समग्रमा घर-जग्गा कारोबार बढ्दा ‘अपार्टमेन्ट’ किनबेच सुस्त, आकर्षण घटेको हो ?

काठमाडौं । पछिल्लो समय अपार्टमेन्ट खरिदबिक्री सुस्ताएको छ । समग्रमा घर जग्गा किनबेचे बढे पनि अपार्टमेन्टको कारोबार भने सुस्त देखिएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मङ्सिरमा देशका विभिन्न ठाउँका २२ वटा अपार्टमेन्ट मात्र किनबेच भएको छ । गत कात्तिकको तुलनामा भने कारोबार बढ्न नसकेको देखिन्छ । गत कात्तिकमा पनि २२ वटा मात्रै अपार्टमेन्ट किनबेच भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
कात्तिकको तुलनामा देशभर घर जग्गा किनबेच साढे ६० प्रतिशतले बढेको देखिन्छ । मङ्सिरमा ४१ हजार ८५१ बढी घर जग्गाको लिखत पारित भएको छ । तर, गत कात्तिकमा भने २६ हजार हाराहारीमा मात्रै घर जग्गा कारोबार भएको थियो ।
घर जग्गा कारोबार बढे पनि अपार्टमेन्ट खरिदबिक्री भने न्यून देखिएको छ । मङ्सिरमा देशका विभिन्न ७ वटा मालपोत कार्यालयबाट अपार्टमेन्ट किनबेच भएको छ । विभागका अनुसार सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरबाट भएको छ । सो कार्यालय मार्फत मङ्सिरमा ७ वटा अपार्टमेन्ट किनबेच भएको हो । यस्तै, काठमाडौँको डिल्लीबजारबाट ५ वटा, टोखाबाट ४, चाबहिलबाट ३, र कलङ्की, कास्की र पर्साबाट १/१ वटा अपार्टमेन्ट किनबेच भएको हो ।
चालु आर्थिक वर्षको पाँच महिनामा देशभर १५७ वटा अपार्टमेन्ट किनबेच भएको देखिन्छ । पछिल्लो समय ठुलो सङ्ख्या अपार्टमेन्ट निर्माणाधीन अवस्थामा रहेकाले पनि यसको कारोबार न्यून भएको व्यवसायीहरू बताउँछन् । अधिकांश अपार्टमेन्ट निर्माणाधीन अवस्था रहेकाले हाल पुरानै अपार्टमेन्टहरूको किनबेच भएको एक व्यवसायीले बताए । उनले भने,‘अहिले अपार्टमेन्ट कारोबार अलि न्यून देखिन्छ । ठुलै सङ्ख्यामा अपार्टमेन्ट निर्माणाधीन अवस्थामा छन् । नयाँ भन्दा पनि पुराना नै बढी खरिदबिक्री भएको देखिन्छ ।’
कारोबारमा केही सुस्ता देखिए पनि आकर्षण कम भन्न नमिल्ने बताइन्छ । हाल देशका मुख्य ठुला सहरहरू काठमाडौं, पोखरा, विराटनगर, झापा लगायतका धेरै जिल्लाहरूमा अपार्टमेन्ट बन्दै छन् । काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुर, वीरगन्ज, रुपन्देही लगायतका ठाउँमा धमाधम अपार्टमेन्ट बनिरहेका छन् । यसले आगामी दिनमा थप कारोबार बढाउने व्यवसायीहरू बताउँछन् । यद्यपि, आर्थिक मन्दी लगायतका कारणले निर्माणाधीन अवस्थामा रहेका अपार्टमेन्ट समयमै सम्पन्न हुन नसकेको उनीहरूको भनाई छ ।
नेपालमा काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, रुपन्देही, वीरगन्ज, विराटनगर, झापालगायत ठाउँमा बहुतले आवास परियोजना अपार्टमेन्ट बनेका छन् । ठुलो सङ्ख्यामा अपार्टमेन्ट निर्माणाधीन अवस्थामा छन् । तर, कोभिड महामारी र मन्दीले सबै परियोजना निर्माण प्रभावित भएका व्यवसायी बताउँछन् । उनीहरू भन्छन्, ‘नयाँ बनिरहेका अपार्टमेन्टको निर्माण सम्पन्न भए लगत्तै अगामी दिनमा कारोबार थप बढ्ने छ । आर्थिक सङ्कट लगायतका कारण नयाँ परियोजनाहरू निर्माणमा ढिलाइ भइरहेको छ ।’
यद्यपि, अघिल्ला वर्षहरूको तुलनामा भने किनबेच बढेको व्यवसायीहरूको भनाई छ। ‘पछिल्लो समय आम मानिसको अपार्टमेन्टमा बस्ने प्रवृत्तिको पनि विकास बढ्दो छ । यता, संरचना निर्माण पनि बढ्दो नै छ । यसले अपार्टमेन्ट प्रति आकर्षण भने कम देखिँदैन’ ती व्यवसायीले भने ।
विभागको तथ्याङ्क अनुसार पनि गत आवको पहिलो पाँच महिनाको तुलनामा दोहोरो अङ्कले बढेको छ । गत आवको मङ्सिर महिनामा १३४ वटा अपार्टमेन्ट खरिदबिक्री भएको थियो । तर, यो वर्षको सोही अवधिमा भने थप २३ वटाले बढेर १५७ वटा कायम भएको छ ।
चालु आवको पहिलो महिना (गत साउन) मा ३० वटा, भदौमा ४५ वटा, असोजमा ३८ र कात्तिकमा २२ वटा अपार्टमेन्ट किनबेच भएको छ । गत आवको साउनमा भने २५ वटा, भदौमा ३१, असोजमा २२, कात्तिकमा ३० र मङ्सिरमा भने १३४ वटा अपार्टमेन्ट किनबेच भएको थियो ।
बिस्तारै आर्थिक गतिविधि बढ्न थालेका पनि अपार्टमेन्ट किनबेचले गति लिने व्यवसायीहरूको अपेक्षा छ । अघिल्ला वर्षहरूमा आर्थिक सङ्कट, उच्च बैङ्क ब्याजदर र तरलता अभावले पनि यस्तो कारोबार प्रभावित भएको थियो । आर्थिक शिथिलताकै कारण बैङ्कहरूले पनि पर्याप्त मात्रामा कर्जा प्रवाह गर्न सकिरहेका थिएनन् । त्यसले निर्माण भएका नयाँ तथा पुराना अपार्टमेन्ट बिक्री हुन गाह्रो भएको थियो । तर, पछिल्लो समय बैङ्कहरूको ब्याजदर पनि निरन्तर घटिरहेको छ । बैङ्कहरूले पनि सहज रूपमा कर्जा लगानी गर्ने अवस्था छन् । यसले पनि रियल स्टेट व्यवसायीहरू उत्साहित नै छन् ।