मेलाको लागी चिकित्सक टोली तयार, ५० बोरा चामल गोसाइँकुण्ड पुग्यो « Arthapath.com
१४ श्रावण २०७९, शनिबार

गोसाइँकुण्ड मेला

मेलाको लागी चिकित्सक टोली तयार, ५० बोरा चामल गोसाइँकुण्ड पुग्यो



सरस्वती न्यौपाने

धुन्चे / जनैपूर्णिमा पर्वका अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा बर्सेनि हिमालय उद्धार सङ्घले चिकित्सक टोली पठाउने गरेको छ । सङ्घले यस वर्षको मेलामा पनि चिकित्सकको उद्धार टोली तयार गरी पठाउन लागेको छ ।

गोसाइँकुण्डमा शिविर खडा गरी तीर्थालुलाई लेक लाग्नेलगायत विविध समस्या तत्काल हल गर्न सो सङ्घले चिकित्सक टोली तयार गरको हो । पुत्रदा एकादशी अर्थात् साउन २३ गतेदेखि २७ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमै शिविर खडा गरी अक्सिजन एवम् आवश्यक औषधिसहितको चिकित्सक जनशक्ति गोसाइँकुण्डमा तैनाथ हुने हिमालय उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बत्स्यालले जानकारी दिए । स्वास्थ्य शिविरमा दक्ष चिकित्सकको टोली साउन २३ गतेबाट गोसाइँकुण्डमा बस्ने बत्स्यालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविर सञ्चालनमा हुने सबै खर्च हिमालय उद्धार सङ्घले गर्नेछ ।

गोसाइँकुण्डमा बसेर हिमालय उद्धार सङ्घले विगत २५ वर्षदेखि उपचार सेवा दिँदै आएको र सो संस्थाले प्रदान गरेको उपचार सेवा जनहितकारी भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । २५ वर्षको दौरानमा गत र विगत सालमा कोरोना सङ्क्रमणले सरकारीस्तरबाटै मेला स्थगन हुँदा दुई वर्ष हिमालय उद्धार सङ्घको सेवा टुटेको थियो । यो वर्ष सेवा दिने अवसर मिलेकोमा सङ्घ परिवारले खुसी व्यक्त गरेको छ । गोसाइँकुण्ड मेलाका यात्रुलाई निरन्तर उपचार सेवा दिने संस्थागत नीति बनाउने पूर्वकार्यकारी प्रमुख, प्रकाश अधिकारी कोरोना कहरको पहिलो चरणमै निधन हुनुभएका कारण यस क्षेत्रका व्यक्तिलाई निकै स्तब्ध तुल्याएको छ ।

अन्य संस्थाको भन्दा हिमालय सङ्घले दिने उपचार सेवा बढी प्रभावकारी र विश्वासनीय रहिआएको बताउँदै स्थानीय पुरोहित टंकप्रसाद ढकालले सो संस्थाले गोसाइँकुण्डमा अक्सिजन लगेर सुघाउनु नै अत्यन्तै महत्वपूर्ण कार्य रहेको बताए । यस्तै, गोसाइँकुण्डको प्राथमिक उपचारको जिम्मा हिमालय उद्धार सङ्घको हुने र लौरीविनायक, चोलाङपाटी, चन्दनबारी तथा देउराली क्षेत्रमा उपचार गर्ने संस्थाको नामावली मेला सञ्चालन उपसमितिको निर्णयअनुसार हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

खाद्यान्न सामग्री ढुवानी सुरु

पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजन तथा लजको विशेष व्यवस्था मिलाउन स्थानीय व्यवसायी जुटेका छन् ।

साउन २७ गते जनैपूर्णिमा पर्वमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटेल व्यवसायीले खाद्यान्न जोहो एवम् लजका सामग्री ढुवानी गर्न थालेका हुन् । यात्रुलाई गुणस्तरीय सेवा दिन सबै व्यवसायी अगाडि बढिसकेको लौरीविनायकका व्यवसायी वीरू उपनामका पासाङग्याल्पो तामाङले जानकारी दिए । धुन्चेमा ४३, तिवारी बगरमा दुई, खन्तीमा दुई, देउराली एक, डिम्सा दुई, चन्दनबारीमा सात, चोलाङपाटी दुई, लौरीविनायकमा तीन र गोसाइँकुण्डमा चार गरी यी नौ स्थानको धार्मिकमार्गमा ६७ वटा स्थायी रूपले बनेका होटेल लज रहेको होटेल व्यवसायी सङ्घले जनाएको छ ।

गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान–बस्न कुनै समस्या नपर्ने होटेल सङ्घका जिल्ला अध्यक्ष निसान उपनामका रामशरण गजुरेलले जानकारी दिए । एकैसाथ स्थायी होटेलले नथेग्ने समस्या आएमा अस्थायी छाप्रो थर्कुको व्यवस्था हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । खाद्य सामग्री भरिया तथा खच्चर, घोडाद्वारा ढुवानी भइरहेको र करिब ५० बोरा चामल गोसाइँकुण्ड पुगिसकेको बताइएको छ । थप चामलसहित अन्य सामग्री ढुवानी भइरहेको बताउँदै व्यवसायी तामाङले गोसाइँकुण्डमा मात्रै एक सय ५० बोरा चामल खपत हुने अनुमान गरे । गोसाइँकुण्ड मेलाका लागि चाउचाउ, बिस्कुट, दालमोड, चिउरा, मिनिरलवाटर, काजु, बदामजस्ता सामग्रीसमेत होटेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको व्यवसायीले बताएका छन् ।

कोभिड– १९ का कारण दुई वर्षसम्म यात्रुको भिड हेर्न नपाएका स्थानीय व्यवसायी यस वर्ष भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् । २३ गते पुत्रदा एकादशीबाट स्नान सुरु भई २७ गते समापन हुने जनैपूर्णिमा पर्व मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । तीर्थ गर्न आएका भक्तजनले लौरीको नाममा वनस्पति नकाट्न र फोहोर जथाभावी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्