१९ प्रतिशत बढ्यो रेमिट्यान्स, ११ महिनामा १३ खर्ब २७ अर्ब भित्रियो

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) सवा १३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल १३ खर्ब २७ अर्ब ५० करोड ८० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा १९.३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने ११ खर्ब ६ अर्ब ४५ करोड ६५ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड १८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । गत आवको सोही अवधिमा पनि ८ अर्ब ४६ करोड ३७ लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल आएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख माथि छ । जेठ मसान्तसम्म कुल ४ लाख २२ हजार ९३६ जनाले श्रम स्वीकृति लिएका छन् ।
समिक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।