काठमाडौं उपत्यकामा मासिक ३५ सय घर जग्गा किनबेच, ‘घर-घडेरी’का लागि कुन-कुन क्षेत्रमा बढी आकर्षण ? « Arthapath.com
८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं उपत्यकामा मासिक ३५ सय घर जग्गा किनबेच, ‘घर-घडेरी’का लागि कुन-कुन क्षेत्रमा बढी आकर्षण ?



काठमाडौं । काठमाडौं उपत्यकामा घर जग्गा कारोबारमा क्रमिक रूपमा सुधार आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मासिक औसत ३ हजार ४४४ वटा घर जग्गा किनबेच भइरहेको छ । 

पछिल्लो तीन महिनामै काठमाडौं उपत्यकाका तीन जिल्लामा घर जग्गा किनबेच शतप्रतिशत बढेको हो । गत कात्तिकमा उपत्यकाका मालपोत कार्यालयहरू  मार्फत २ हजार २० वटा घर जग्गाको लिखत पारित भएको थियो । तर, माघ मसान्तसम्म आइपुग्दा भने १०६.१८ प्रतिशत बढेर ४ हजार १६५ वटा कायम भएको छ । कात्तिकदेखि यता नै कारोबार क्रमिक रूपमा बढेको तथ्याङ्क छ । 

हाल उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर अन्तर्गत ९ वटा मालपोत कार्यालय मार्फत घर जग्गा खरिदबिक्री हुँदै  आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा भने कुल २४ हजार ११३ वटा घर जग्गा किनबेच भएको छ । 

सरकारले देशभर नै घर जग्गा कारोबार बढाउन नीतिगत सहजीकरण गरिदिएको छ । गत साउनदेखि नै सरकारले सहज कित्ताकाट खुलाउने निर्णय गरेको हो । यता, नेपाल राष्ट्र बैङ्कले पनि घर जग्गा क्षेत्रलाई गतिशील बनाउने नीति अघि सारेको छ । राष्ट्र बैङ्कले व्यक्तिगत आवासीय कर्जाको सीमा ५० लाखबाट बढाएर दुई करोड पुर्‍याएको छ । यस्तै, घर जग्गा धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । यस्तो सहज नीतिका कारण नै देशभर मासिक रूपमा घर जग्गा कारोबार बढ्दै गएको देखिन्छ । 

विभागका अनुसार माघ महिनामा पनि देशभर कुल ५० हजार ९२१ वटा घर जग्गाको लिखत पारित भएको छ। देशभर पनि  गत कात्तिकदेखि नै कारोबार बढेको विभागले जनाएको छ । गत कात्तिकमा देशभर २६ हजार ५६ वटा, मङ्सिरमा ४१ हजार ८५१ र पुसमा पनि ४५ हजार २७७ वटा घर जग्गाको लिखत पारित भएको थियो । 

पछिल्लो समय अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक रूपमा सुधारोन्मुख छन्, आर्थिक गतिविधि पनि चलायमान हुँदै गइरहेको छ ।  यस्तै, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पनि बढ्दो नै छ । बैङ्क ब्याजदर पनि घट्दो ट्रेन्डमा छ, कर्जाकै ब्याजदर पनि एकल अङ्कमा झरिसकेको छ । यस्ता सकारात्मक सङ्केतले  घर जग्गा कारोबार बढाएको छ । यसले आगामी दिनमा समेत कारोबार बढाउने व्यवसायीहरूको अपेक्षा छ । 

मासिक ३५०० घर जग्गा उपत्यकामा खरिदबिक्री, भक्तपुर र ललितपुरमा बढी चहलपहल

उपत्यकामा सबैभन्दा धेरै घर जग्गा भक्तपुर र ललितपुरमा हुने गरेको छ । यी दुई जिल्ला अन्तर्गतका मालपोत कार्यालय मार्फत नै धेरै किनबेच हुने गरेको देखिएको हो । 

चालु आवको सात महिनाको तथ्याङ्क हेर्न हो भने औसत मासिक ३ हजार ४४४ वटा घर जग्गा किनबेच हुने गरेको छ । विभागका अनुसार गत साउनमा ३ हजार ४१२ वटा, भदौमा ३ हजार ६४६, असोजमा ४ हजार २८४, कात्तिकमा २ हजार २०, मङ्सिरमा ३ हजार १७६ र पुसमा ३ हजार ४१० वटा घर जग्गा किनबेच भएका छन् । 

सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट ५ हजार ६९३ वटा खरिदबिक्री भएका छन् । यस्तै, दोस्रो सूचीमा रहेको मालपोत कार्यालय लगनखेल ललितपुर मार्फत पनि ७ महिनामा ५ हजार ६२३ वटा घर जग्गा लिखत पारित भएका छन् ।

काठमाडौँको कलङ्की पनि घर घडेरीको लागि आकर्षण नै मानिएको छ । विभागको तथ्याङ्क कलङ्की कार्यालय मार्फत ७ महिनामा ४ हजार १३३ वटा घर जग्गा किनबेच भएको छ । 

यस्तै,  काठमाडौँको चाबहिल कार्यालय मार्फत २ हजार ७०४,  साँघु मार्फत २ हजार ६१८, डिल्लीबजार कार्यालय मार्फत १ हजार २२३, मनमैजु मार्फत १ हजार ६९, टोखा मार्फत ९२८ र सबैभन्दा कम ललितपुरको गोटी खेल मार्फत १२२ वटा घर जग्गा किनबेच भएका छन्। 

७ महिनामा झन्डै ९ अर्ब राजश्व उठ्यो, कहाँ कहाँबाट हुन्छ बढी राजश्व सङ्कलन ?

चालु आवको ७ महिनामा पौन आठ अर्ब रुपैयाँ राजश्व सङ्कलन भएको छ।  उपत्यकामा भएको घर जग्गा कारोबारबाट ८ अर्ब ८८ करोड ५९ लाख ८२ हजार रुपैयाँ राजश्व उठेको छ ।

औसतमा मासिक १ अर्ब २६ करोड राजश्व उपत्यकाबाट सङ्कलन हुने गरेको छ ।  राजश्वमा पनि लगनखेल नै अगाडि छ । सो कार्यालय मार्फत १ अर्ब ९९ करोड ५ लाख ८८ हजार रुपैयाँ राजश्व ७ महिनामा उठेको छ । 

यस्तै, मालपोत कार्यालय डिल्लीबजार मार्फत १ अर्ब ४९ करोड ४९ लाख, भक्तपुरबाट १ अर्ब ४९ करोड ३३ लाख, साँघुबाट १ अर्ब ३० करोड ३० लाख, चाबहिलबाट १ अर्ब २९ करोड २१ लाख रुपैयाँ राजश्व संलकन भएको छ। 


प्रतिक्रिया दिनुहोस्