काठमाडौं उपत्यकामा कस्तो चल्दै छ घर जग्गा व्यापार ?
काठमाडौं । मङ्सिरमा काठमाडौं उपत्यकासहित देशभर घर जग्गा किनबेच बढेको छ । गत कात्तिकको तुलनामा देशभरको कारोबार ६० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
मङ्सिरमा देशभरका मालपोत कार्यालयहरूबाट ४१ हजार ८५१ वटा घर जग्गाको लिखत पारित भएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत कात्तिकमा भने भने जम्मा २६ हजार ४६ वटा मात्रै घर जग्गा खरिदबिक्री भएको थियो ।
यता, काठमाडौं उपत्यकामा पनि घर जग्गा किनबेच बढेको आँकडा छ । मङ्सिरमा काठमाडौं उपत्यकाको तीन जिल्ला अन्तर्गतका मालपोत कार्यालयमार्फत ३ हजार १७६ वटा घर जग्गा खरिदबिक्री भएका छन् । यो गत कात्तिकको तुलनामा भने ५७.२२ प्रतिशतले बढी हो । गत कात्तिकमा भने २ हजार २० वटा घर जग्गा किनबेच भएको थियो ।
कात्तिकको तुलनामा मङ्सिर महिनामा काठमाडौं उपत्यका लगायत देशभर घर जग्गा कारोबारमा सुधार आए पनि व्यवसायीहरूले सन्तुष्ट देखिँदैनन् । मङ्सिरमा महिनामा जुन रूपमा कारोबारको अपेक्षा गरिएको थियो, सोही अनुरूप कारोबार बढ्न नसकेको उनीहरूको भनाई छ । कात्तिकमा ठुला चाडपर्वका कारण लामो समय सार्वजनिक बिदा परेको हुँदा सो महिनामा कम कारोबार भएको व्यवसायीहरू बताउँछन् । सोही कारण पनि कात्तिकको कारोबारलाई मङ्सिरमा दाँजेर बढ्यो भन्न नमिल्ने उनीहरूको तर्क छ ।
यद्यपि, सुस्ताएको घर जग्गा क्षेत्रमा सुधारको सङ्केत भने सकारात्मक रहेको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले बताए । पछिल्लो काठमाडौं उपत्यकामा पनि कारोबार बढ्न थालेको उनको भनाई छ । सरकारले गत साउनदेखि अर्थतन्त्र चलायमान बनाउने भन्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।
सरकारले भू–उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली,२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुलाएको थियो । त्यसपछि नै घर जग्गा कारोबार बढ्न थालेको छ । यद्यपि, सहज रुपमा नै कित्ताकाट कार्यान्वयन हुन नसकेको भने बताइन्छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदरमा पनि घट्दो क्रममा छ । बैङ्क ब्याजदर घट्दा पनि घर जग्गा कारोबार बढेको व्यवसायीहरू बताउँछन् । यता, नियामक निकाय नेपाल राष्ट्र बैङ्कले पनि मौद्रिक नीतिको समीक्षा गर्दै घर जग्गा क्षेत्रलाई गतिशील बनाउने नीति अघि सारेको छ । राष्ट्र बैङ्कले घर जग्गा कारोबार बढाउन कर्जाको सीमा समेत बढाउने भनेको छ । यस्ता कारण पनि कारोबार बढेको छ । आगामी दिन थप बढ्ने व्यवसायीहरु बताउँछन् ।
