अमेरिकी महिलाले लगाउने ट्राउजरदेखि पास्तासम्म नेपालबाट हुन्छ निर्यात, यी हुन् नेपाललाई नाफा दिलाउने २२ देश « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

अमेरिकी महिलाले लगाउने ट्राउजरदेखि पास्तासम्म नेपालबाट हुन्छ निर्यात, यी हुन् नेपाललाई नाफा दिलाउने २२ देश



काठमाडौं । नेपालले संसारका १३३ मुलुकसँग अन्तरराष्ट्रिय ब्यापार गर्दा जम्मा २२ मुलुकसँगको ब्यापार नेपालको हितमा देखिएको छ । ब्यापारमा आफूले सामान बेचेर बढी पैसा पाइयो र अर्कालाई कम पैसा तिर्नुपर्यो भने ब्यापार नाफा भनिन्छ । यस्तो नाफाको आँकडा हेर्दा गत साउनदेखि कात्तिक सम्मको चार महिनाको ब्यापारमा नेपालका लागि अमेरिका सबैभन्दा राम्रो नाफा दिने साझेदार हो ।

नेपालले अमेरिकासँग ५ अर्ब ६४ करोडको सामान किनेको छ भने यही अवधीमा अमेरिकाले नेपालबाट ६ अर्ब ५६ करोडको सामान लगेको छ । नेपालले आफ्नो कुल निर्यात ब्यापारको १२ प्रतिशत अमेरिकालाई बेचेको छ । अमेरिका भारत पछिको सबैभन्दा ठूलो निर्यात गन्तब्य हो ।

जर्मनी, बेलायत, टर्की, फ्रान्स र जापान पनि नेपालबाट बढी सामान किन्नेमा पर्छन्, तर यी देशहरुसँग नेपालको कुल निर्यातमा १ देखि २ प्रतिशतमात्रै हिस्सेदारी छ । नेपालले भारतपछि सबैभन्दा धेरै आयात गर्ने छिमेकी चीनले भने नेपालबाट खासै आयात गर्दैन । यसले चीन नेपाललाई आफ्नो सामानमात्रै बेच्ने र अमेरिका नेपालबाट सामान बढी किन्ने पोजिशनमा देखिएका छन् ।

अमेरिकाले यो चार महिनामा नेपालबाट सबैभन्दा धेरै कार्पेट किनेको छ । ऊन तथा अन्य जनावरको भुत्लाबाट बनेका कार्पेट किनेर अमेरिकाले नेपाललाई साढे २ अर्ब रुपैयाँ तिरिसकेको छ । त्यसपछि फेल्ट, कुकुर तथा विरालोका लागि खाना, सिसाबाट बनेका भाँडाकुँडामात्रै होइन महिलाहरुले लगाउने सुरुवालदेखि अनेक लत्ताकपडा नेपालबाट निर्यात भएको छ ।

पेण्ट्रि, ड्रइङजस्ता सजावट सामग्री, बाध्यवादनका सामान, सुनका गरगहना र हाते कागजको निर्यात पनि अमेरिकामा बढी छ । पास्ता र च्युरादेखि नारीहरुले लगाउने चुरासम्म नेपालबाट अमेरिका निर्यात हुन्छ । अरु त अरु, स्लिपिङि ब्याग र क्रिसमस पर्वका लागि आवस्यक कतिपय वस्तु पनि नेपालले अमेरिकालाई बेच्दै आएको छ ।

यी हुन् नेपालको नाफाका साझेदार

अमेरिकापछि डेनमार्क नेपाललाई बढी नाफा दिने ब्यापार साझेदार हो । चार महिनामा नेपालले डेनमार्कसँगको ब्यापारबाट २९ करोड ६३ लाख हाराहारी नाफा गरेको छ । त्यसपछि अल्जेरिया, कम्बोडिया, उरुग्वे, नर्वे, न्यू क्यालेडोनिया, स्वेडेन, लात्भिया, मौरिसस र मोनाकोसँगको ब्यापार पनि नेपालको पक्षमा छ । आइसल्याण्ड, क्रोएसिया, इस्टोनिया, स्लोभाकिया, लेबनान, कंगो, सुडान, माल्टा, एङ्गोला, माली र बोलिभियासँग पनि नेपालले नाफाको साझेदारी गरेको छ ।

नेपालले सर्वाधिक ब्यापार घाटा भारतसँग व्यहोर्दै आएको छ । पेट्रोलियम पदार्थदेखि खाद्य वस्तु र महँगा गाडी तथा औद्योगिक कच्चा पदार्थ पनि भारतबाटै ल्याउने भएकाले दक्षिणी छिमेकीसँग हाम्रो ब्यापार साझेदारी ठूलो छ । आयात र निर्यात दुबैमा नेपालको सबैभन्दा ठूलो ब्यापार साझेदार भारत हो । नेपालले कुल आयातको ६० प्रतिशत भारतबाट ल्याउँछ भने कुल निर्यातका् ७० प्रतिशत भारतलाई नै बेच्छ ।


प्रतिक्रिया दिनुहोस्