घर-जग्गासँगै बढ्न थाल्यो ‘अपार्टमेन्ट’ किनबेच: मासिक ३० युनिट कारोबार, कहाँ-कहाँ छ बढी आकर्षण ? « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

घर-जग्गासँगै बढ्न थाल्यो ‘अपार्टमेन्ट’ किनबेच: मासिक ३० युनिट कारोबार, कहाँ-कहाँ छ बढी आकर्षण ?



काठमाडौं । घर जग्गा कारोबार चरम मन्दीबाट विस्तारै बाहिर निस्कदैछ । पछिल्लो समय देशभर घर जग्गा कारोबार बढेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघ महिनामा मात्रै देशभर ५० हजार ९२१ वटा घर जग्गा खरिबिक्री भएको छ । यो गत वर्षको माघ महिनाकै तुलनामा भने २३.९३ प्रतिशत बढी हो । गत कात्तिकदेखि यता निरन्तर बढी रहेको छ ।
गत कात्तिकमा देशभर २६ हजार ६५ वटा घर जग्गाको लिखत पारित भएको थियो । यस्तै, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७७ वटा घर जग्गा किनबेच भएको थियो । यसरी क्रमिक रुपमा मासिक कारोबार बढेको छ ।

समग्र घर जग्गा कारोबारसँगै अपार्टमेन्ट खरिदबिक्रीमा पनि बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनामै देशभर २१० युनिट अपार्टमेन्ट किनबेच भएको छ । जुन गत आवको माघ मसान्तसम्मको तुलनामा १६.६६ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा पनि देशभर १८० वटा अपार्टमेन्ट खरिदबिक्री भएका थिए । विभागका अनुसार गत पुसमा २८ वटा अपार्टमेन्ट किनबेच भएको थियो । तर, माघ भने २५ वटा मात्रै अपार्टमेन्ट बिक्री भएका छन् । औसतमा मासिक ३० वटा अपार्टमेन्ट खरिदबिक्री हुने गरेको तथ्याङ्कले देखाउँछ । चालु आवको पहिलो अर्थात् साउनमा ३० वटा, भदौमा ४५ वटा, असोजमा ३८, कात्तिक र मंसिरमा २२/२२ वटा अपार्टमेन्ट किनबेच भएका थिए ।

विभागका अनुसार काठमाडौं उपत्यकामकै धेरै अपार्टमेन्ट कारोबार भएको छ । कारोबार आधारमा ललितपुरमा बढी आकर्षण देखिएको छ । तथ्याङ्क अनुसार माघ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय लखनखेल ललितपुर मार्फत ९ युनिट, डिल्लीबजार मार्फत ६ वटा अपार्टमेन्ट किनबेच भएको छ । यस्तै, काठमाडौंकको चावहिल ३ युनिट, कलंकीमा ४, टोखामा १ र गण्डकी प्रदेशको कास्की पोखरामा २ युनिट अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ ।

हाल पुरानै अपार्टमेन्ट नै खरिदबिक्री भएको व्यवसायीहरु बताउँछन् । धेरै संख्यामा अपार्टमेन्ट निर्माणकै चरणमा रहेकाले पनि कारोबार अपेक्षकृत रुपमा बढ्न नसकेको उनीहरुको भनाई छ । निर्माणाधीन अवस्थामा रहेका अपार्टमेन्ट सकिएपछि नै कारोबार बढ्ने व्यवसायीहरु बताउँछन् । हाल देशका मुख्य ठुला सहरहरू काठमाडौं, पोखरा, विराटनगर, झापा लगायतका धेरै जिल्लाहरूमा अपार्टमेन्ट बन्दै छन् । काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुर, वीरगन्ज, रुपन्देही लगायतका ठाउँमा धमाधम अपार्टमेन्ट बनिरहेका छन् । यसले आगामी दिनमा थप कारोबार बढाउने व्यवसायीहरू बताउँछन् ।

बिस्तारै आर्थिक गतिविधि बढ्न थालेका पनि अपार्टमेन्ट किनबेच सकरात्मक रुपमा बढ्ने बताइन्छ । अघिल्ला वर्षहरूमा आर्थिक सङ्कट, उच्च बैङ्क ब्याजदर र तरलता अभावले कारोबार चेपुवा परेको थियो । तर, पछिल्लो समय बैङ्कहरूको ब्याजदर पनि निरन्तर घटिरहेको छ । बैङ्कहरूले पनि सहज रूपमा कर्जा लगानी गर्ने अवस्था छन् । यसले पनि रियल स्टेट व्यवसायीहरू उत्साहित नै छन् ।

गत वर्षको ७ महिनामा १८० युनिट अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ । विभागका अनुसार गत आवको साउनमा २५ युनिट, असोजमा ३१, असोजमा २२, कात्तिकमा ३०, मंसिरमा २६, पुसमा २४ र माघ २२ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।


प्रतिक्रिया दिनुहोस्