सुनको भाउ १ महिना यताकै सस्तो, अझै सुन सस्तिने यस्तो छ आधार « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सुनको भाउ १ महिना यताकै सस्तो, अझै सुन सस्तिने यस्तो छ आधार



काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ एक महिनायताकै सस्तो भएको छ । गएको २१ असारपछि पहिलो पटक सुनको मूल्य प्रतितोला ९१ हजार ५०० मा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो एक महिना यताकै कम हो ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुन सस्तिने क्रममा रहेको छ । जसले नेपाली बजारलाई पनि प्रभावित पारेको छ । अर्कातिर गत महिना चीनको निर्यात घट्दा भारतको निर्यात ब्यापारले कीर्तिमानी स्तर पार गरेको छ । यसले अन्तरराष्ट्रिय बजारमा भारतीय रुपयेको माग बढेपछि अमेरकी डलरको विनिमय दर पनि सस्तिएको छ ।

भारुसँग डलर कमजोर बन्दा नेपाली बजारमा पनि डलरको भाउ घटेको छ । केही दिनअघि १२० रुपैयाँ पुगेको डलरको भाउ अहिले ११९ रुपैयाँभन्दा पनि तल झरिसकेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको विनिमय दर ११८ रुपैयाँ ९७ पैसा तोकेको छ ।

एकातिर अन्तरराष्ट्रिय बजारमै सुन सस्तिएको र अर्कातिर नेपाली मुद्रा डलरको तुलनामा महँगो भएपछि सुन सस्तिएको हो । गोल्डप्राइसका अनुसार अन्तरराष्ट्रिय बजारमा अहिले पनि सुनको मूल्य घट्दो प्रबृत्तीमा देखिएको छ । सुनको शेयरमूल्यमा देखिएको रेखाचित्रले दोहोरो उचाइ (डबल टप) आकृति बनाएको छ । यस्तो आकृतिले आगामी दिनमा मूल्य अझै सस्तिने संभावना देखाउँछ ।

गत असारको मध्येतिर अन्तरराष्ट्रिय बजारमा सुन सस्तिँदा एक तोलाको ९० हजार रुपैयाँसम्म सस्तिएको थियो । त्यसपछि भने उकालो लागेको सुनको भाउ नेपाली बजारमा ९३ हजार २०० रुपैयाँसम्म पुगेको थियो । जुन असार १ गतेको मूल्य बराबर हो ।


प्रतिक्रिया दिनुहोस्