विभागको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा पाँच महिनामा १६ हजार बढी जग्गा किनबेच भएको छ । औसतमा मासिक ३ हजार बढी घर जग्गा खरिदबिक्री हुने गरेको देखिन्छ । हाल काठमाडौं उपत्यकाको तीन जिल्लामा ९ वटा मालपोत कार्यालयहरू छन् । ती कार्यालय मार्फत चालु आर्थिक वर्षको ५ महिनामा १६ हजार ५३७ वटा घर जग्गा किनबेच भएको छ । गत वर्षको सोही अवधिमा भने उपत्यकामा १६ हजार २५१ वटा घर जग्गा खरिदबिक्री भएको तथ्याङ्कले देखाउँछ ।
चालु आवको पहिलो महिना (गत साउन) मा उपत्यकामा ३ हजार ४१२ वटा, भदौमा ३ हजार ६४६, असोजमा ४ हजार २८४ वटा घर जग्गा किनबेच भएको थियो ।
ललितपुरको लगनखेल कार्यालयमार्फत हुन्छ धेरै जग्गा किनबेच, मनमैजूमा भने दुई महिनादेखि ठप्प
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै जग्गा किनबेच ललितपुरमा हुने गरेको पाइन्छ । सो जिल्लामा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल मार्फत धेरै कारोबार भएको विभागको तथ्याङ्कले देखाउँछ ।
पाँच महिनामा सो कार्यालयबाट ३ हजार ९४१ वटा घर जग्गाको लिखत पारित भएको छ । सो कार्यालयमार्फत मासिक औसतमा ७८८ वटा घर जग्गाको लिखत पारित भएको देखिन्छ । दोस्रो स्थानमा रहेको भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट पनि ३ हजार ८२१ वटा घर जग्गा पाँच महिनामा किनबेच भएको छ ।
तर, काठमाडौंको मनमैजू मालपोत कार्यालयमा भने दुई महिनादेखि कारोबार ठप्प भएको विभागको तथ्याङ्कले देखाउँछ । गत कात्तिक र मङ्सिरमा सो कार्यालयबाट एउटा पनि घर जग्गाको लिखत पारित नभएको हो । यद्यपि, गत साउन, भदौ र असोज गरी कुल ७६० वटा घर जग्गा भने किनबेच भएको विभागले जनाएको छ ।
यस्तै, काठमाडौंको कलङ्की मालपोत कार्यालयमार्फत पाँच महिनामा २ हजार ८१६ वटा, चाबहिलबाट १ हजार ८४९, साँखुबाट १ हजार ८०३ घर जग्गा खरिदबिक्री भएको छ । यता, काठमाडौंकै मालपोत कार्यालय टोखाबाट ६१५, डिल्लीबजारबाट ८५७ र गोटीखेल भक्तपुरबाट भने ७६ वटा घर जग्गा पाँच महिनामा किनबेच भएको छ ।
राजश्वमा पनि लगनखेल नै अघि, तीन कार्यालयले उठाए १ अर्ब बढी
पाँच महिनामा उपत्यकाबाट कुल ६ अर्ब ३८ करोड ८५ लाख ५४ हजार रुपैयाँ राजश्व उठेको छ । चालु आवको मङ्सिरसम्म भएको कुल घर जग्गा कारोबारबाट उपत्यकामा सो बराबरको राजश्व सङ्कलन भएको हो ।
काठमाडौं उपत्यकाका ९ कार्यालयमा सबैभन्दा धेरै राजश्व पनि भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाटै उठेको छ । पाँच महिनामा सो कार्यालय मार्फत १ अर्ब ४२ करोड २९ लाख रुपैयाँ राजश्व सङ्कलन भएको हो । यस्तै, डिल्लीबजार कार्यालयबाट पनि १ अर्ब १७ करोड २३ लाख १८ हजार र भक्तपुरबाट १ अर्ब २ करोड २६ लाख रुपैयाँ राजश्व उठेको छ ।
विभागका अनुसार पाँच महिनामा चाबहिलबाट ९२ करोड ३९ लाख, कलङ्कीबाट ९१ करोड २९ लाख, टोखाबाट ३३ करोड ४९ लाख, साँखुबाट ३१ करोड ६२ लाख, मनमैजुबाट २७ करोड ५७ लाख र गोटीखेल ललितपुरबाट भने २० लाख ५९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।