भक्तपुर र लगनखेलमा धेरै बिक्छन् घर घडेरी, कस्तो चल्दै छ काठमाडौं उपत्यकामा घरजग्गा कारोबार ?

काठमाडौं । काठमाडौं उपत्यकामा घर जग्गा कारोबार बढी रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा उपत्यकाको तीन जिल्लामा २८ बढी घर जग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार घर जग्गा किनबेच क्रमिक रूपमा बढेको देखिन्छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा कुल २८ हजार ३१६ वटा घरजग्गाको लिखत पारित भएको छ । हाल उपत्यकामा ९ वटा मालपोत कार्यालयबाट घरजग्गा खरिदबिक्री हुँदै आएका छन् ।
विभागका अनुसार उपत्यकामा मासिक औसत साढे ३ हजार घरजग्गा किनबेच हुने गरेको विभागले जनाएको छ। फागुनमा महिनामा मात्रै उपत्यकामा ४ हजार २०३ वटा घर जग्गा किनबेच भएको छ । यस्तै, माघमा ४ हजार १६५, पुसमा ३ हजार ४१० वटा, मङ्सिरमा ३ हजार १७६, कात्तिकमा २ हजार २० वटा घरजग्गा लिखत पारित भएको थियो । यस्तै, गत असोजमा ४ हजार २८४, भदौमा ३ हजार ६४६ र साउनमा ३ हजार ४१२ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।
पछिल्लो समय देशभर नै घरजग्गा कारोबार क्रमिक रूपमा बढी रहेको छ । विशेषगरि सहज नीति र आर्थिक गतिविधि बढ्न थालेसँगै घरजग्गा कारोबारमा पनि बढोत्तरी आउन थालेको हो । सरकारले देशभर नै घर जग्गा कारोबार बढाउन नीतिगत सहजीकरण गरिदिएको छ ।
गत साउनदेखि नै सरकारले सहज कित्ताकाट खुलाउने निर्णय गरेको छ । यता, नेपाल राष्ट्र बैङ्कले पनि घर जग्गा क्षेत्रलाई गतिशील बनाउने नीति अघि सारेको छ । राष्ट्र बैङ्कले व्यक्तिगत आवासीय कर्जाको सीमा ५० लाखबाट बढाएर दुई करोड पुर्याएको छ । यस्तै, घर जग्गा धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । यस्तो सहज नीतिका कारण नै देशभर मासिक रूपमा घर जग्गा कारोबार बढ्दै गएको देखिन्छ । बिस्तारै आर्थिक गतिविधि पनि चलायमान हुँदै गइरहेको छ, जसले घर जग्गा कारोबारमा पनि बढोत्तरी देखिएको छ।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पनि बढी रहेको छ, ब्याजदर पनि घट्दो ट्रेन्डमा छ । कर्जाकै ब्याजदर पनि एकल अङ्कमा झरिसकेको छ । यसले पनि कारोबार बढाउन टेवा पुगेको बताइन्छ । आगामी दिनमा कारोबारले थप गति लिने
भक्तपुर र लगनखेलमा बिक्छन् धेरै घर घडेरी
घरजग्गा किनबेच उपत्यकाको भक्तपुर र लगनखेलमा सबैभन्दा धेरै हुने गरिएको देखिन्छ । सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर मार्फत खरिदबिक्री हुने गरेको छ। विभागको तथ्याङ्क अनुसार सो कार्यालय मार्फत आठ महिनामा ६ हजार ६६४ वटा घरजग्गा किनबेच भएको छ ।
दोस्रो सूचीमा रहेको लगनखेल ललितपुरमा पनि आठ महिनाको अवधिमा ६ हजार ५५४ वटा घर जग्गा किनबेच भएको छ। यस्तै, उपत्यकामा काठमाडौंको चाबहिल र कलङ्कीमा पनि बढी आकर्षण देखिएको छ। आठ महिनामा सो चाबहिल कार्यालय मार्फत ३ हजार १५५ र कलङ्की मार्फत ४ हजार ८४० वटा घरजग्गा किनबेच भएको छ ।
यस्तै फागुन मसान्तसम्ममा मालपोत कार्यालय साँघु मार्फत ३ हजार २०, डिल्लीबजार मार्फत १ हजार ४३४ र ललितपुरको गोटी खेल कार्यालय मार्फत १४६ वटा घरजग्गा किनबेच भएको छ ।
आठ महिनामा १० अर्ब राजश्व उठ्यो
चालु आवको आठ महिनामा उपत्यकामा घरजग्गा किनबेचबाट १० अर्ब बढी राजश्व सङ्कलन भएको छ । समीक्षा अवधिमा १० अर्ब ३३ करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको हो । सबैभन्दा धेरै राजश्व लगनखेल कार्यालय मार्फत २ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ राजश्व उठेको छ ।
यस्तै, भक्तपुरबाट १ अर्ब ७२ करोड ५० लाख, डिल्ली बजारबाट १ अर्ब ६८ करोड ६६ लाख, चाबहिलबाट १ अर्ब ५२ करोड ५२ लाख, कलङ्कीबाट १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ।
यता, साँघु कार्यालय मार्फत पनि ५६ करोड २१ लाख, टोखा मार्फत ५० करोड ८२ लाख, मनमैजुबाट ४७ करोड ९९ लाख र गोटी खेल ललितपुरबाट ३३ लाख ४५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
मासिक रूपमा भने उपत्यकाबाट १ अर्ब २९ करोड १४ लाख रुपैयाँ राजश्व उठ्ने गरेको विभागले जनाएको छ । विभागका अनुसार फागुनमा मात्रै १ अर्ब ४४ करोड ५४ लाख, माघमा १ अर्ब ३० करोड ६६ लाख र पुसमा १ अर्ब १९ करोड ५४ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
गत मङ्सिरमा १ अर्ब ११ करोड ८३ लाख, कात्तिकमा ९० करोड २२ लाख, असोजमा १ अर्ब ८३ करोड ३३ लाख, भदौमा १ अर्ब ३८ करोड ६४ लाख र साउनमा १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।