ग्रामीण क्षेत्रका घर जग्गामा बढ्दै छ आकर्षण, काठमाडौं उपत्यका लगायतका मुख्य सहरमा किन घट्दै छ कारोबार ?

काठमाडौं । भदौमा देशभर ३५ हजार बढी घर जग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले यस्तो देखाएको हो । भदौमा देशभरका मालपोत कार्यालयबाट ३५ हजार ६८६ वटा घर जग्गा किनबेच भएको छ । तर, मुख्य ठुला सहरमा भन्दा ग्रामीण क्षेत्रमा घर जग्गा किनबेच बढेको छ ।
विशेषगरि भदौमा पूर्वी नेपालका जिल्लाहरू घर जग्गा किनबेचमा अगाडी देखिएका छन् । विभागका अनुसार सुनसरी, धनुषा, झापा, मोरङ, बाँके, सप्तरी लगायतका जिल्लाहरू धेरै घर जग्गा कारोबार भएको देखिएको छ । केही समय अगाडिसम्म काठमाडौंमा उपत्यकामा सबैभन्दा धेरै घर जग्गा किनबेच हुने गरेको थियो । तर, उपत्यका भित्रका मालपोत कार्यालयहरू अहिले धेरै घर जग्गा किनबेच हुनेको सातौं जिल्लामा पर्छ ।
मुख्य ठुला सहरमा भन्दा ग्रामीण क्षेत्रमा घर जग्गा कारोबार बढ्न थालेको छ । विशेषगरि ग्रामीण क्षेत्रहरूमा पनि विकासका पूर्वाधारहरू बढ्दै जानु र स्थानीय तहले कित्ताकाटमा अग्रसर देखाएसँगै कारोबार बढेको हो । यसका साथै सहरको जग्गाको मूल्य अस्वाभाविक रूपमा बढेकाले पनि कारोबारीहरू ग्रामीण केन्द्रित भएका हुन् । त्यसले गर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा किनबेच बढेको छ ।
हाल देशभर १३१ वटा मालपोत कार्यालयहरू छन् । तर, तीमध्ये सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । भदौमा सो कार्यालय मार्फत १ हजार ८७१ वटा घर जग्गा किनबेच भएको छ । दोस्रो नम्बरमा रहेको जनकपुरधाम, धनुषाबाट १ हजार ४०९ वटा घर जग्गा किनबेच भएको देखिन्छ ।
तेस्रो स्थानमा रहेको झापा, भद्रपुरबाट १ हजार ३९९ वटा, चौथो स्थानमा रहेको बेलवारी मोरङबाट पनि १ हजार ३२१ वटा घर जग्गा किनबेच भएको छ । यस्तै, बाँके (नेपालगन्ज) बाट १ हजार ११८ वटा र राजविराज (सप्तरी) बाट १ हजार ८८ वटा घर जग्गा खरिदबिक्री भएको छ ।
केही समय अघिसम्म सबैभन्दा धेरै कारोबार हुने भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल (ललितपुर) भने अहिले ७औँ स्थानमा छ । सो कार्यालय मार्फत भदौमा ८४० वटा घर जग्गा किनबेच भएको विभागले जनाएको छ । यद्यपि, भक्तपुर कार्यालयबाट पनि सोही सङ्ख्यामा अर्थात् ८४० वटा घर जग्गा किनबेच भएको छ ।
काठमाडौं लगायतको देशका मुख्य ठुला सहरमा घर जग्गा घटेको पाइन्छ । तर, कम विकसित ग्रामीण क्षेत्रहरूमा निकै नै बढेको देखिन्छ । सहज रूपमा कित्ताकाट नहुँदा नै पछिल्लो समय घर जग्गा किनबेचमा कमी आएको छ । यद्यपि, गत साउनको तुलनमा भने काठमाडौंमा केही रुपमा बढोत्तरी देखिएको छ ।
सरकारले देशभर भइरहेको जग्गा खण्डीकरणलाई न्यूनीकरण गर्न भू–उपयोग नियमावली जारी गरेको थियो । सो नियमावली मार्फत कित्ताकाटमा कडाइ गर्दा कारोबार नै प्रभावित भएको देखिन्छ । तर, गत साउनदेखि भने कित्ताकाट खुलाउने निर्णय गरेको छ । कित्ताकाट खुलाए पनि त्यसको सहज कार्यान्वयन नहुँदा कारोबारमा कमी आउन देखिएको हो । यद्यपि, अब बिस्तारै घर जग्गा कारोबारले गति लिने व्यवसायीहरू बताउँछन् । ‘जग्गा वर्गीकरण स्थानीय तहबाट हुन्छ । सरकारले पनि कित्ताकाट खुलाई सकेको छ । तर, त्यसको परिणाम बिस्तारै देखिन्छ । अब घर जग्गा कारोबार चलायमान हुने अपेक्षा छ’–ती व्यवसायीले भने ।
पछिल्लो समय स्थानीय तहहरू पनि कित्ताकाट कार्यमा अग्रसर भईरेहका छन् । त्यस कारण पनि आगामी दिनमा कारोबार फस्टाउने उनी बताउँछन् । उनले भने,–‘पछिल्लो समय स्थानीय तहहरू कित्ताकाटमा केही अग्रसरता देखाएका छन् । त्यसले गर्दामा पनि मुख्य सहरहरूमा भन्दा ग्रामीण क्षेत्रमा बढी भइरहेको छ । बिस्तारै चलायमान हुन्छ ।’
स्थानीय क्षेत्रहरूमा पनि आर्थिक गतिविधि बढ्दा कारोबारमा वृद्धि हुँदै गएको हो । तुलनात्मक रूपमा सहरको भन्दा गाउँमा मूल्य धेरै कम हुन्छ । स्थानीय तहका विभिन्न निकाय तथा मालपोत कार्यालयहरू पनि बढ्दो क्रम नै छ । शिक्षा, स्वास्थ्य लगायतका थुप्रै सुविधाहरू गाउँ गाउँमा पुगेका छन् । त्यसले गर्दा पनि सहर भन्दा ग्रामीण क्षेत्रमा कारोबार बढेको जानकारहरू बताउँछन् । ग्रामीण भेगमा पनि आर्थिक गतिविधि बढ्दा घर जग्गाको कारोबार मा सुधार आएको उनीहरूको तर्क छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरूले घर तथा आवास कर्जामा समेत थप सुविधा दिएकाले पनि घर जग्गाको कारोबार बढेको बताइन्छ ।