५ हजारमा किनेको मोबाइल ३० हजारमा विक्री !

काठमाडौं । नेपाली बजारमा अहिले १० हजारदेखि १ लाख ५५ हजार रुपैयाँ मूल्यसम्मका स्मार्टफोन उपलब्ध रहेको नेपाल मोबाइल विक्रेता संघले जनाएको छ । मोबाइल बजारको औसत मूल्य करीब ३० हजार रुपैयाँको हाराहारी पर्ने विक्रेताहरु बताउँछन् । अहिले बजारमा १५ देखि ३० हजार रुपैयाँ पर्ने फोनको विक्री सर्वाधिक रहेको छ ।
बजारमा मोबाइल किन्न जाँदा धेरै बार्गेनिङ पनि चल्दैन । तर सरकारी तथ्यांकले भने आश्चर्यजनक तथ्य देखाउँछ । हामीले बजारमा औसत ३० हजार मूल्यमा किन्ने फोन आयातकर्ताले केवल ५ हजार रुपैयाँ तिरेर विदेशबाट आयात गरेको पाइन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
विभागले हालैमात्र सार्वजनिक गरेको गत आर्थिक वर्ष (साउनदेखि असारसम्म)को आयात तथ्यांकले यस्तो तथ्य देखाएको छ । उक्त आँकडा अनुसार नेपालमा आयात हुने मोबाइल फोनको लागत प्रतिगोटा ५ हजार २ सय ५० रुपैयाँमात्रै पर्छ । यो सबै किसिमका मोबाइलको औसत मूल्य हो । यसमा निकै २ हजार रुपैयाँमा बजारमै पाइने बारफोन पनि पर्छ । तर त्यस्ता फोनको खपत अहिले ज्यादै कममात्र रहेको छ ।
विगत एक वर्षमा नेपालमा विभिन्न मूल्यस्तर र ब्राण्डका ७० लाख ३० हजार थान मोबाइल फोन नेपाल भित्रिएको तथ्यांक भन्सार विभागसँग छ । उक्त मोबाइल फोनका लागि आयातकर्ताहरुले जम्मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ तिरेको विवरण बुझाएका छन् । यस हिसाबमा एउटा फोनको भाउ ५ हजार २ सय ५० रुपैयाँभन्दा कम पर्न आउँछ ।
सरकारलाई भन्सार राजश्वसमेत तिरेर ल्याउँदा आयातकर्ताले ढुवानी खर्चबाहेक प्रतिगोटा ६ हजार ८० रुपैयाँ तिरेको देखिन्छ ।
