त्रिभुवन विमानस्थलबाट लगभग १०० किलो सुन बरामद, थप अपरेसन जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरिएको छ । बुधबार दिउँसो भन्सार जाँचपास भएर विमानस्थल हाताबाट निस्कन लागेको सुन राजस्व अनुसन्धान विभागले समातेको हो । ठूलो परिमाणमा सुन भन्सारबाट बाहिर आएको खबर विभागमा पुगेपछि राजस्व अनुसन्धानले ‘अपरेशन’ चलाएको थियो ।
विभागका अधिकारीका अनुसार जफत गरिएको सुनको वास्तविक परिमाण खुलेको छैन । मोटरसाइकल र स्कुटरको ब्रेक–शुमा राखेर ल्याएका पाइएकाले सबै सुन निकालेर तौल गर्न नभ्याएको विभागले जनाएको छ । बरामद भएको सुन ८० देखि १०० किलोसम्म् हुनसक्ने प्रारम्भिक अनुमान छ ।
बुधवारको मूल्य अनुसार बरामद सुनको भाउ एक अर्ब ५३ लाख ६७ हजार ५५० रुपैयाँ पर्छ । अवैध सुन हङकङबाट काठमाडौं आएको क्याथे प्यासेफिक एयरलाइन्सको विमानमार्फत ल्याइएको थियो । विमानस्थलको जाँच पास भएर आएको ब्रेक–शु भन्सार गेट अगाडीबाट ट्याक्सीमा हालेर लान खोजिएको थियो । ट्याक्सीका चालक र सुन ल्याउने दुई जनासमेत तीन जनालाई विभागको टोलीले पक्राउ गरेको छ ।
कुल १६० सेट ब्रेक–शुमा लुकाएर ल्याइएको सुन भारत तस्करी हुन लागेको आशंका छ । नेपालमा सुनकाे भाउले कीर्तिमान बनाएका बेला एक क्वीन्टल हाराहारी सुन अबैध रूपमा भित्रिएकाे हाे । याे परिमाण हालसम्म बरामद भएकाे सुनमध्ये सबैभन्दा धेरै हुनसक्ने विभागका अधिकारीहरूले बताएका छन् ।