कोरोनाको प्रभावः कच्चा तेलको मूल्यमा ३० वर्षपछिकै ठूलो नोक्सानी « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

कोरोनाको प्रभावः कच्चा तेलको मूल्यमा ३० वर्षपछिकै ठूलो नोक्सानी



काठमाडौं । विश्वबजारमा तेलको मूल्यमा २५ प्रतिशतले गिरावट आएको छ । सोमबार तेलको भाउ २५ प्रतिशतले घटेको रोइटर्स समाचार माध्यमले जनाएको छ ।

साउदी अरबले मूल्य घटाउने र अप्रिलमा कच्चा तेल उत्पादनको मात्रा बढाउने निर्णय गरेसँगै विश्वबजारमा गिरावट आएको हो । योसँगै विश्व तेल बजारमा सन् १९९१ पछि कै सबैभन्दा ठूलो नोक्सानी हुने देखिएको छ ।

तेल उत्पादन मुलुकहरूको समूह ओपेकले कोरोना भाइरसबाट उत्पन्न चिन्ताबीच बजारलाई स्थिर बनाउन भन्दै उत्पादनमा कटौती गर्ने प्रस्ताव अघि सारेको थियो । तर ओपेकले अघि सारेको प्रस्तावप्रति रुस अनिच्छुक देखिएपछि साउदी अरबले मूल्य घटाउने निर्णय गरेको हो ।

सोमबार ब्रेन्ट नामक कच्चा तेलको मूल्य प्रति ब्यारेल ११।३१ अमेरिकी डलरले घटेको छ । उक्त गिरावटसँगै विश्वबजारमा सन् २०१६ पछिकै कम मूल्यमा कच्चा तेलको कारोबार भइरहेको छ ।

समाचार अनुसार हाल ब्रेन्ट कच्चा तेलको कारोबार प्रति ब्यारेल ३३।९६ अमेरिकी डलरमा भइरहेको छ । सन् १९९१ मा खाडी युद्ध सुरु हुने बेलामा विश्व तेल बजारले यस्तै नोक्सानी व्यहोरेको थियो ।

त्यस्तै वेस्ट टेक्सास इन्टरमिडियड नामक कच्चा तेलको मूल्य २६ प्रतिशतले घटेर प्रति ब्यारेल ३०.५५ अमेरिकी डलर पुगेको छ । उक्त गिरावट पनि सन् १९९१ पछिकै सबैभन्दा बढी हो ।

कोना भाइरसको जोखिममाझ तेलको मूल्य स्थिर गर्नेबारे ओपेक र रुसबीच सहमति हुन नसकेपछि कच्चा तेलको मूल्यमा भारी मात्रामा गिरावट आएको हो । योसँगै रुस र साउदी अरबबीच कच्चा तेलको मूल्यलाई लिएर मतभेद देखिन सक्ने कतिपयले अनुमान गर्न थालेका छन ।

साउदी अरबले अप्रिलसम्ममा उत्पादन बढाएर प्रतिदिन १० मिलियन ब्यारेलभन्दा बढी तेल उत्पादन गर्ने योजना बनाइरहेको छ । साउदी अरब विश्वमै सबैभन्दा बढी तेल निर्यात गर्ने मुलुक हो ।

साउदी अरबले विश्वमै सबैभन्दा बढी तेल उत्पादन गर्ने दोस्रो मुलुक रुसलाई दण्डित गर्नका लागि पछिल्लो कदम चालेको समाचारमा उल्लेख गरिएको छ । उत्पादन कटौती गर्ने ओपेकको प्रस्तावलाई रुसले समर्थन नगरेपछि साउदीले मूल्य घटाएको समाचारमा बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्