साउदी अरबले बढायो तेलको भाउ, नेपालमा पेट्रोलियम अझै कति महँगिएला ?

काठमाडौं । भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबले एशियाली बजारमा विक्री हुने सबै ग्रेडका कच्चा तेल (क्रुड आयल)को आधिकारिक विक्री मूल्य (ओएसपी) बढाएको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले मंगलबार यससम्बन्धी खबर छापेको छ ।
नेपालले सबै प्रशोधित पेट्रोलियम पदार्थको आयात भारतबाट गर्छ । तर भारतले पनि विभिन्न मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गर्ने हो । यस कारण साउदी अरकले बढाएको तेलको भाउको असर नेपाली बजारमा पनि पर्छ ।
नेपाल आयल निगमले आजैबाट लागू हुने गरी पेट्रोलियम पदार्थको विक्री मूल्य प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएकै बेला यस्तो समाचार आएको हो । जसले अझै पनि नेपाली बजारमा पेट्रोलिय महँगिने संकेत गरेको छ । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थमा लगाउँदै आएको प्रतिलिटर ५ रुपैयाँ पुर्वाधार कर हटाएर मूल्यबृद्धिलाई केही समय स्थगित गर्न सहमति दिएको खबरहरु आएका छन् ।
समाचारमा जनाइएअनुसार साउदी अरबले ‘फल्यागशीप अरब लाइट क्रुड’को भाउ जुलाईको तुलनामा ८० सेन्टले बढाएर प्रतिब्यारेल २ डलर ७० सेन्टमा पुर्याएको छ । अन्य ‘बेन्चमार्क’को भाउमा पनि ८० सेन्टदेखि एक डलरसम्म मूल्य बढाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर सन् २०१४ यताकै उच्च विन्दुमा उक्लिएको छ ।
यसअघि पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठन बाहिर रुसलगायत प्रमुख तेल उत्पादकहरुको समूह (ओपेक प्लस)बीच अगष्टदेखि उत्पादन बढाउने योजनाबारे सहमति हुन नसकेपछि तेलको भाउ उकालो लाग्न थालेको थियो ।
अगष्टमा उत्पादन वृद्धि नहुने ओपेक प्लस सम्बद्ध केही स्रोतहरुले बताएका छन् । अन्यले भने आगामी दिनमा यसबारे वार्ता र सहमति गर्न नयाँ सम्झौता हुन सक्ने बताइरहेका छन् । तर अहिलेसम्म बैठकको नयाँ मिति भने तोकिएको छैन ।
लन्डनमा हिजो दिउँसो (नेपाली समयअनुसार हिजो साँझ)को कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ ६२ सेन्ट अर्थात् ०.८ प्रतिशत बढेर प्रतिब्यारेल ७७ डलर ७८ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ यस अघि सन् २०१८ को अक्टोबर यता पहिलो पटक यस स्तरमा उक्लिएको हो । अमेरिकी बेञ्चमार्क ‘वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)’ को भाउ पनि मंगलवार १ डलर ७५ सेन्ट अर्थात् २ दशमलव ३ प्रतिशतको बढेको छ । यो पनि सन् २०१४ को नोभेम्बरयताकै उच्च हो ।
संसारकै तेस्रो ठूलो तेल आपूर्तिकर्ता भारतमा पछिल्लो समय माग घटेको तथ्यांकहरु आइरहेका छन् । यसैबीच अहिले भारतले सबैभन्दा कच्चा तेल इराकसँग किनिरहेको छ । त्यसपछि साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स भारतका ठूला पेट्रोलियम आपूर्तिकर्ता हुन् । नाइजेरिया र भेनेजुयलाबाट पनि भारतले बढी मात्रामा पेट्रोलियम आयात गर्छ । पछिल्लो समय भारतीय आयातकर्ताहरुले अमेरिका र क्यानडाबाट पनि माग बढाएका छन् ।
एजेन्सीको सहयोगमा ।