिँ मात्र शाखाहरू खोल्ने गरेका छौं । कर्मचारीहरूको दक्षता बढाउने काम गरिरहेका छौं । लगानीलाई उत्पादनशील क्षेत्रमा फोकस गर्छौं । सुरक्षित लगानीमा जोड दिन्छौं । ग्राहकहरूलाई कसरी खुशी पार्न सकिन्छ यस विषयमा हामी काम गरिरहेका छौं । हामी लगानीकर्ता, ग्राहक कर्मचारी सबैलाई खुशी पारेर अगाडि बढ्छौं । सबैलाई समेटेर जानेछौं । यहि रणनीतिमा महिला लघुवित्त अघि बढेको छ ।