महंगीको मारमा उपभोक्ता : एक महिनामा २१४ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य
काठमाडौं । पछिल्लो एक महिनामा तरकारीको मूल्य प्रतिकिलो २ सय १४ प्रतिशतसम्मले बढेको छ । गत साउन २६ गतेको तुलाना आज (भदौ २६ गते) तरकारीको मूल्य २१४.८१ प्रतिशतसम्म महंगिएको हो ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीका अनुसार तिते करेलाको मूल्य एक महिनामा २१४.८१ प्रतिशतले बढेको छ । गत साउन २६ गते प्रतिकिलो २७ रुपैयाँमा बिक्री भएको तिते करेला आज प्रतिकिलो ८५ रुपैयाँमा बिक्री भइरहेको छ ।
त्यसैगरी सेलरीको मूल्य प्रतिकिलो १३६.३६ प्रतिशतले महंगिएको छ । साउन २६ गते प्रतिकिलो २७५ रुपैयाँमा बिक्री भएको सेलरी आज प्रतिकिलो ६५० रुपैयाँमा बिक्री भइरहेको छ ।
पार्सले प्रतिकिलो ३१.५८ प्रतिशतले बढेर १२५० रुपैयाँ कायम भएको छ । तने बोडीको मूल्य पनि प्रतिकिलो १५.३८ प्रतिशतले बढेर ७५ रुपैयाँ कायम भएको छ । गत साउन २६ गते यो तरकारीको मूल्य ६५ रुपैयाँ थियो ।
घिउ सिमिको सिमि (लोकल) को मूल्य करीब २१ प्रतिशतले बढेको छ भने हाइब्रिडको मूल्य २५ प्रतिशतले बढेको छ । यसको मूल्य प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ ।
लौका, घिरौला, च्याउ, कुरिलो लगायतको मूल्य पनि अचाक्ली महंगिएको छ । एक महिनामा बन्दा (रातो) प्रतिकिलो ७२ प्रतिशतले बढेको छ । रायोको साग प्रतिकिलो १३.७९ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ । काउली स्थानीय प्रतिकिलो ४४.७४ प्रतिशत बढेर ११० रुपैयाँ र स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३४.४८ प्रतिशतले बढेर १३० रुपैयाँ पुगेको छ ।
यस्तै पुदिना १३ प्रतिशतले बढेको छ भने हरियो खुर्सानीको मूल्य १६ प्रतिशतले बढेको छ । अकबरे खुर्सानी (हरियो) ८.८९ प्रतिशतले बढ्दा भेडे खुर्सानी प्रतिकिलो ७७.४२ प्रतिशतले बढेको छ ।
हरियो लसुनदेखि सुकेको लसुनसम्मको मूल्य बढेका छन् । हरियो लसुन प्रतिकिलो ३७.३८ प्रतिशतले बढेर २२६ रुपैयाँ पुगेको छ । सुकेको लसुन (नेपाली) प्रतिकिलो २० प्रतिशत बढेर २७० रुपैयाँ पुगेको छ । सुकेको लसुन (चाइनिज) २६ प्रतिशत बढेर ३१० रुपैयाँ पुगेको छ ।
हरियो र सुकेको दुवै छ्यापीको मूल्य बढेको छ । हरियो छ्यापिको मूल्य ७१ प्रतिशत बढेर ३२६ रुपैयाँ पुगेको छ भने सुकेको छ्यापी ६.४५ प्रतिशत बढेर १६५ रुपैयाँ पुगेको छ । गोलभेडा (टनेल) को मूल्य ४.७९ प्रतिशत बढेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ ।
एक महिनाको अवधिमा काँक्रो, जिरीको साग, ब्रोकाउली, न्यूरो, हरियो प्याज, तोरीको साग, भटमास कोसा, ताते सिमी, भन्टा, मुला, लोकल बन्दा, गाजर, लोकल गोलभेडा लगायत तरकारीको भाउ भने घटेको छ ।
यद्यपि बजारमा समितिले तोकेको मूल्यभन्दा महँगो पर्ने गरेको छ । उपभोक्ता दैनिक रुपमा महंगो तरकारी किन्न बाध्य छन् ।