नेपाल भित्रियो चिनियाँ प्रिमियम ईभी ‘अवतार’, डेढ करोडमै टेस्लाको प्रतिस्पर्धी गाडी पाइने

काठमाडौँ । नयाँ चिनियाँ ब्राण्ड अवतारको गाडी नेपाल आइपुगेको छ । नाडा अटो शो २०२४ मा विशेष आकर्षणको रुपमा ‘अवतार–११’ प्रदर्शन हुने भएको छ ।
आगामी भदौ ११ देखि १६ गतेसम्म काठमाडौँमा चल्ने १६औं संस्करणको ‘नाडा अटो शो २०२४’ मा अवतारको गाडी लञ्च हुने छ । अवतार टेक्नोलोजी कम्पनीले उत्पादन गरेको यो गाडी सन् २०२२ मा चीनमा लञ्च भएको थियो ।
चीनकै अर्को अटो निर्माता छाङ्गआन अटोमोबाइल्सको सहायक कम्पनी हो अवतर । यसले प्रिमियम गाडी उत्पादन गर्छ । अवतार ११ पनि प्रिमियम एसयूभी कार हो । यसले अमेरिकी अटो निर्माता टेस्लाको मोडल वाईसँग सीधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
नेपालका दुई ब्यवसायीक घराना सिजी ग्रुप र एमएडब्लू ग्रुपले मिलेर अवतार–११ भित्र्याएका हुन् । वितरकले यो मोडलको गाडीको विक्री मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीले भन्सारबाट गाडी छुटाउनको लागि अधिकतम खुद्रा मूल्य प्रकाशन गर्दा १ करोड ४५ लाख राखेको हो । तर, बजारमा त्योभन्दा कम मूल्यमा बिक्री हुन सक्ने बताइएको छ ।
चीनमा निर्माता कम्पनीले यो गाडीको सन्दर्भ खुद्रा मूल्य ३ लाख ८ सय युआन (आजको विनिमय दर अनुसार रू. ५५ लाख ४६ हजार ७५२) तोकेको कम्पनीको वेवसाइटमा देखिन्छ ।
अवतार टेक्नोलोजीमा छाङ्गआन अटोमोबाइल्सको ४१ प्रतिशत स्वामित्व छ । उसले चीनकै ब्याट्री उत्पादक सीएटीएल र प्रविधी कम्पनी हुवावेसँग मिलेर यो कम्पनी सुरु गरेको हो । कम्पनीले पहिलो वर्ष सन् २०२२ मा साढे ७ सय गाडी बेचेकोमा दोस्रो वर्ष झण्डै २८ हजार गाडी बेचेको थियो । कम्पनीले २०२३ मै अवतार १२ पनि लञ्च गरिसकेको छ । यो गाडी भने अवतार ११ भन्दा सस्तो मूल्यमा पाइन्छ ।

नेपाल भित्रिएको अवतार ११ मा स्ट्याण्डर्ड एयर सस्पेन्सन रहेको कम्पनीले जनाएको छ । गाडीमा सीट हिटर जडान गरिएको र ‘साउण्ड पर्फरमेन्स’का लागि २५ वट स्पिकर लगाइएको वितरकले जनाएको छ ।
यो गाडी इरानी मूलका जर्मन अटो–डिजाइनर नादेर फगिजादेहले डिजाइन गरेका हुन् । उनी १७ वर्षसम्म बीएमडब्ल्यूमा काम गरेर सन् २०१९ मा अवतारमा सहसंस्थापक एवम् प्रमुख डिजाइन अफिसर बनेका थिए ।
अवतारमा ९०.३८ किलोवाट आवरको ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५५५ किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।
अवतार ११ मा २३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहने छ । सीएचएन प्लेटफर्ममा बनेको एसयूभीको लम्बाई ४८८० एमएम, चौडाई १९७० एमएम, उचाई १६०१ एमएम र ह्वीलबेस २९७५ एमएम छ ।

हाइभोल्टेज प्लेटफर्ममा बनेको कारण यो गाडीको ब्याट्रीले २४० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई १० मिनेट चार्जगर्दा २०० किलोमिटर कुदाउन सकिन्छ ।
हुवावेको सेयर लगानी नभए पनि उसको प्राविधिक साझेदारीमा यो ईभीमा सूचना प्रविधिको पनि भरपुर प्रयोग गरिएको छ । यसमा ३४ वटा फरक सेन्सर छ, जसले कम्प्लेक्स इन्टेलीजेन्ट ड्राइभलाई सहज बनाउँछ । अवतार ११ ईभीमा ३ वटा लाइडार रहेको छ । जसले हाइवे ड्राइभ र साँघुरा बाटाहरूमा पनि चालकलाई कुनै समस्या हुँदैन ।
प्रिमियम एसयूभीमा २ वटा वायरलेस मोबाइल चार्जिङ प्याड, रोड न्वाइज क्यान्सिलेसन जस्ता सुविधा जडित भएको बताइएको छ । यसको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर र १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन उपलब्ध गराइएको छ । पछाडि बस्ने यात्रुका निम्ति अलग्गै १०.२५ इन्चको डिस्प्ले स्क्रीन राखिएको छ ।