२ करोड पूँजी लगानी गरेका सेयर दलालको आम्दानी एक दिनमै २५ लाख !

काठमाडौं । धेरैलाई अचम्म लाग्न सक्छ, अहिले सेयर किनबेच गराउने धितोपत्र दलाला (ब्रोकर) कम्पनीले एकै दिनमा औसत २५ लाख रुपैयाँसम्म कमाइरहेका छन् । धेरै ग्राहक र ठूलो कारोबार गराउने ब्रोकरको दैनिक आम्दानी ३० लाखभन्दा माथि पुगेको ब्रोकर आफैं बताउँछन् ।
तर ती ब्रोकर कम्पनीमा जम्मा २ करोड रुपैयाँमात्रै पूँजी लगानी गर्ने धेरै छन् । अर्थात् कुनै कम्पनीमा भएको पुरै लगानी केवल ८ दिनमै उठाउन ब्यापारमा पनि असम्भवप्रायः हुन्छ । २ करोड लगानी गरेर दिनमै २० देखि ३० लाख कमाउने व्यवसाय संसारमा दुर्लभ नै होलान् ।
अहिले ब्रोकरले सेयर कारोबारको औसत ०.३७ प्रतिशत कमिशन पाउँछन् । तर यस्तो कमिशन एउटै कारोबारमा दुईवटा ब्रोकरले लिइरहेका हुन्छन् । किन्ने र बेच्ने दुबैसँग कमिशन लिँदा कुल कारोबार रकमको करीब 0.७५ प्रतिशत ब्रोकरको भाग लागिहाल्छ । हामीले गत आईतबारको कारोबार रकमलाई हेर्ने हो भने त्यसदिन १७ अर्ब २७ करोड १८ लाख हाराहारीको सेयर कारोबार भएको थियो ।
यो रकमको औसत ०.३७ प्रतिशत पैसा ५० वटा ब्रोकरको भागमा बराबर बाँढ्ने हो भने एउटाको भागमा २५ लाख ५५ हजार पर्न आउँछ । तर बजार प्रतिस्पर्धाका आधारमा ब्रोकरमध्ये कसैले धेरै र कसैले कम व्यापार पाउँछन् ।
धेरै रकमको कारोबार गराउनेले कमिशन पनि बढी पाउँछन् भने, थोरै रकमको कारोबार गराउने ब्रोकरको हातमा कमैमात्र कमिशन बस्छ । यद्यपि, धितोपत्र दलालको दैनिक आम्दानी यही स्तरमा पूँजी लगानी गरेका अधिकांश अन्य कम्पनीको पर्षभरीको नाफाभन्दा पनि बढी छ ।
त्यसमाथि ब्रोकरले सर्वसाधारण लगानीकर्ताको पैसा लामो समय चलाइदिने गरेको गुनासो सर्वत्र पाइन्छ । नियमानुसार सेयर कारोबार भएको दुई दिनभित्र राफसाफ गरेर किन्नेले पैसा तिरिसक्नुपर्छ भने बेच्नेको खातामा पैसा जम्मा भइसक्नुपर्छ । तर अधिकांश ब्रोकरले महिनौंसम्म पनि सेयर विक्रेतालाई पैसा नदिएर आफैं चलाइरहने समस्या ज्यूँका त्यूँ रहेको लगानीकर्ता गुनासो गर्छन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर किनेर निर्धारित समयमा पैसा नतिर्नेलाई जरिवाना गर्ने व्यवस्था गरेको छ । तर ब्रोकरले विक्रेतालाई निर्धारित समयमा पैसा नतिरेमा के कारबाही गर्ने र त्यस्तो उजुरी वा गुनासो कहाँ दिने भन्ने कुनै बन्दोबस्त गरेको छैन ।
जसका कारण ब्रोकर कम्पनीमा सुशासनको समस्या बढेको नेप्सेका अधिकारीहरु पनि बताउँछन् । ‘औपचारिक रुपमा लगानीकर्ताले नियामक निकायमा लिखित गुनासो गर्ने व्यवस्था बनिसकेको छैन,’ नेप्सेका एक अधिकारी भन्छन्, ‘तर सामाजिक सञ्जाल र निजी कुराकानीमा यस्ता गुनासा धेरै सुनिने गरेको छ ।’
कतिपय अवस्थामा आफूहरुले सम्बन्धित ब्रोकरलाई मौखिक आग्रह गरेर समेत त्यस्ता लगानीकर्ताको रकम भुक्तानीमा सहयोग गर्ने गरेको नियामक निकायका अधिकारीको भनाइ छ । नेपाल राष्ट्र बैंकले हालैमात्र जनगुनासो सुन्ने एकाइ गठन गरे पनि सेयर बजारका नियामकले त्यस्तो संयन्त्र तयार पार्न सकेका छैनन् । जसले एकातिर लगानीकर्ताले बेलामा पैसा नपाउने, अर्कातिर ब्रोकरले त्यस्तो पैसाको प्रयोग गरेर अकुत सम्पत्ती आर्जन गर्ने प्रबृत्ती बढेको ती अधिकारीले बताए ।
यस्ता विकृतिलाई रोक्न नियामकीय सुधार गर्नुको साटो नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने ब्रोकर लाइसेन्स कसलाई दिने र कसलाई नदिने भन्ने बहस गरेर बसेको लगानीकर्ता बताउँछन् ।