असोजमा आएर बढ्यो आयात, अर्थतन्त्र थप गतिशील हुन थालेको संकेत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

असोजमा आएर बढ्यो आयात, अर्थतन्त्र थप गतिशील हुन थालेको संकेत



काठमाडौं । आर्थिक वर्षका सुरुआति महिनाहरुमा आयातमा आएको संकुचनले बढाएको निराशालाई तेस्रो महिना अर्थात् असोजमा केही राहत मिलेको छ । तीन महिनाको आँकडा हेर्दा गत सालभन्दा यो वर्ष आयात बढेको देखिएको छ ।

भन्सार विभागले हालै प्रकाशन गरेको तथ्यांक अनुसार गत असोज मसान्तसम्म नेपालले ४ खर्ब ७ अर्ब ७६ करोड हाराहारीको वस्तु आयात गरेको छ । गत साल यही अवधिमा ४ खर्ब १ अर्बभन्दा पनि कमकोमात्रै वस्तु आयात भएको थियो । यसरी यो साल आयातको आँकडा १.६९ प्रतिशत बढेको छ ।

यसअघि साउनमा १.५६ प्रतिशत र भदौमा ५.०६ प्रतिशत आयात घटेको थियो । त्यसो त गत साल दशैं असोजको सुरुमै थियो भने यो वर्ष कात्तिकको पहिलो साता पुगेको छ । यसले दशैँका लागि आवस्यक वस्तु गत साल भदौमै आयात भएको र यो वर्ष असोजमा मात्रै आएका कारण पनि यस्तो परिदृष्य देखिएको हो ।

यद्यपि, असोज आउँदै गर्दा यी सबै संकुचनका खाडल भरेर आयातको आँकडाले बृद्धिको बाटो समातेको छ । यसले सरकारको भन्सार महसुलमा पनि सुधार भएको छ । असोज मसान्तसम्म सरकारले आयातित वस्तुको भन्सार महशुलमार्फत् ४१ अर्ब १९ करोड ४२ लाख ६९ हजार राजस्व संकलन गरेको छ ।

तर यो साल आयात भएका वस्तुहरुको भन्सारबापत सरकारले औसतमा आयातित मूल्यको १०.१ प्रतिशतका दरले राजस्व पाएको छ ।

कुल आयातको १४.३८ प्रतिशत हुने डिजेल, पेट्रोल र खाना पकाउने ग्यासलाई छाड्ने हो भने फलाम सबैभन्दा धेरै आयात हुने वस्तु हो । दोस्रो स्थानमा स्मार्टफोन सबैभन्दा धेरै आयात भएको छ । वितेको ३ महिनामा ६ लाख ४२ हजार ४१५ थान स्मार्टफोट आयात भएको थियो ।

यसकार लागि नेपालले ९ अर्ब ४३ करोड १९ लाख खर्च गरेको छ । तर यस तथ्यांकले आश्चर्यलाग्दो आँकडा प्रस्तुत गरेको छ । नेपालमा आयात भइरहेका सबै स्मार्टफोनको औसत लागत मूल्य प्रतिगोटा १४ हजार ६८२ रुपैयाँ पर्छ । यसमा प्रतिगोटा औसत २ हजार ७३८ रुपैयाँ राजस्व तिर्नु परेको देखिन्छ ।

यसरी भन्सारबाट बाहिर आउँदासम्म एउटा स्मार्ट फोनको औसत मूल्य १७ हजार ४२० रुपैयाँ हुन्छ । तर अहिले बजारमा उपलब्ध फोनहरुको औसत बजार मूल्य ३५ देखि ४० हजार हाराहारी हुने व्यवसायी बताउँछन् । यसले नेपालमा भित्रिने स्मार्ट फोनमा आयातकर्ता र खुद्रा ब्यापारीले मिलेर दोब्बर वा त्योभन्दा धेरै नाफा खाने गरेको देखिन्छ ।

पेट्रोलियम, फलाम र स्मार्टफोनपछि चौंथो ठूलो आयातको वस्तु ‘डायमोनियम फोस्फेट’ हो । यो पदार्थ रसायनिक मल र कृषिसम्बन्धि विभिन्न मलखाद उत्पादनमा प्रयोग हुन्छ । पछिल्लो समय यसलाई पशुपालनका लागि पनि गलत ढंगले प्रयोग गर्न थालिएको गुनासाहरु आउन थालेका छन् ।

त्यसपछिको स्थान भने सुनले लिन्छ । अहिले नेपालमा १ तोला (११.६६३८१२५ ग्राम) सुनको भाउ १ लाख १७ हजार छ । अर्थात् १ ग्रामको १० हजार रुपैयाँभन्दा महँगो पर्छ । तर यही पहेँलो धातुको आयातका निम्ति नेपालले पछिल्ला ३ महिनामा मात्रै ७ अर्ब ३५ करोड २० लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ ।

यसबाट नेपालमा ९ क्विन्टल (७७ हजार २०४ तोला) भन्दा धेरै सुन आयात भएको छ । यसरी हेर्दा औपचारिक बाटोबाटै प्रत्येक महिना औसत ३ क्लिन्टलका दरले नेपालमा सुन भित्रिरहेको देखिन्छ । सुनपछि औषधि र त्यसपछि हवाई इन्धनको आयातमा नेपालले बढी पैसा खर्च गरेको छ ।


प्रतिक्रिया दिनुहोस्