दुई कम्पनीले आजै पारित गर्दैछन् लाभांश, कसले कति दिँदैछन् बोनस र नगद कति ?

काठमाडौं । आज अर्थात् चैत २७ गते मंगलबार दुई कम्पनीको साधारण सभा हुँदैछ । सगरमाथा लुम्बिनी इन्सुरेन्स र ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो वार्षिक साधारण सभा बस्न लागेका हुन् । यी दुवै कम्पनीको साधारण सभाले लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।
सगरमाथा लुम्बिनीले ५ प्रतिशत नगद लाभांश र ग्रीन डेभलपमेन्टले आफ्ना सेयरधनीलाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
सलिकोको सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । यस्तै सभाले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ ।
यस्तै, ग्रीन डेभलपमेन्ट बैंकले आव २०७८/७९ र २०७९/८० को वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश प्रस्ताव पेश सहित २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।
सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ । यता,
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ ।