दशैँमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? तपाईंको रोजाइ बन्न सक्छन् यी साइट « Arthapath.com
८ आश्विन २०८१, मंगलवार

दशैँमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? तपाईंको रोजाइ बन्न सक्छन् यी साइट



काठमाडौं। नेपालीहरूको महान पर्व नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । दशैँ भन्ने बित्तिकै राम्रो लागाउने र मिठो खाने पर्वको रूपमा चिनिन्छ । त्यसैले पनि बजारमा चहलपहल बढ्न थालेको छ ।

अन्य चाडवाडको तुलनामा दशैँमा बढी सरसामान र लत्ताकपडा किन्ने गरिन्छ । त्यसो हुँदा पनि अहिले बजारदेखि अनलाइनमार्फत व्यवसाय गरिरहेकाहरू भ्याइनभ्याइ बनेको छ । यस वर्षको दशैँ असोज १७ गतेदेखि प्रारम्भ हुन्छ । त्यसो हुँदा प्राय नेपालीहरु किनमेलको तयारीमा जुटिसकेका छन् ।

कतिपय मानिसहरू किनमेलका लागि बजार नै धाउने गर्छन् । प्रविधिको द्रुत विकाससँगै कतिपयले भने अनलाइनको माध्यमबाटै पनि सपिङ गर्ने गरेका छन् । यसो हुँदा खचाखच भिडभाडमा पुग्न पनि नपर्ने समयको पनि बचत । त्यसमा पनि घरमै आफूले रोजेको सामान पनि आइपुग्ने ।

पहिलेपहिले किनमेलका लागि बजारमै धाउनुपर्ने बाध्यता थियो । तर अचेल समय फेरिएको छ । सामान किन्न दोकान धाउनु पर्दैन । केही वर्षअघिसम्म सीमित मात्रामा रहेका अनलाइन सपहरू पनि बढेका छन् । सन् २०१८ देखि नेपालमा अनलाइन सपिङ बढ्न थालेको हो ।

अहिले सबैको हातहातमा मोबाइल छ । पसल पनि मोबाइलमै । एक क्लिकको भरमा आफ्नो रोजाइको सामान किन्न पाइने । सामान लिन अन्त धाउनै पर्दैन । दैलोमै आइपुग्छ । 

अनलाइन सपिङ व्यस्त दैनिकी भएकाहरूको लागि त बरदान नै साबित भएको छ । घर, कार्यालय वा अन्य जुनसुकै स्थानबाट आफ्नो रोजाइको सामान अर्डर गर्न सकिन्छ । घरभन्दा बाहिर रहेकाहरूले समेत आफ्ना परिवारका लागि सपिङ गराउन सक्ने माध्यम बनेको छ अनलाइन सपिङ ।

तर अनलाइनबाट सपिङ गर्दा सजग भने रहनुपर्छ । अहिले बजारमा च्याउसरी अनलाइन पसल खुलेका छन् ।  त्यसो हुँदा विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेका छन् । दिनप्रतिदिन अनलाइन सपिङ गर्दा ठगिएको घटनाहरुका बाहिरिने गरेका छन् । त्यसैले अनलाइन सपिङ गर्दा विश्वसनीय साइटको छनोट गर्नुपर्ने हुन्छ ।

धेरैजसो स्थापित सपिङ साइटबाट सामान किन्दा समस्या हुँदैन । तर फेसबुक लगायत सामाजिक सञ्जालमा देखिने विज्ञापन तथा पोस्टहरूमा भर परेर सामान किन्नेहरू बढी ठगीमा पर्ने गरेका घटनाहरू धेरै छन् । अनलाइनमा सामान किन्न सजिलो तर चिन्न गाह्रो हुन्छ ।

आज हामी तपाईंलाई नेपालका केही भरपर्दा अनलाइन सपिङ साइटहरुको बारेमा जानकारी गराउँदै छौं ।

१. दराज डट कम

दराज अनलाइन सपिङका लागि एउटा भरपर्दो माध्यम हो । २०१२ मा पाकिस्तानबाट आफ्नो व्यावसायिक यात्रा सुरू गरेको दराजले नेपालमा जुलाई २०१६ बाट आफ्नो यात्रा सुरू गरेको हो । विभिन्न एसियाली मुलुकमा समेत यसले सेवा प्रवाह गरिरहेको छ ।  दराज डट कम नेपालकै उत्कृष्ट अनलाइन सपिङ स्टोरका रुपमा स्थापित छ । यहाँ इलेक्ट्रोनिक्स, सौन्दर्य र फेसनसँग सम्बन्धित सामाग्रीहरु सुपथ मूल्यमा पाइन्छ । बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको सामान एकै ठाउँमा पाइन्छ ।

विक्रेता र खरिदकर्ता दुवैका लागि दराज उत्तम विकल्प हो । किनभने यसले मल्टिभेन्डर विकल्पहरू पनि प्रदान गर्दछ । जसमा विक्रेता वा पसल भएको व्यक्तिले दराजमा दर्ता गर्न र दराजको वेबसाइटमा उत्पादनहरू बेच्न दराजसँगै काम गर्न सक्छन्। दराज चीनको अग्रणी इकमर्स साइट अलिबाबासँग समेत जोडिएको छ।

२. हाम्रो बजार डट कम

अनलाइन सपिङ गर्नेको लागि अर्को रोजाइ बन्न सक्छ हाम्रो बजार । हाम्रो बजारमार्फत जो कोहीले पनि आफ्ना नयाँ, पुराना सामाग्रीहरु बेच्न सक्छन् । हाम्रो बजारले नेपालमा सेकेन्ड ह्यान्ड उत्पादनको खरिद र बिक्रीलाई अर्को तहमा पुर्‍याएको छ । यहाँ इलेक्ट्रोनिक्स, अटोमोबाइल लगायतका सामाग्रीहरु उपलब्ध छन् । बिक्रेता र ग्राहकले एकअर्कासँग सम्पर्क गरेर सामानको मूल्य निर्धारण गर्छन् । नेपालमा अनलाइन खरिद र बिक्रीका लागि तपाइँको पहिलो रोजाइ हुन सक्छ। यसले  धरायसी सामान, इलेक्ट्रोनिक सामान, लत्ता कपडा, खाद्यान्न, फर्निचर लगायतका सम्पुर्ण सामाग्री उपलब्ध गराउदै आएको छ ।

३. सोचेको डट कम

सोचेको डट कम नेपालमा अनलाइन किनमेलका लागि अग्रणी, द्रुत र भरपर्दो साइटहरू मध्ये एक हो । यो ५०० भन्दा बढी विविध श्रेणीहरूमा १० हजारभन्दा बढी उत्पादनहरूको फराकिलो वर्गीकरणको साथ नेपालको नम्बर एक अनलाइन किनमेल बजार हो । राष्ट्रिय, विश्वव्यापी ब्रान्डहरू र खुद्रा विक्रेताहरूबाट सबै उत्पादनहरू र कोटीहरू यहाँ उपलब्ध छ ।

यहाँ स्मार्टफोन, मोबाइल, ल्यापटप, लुगाहरू, जुत्ता, घडीहरू र अन्य सामानहरू खरिद गर्न सकिनेछ । यहाँ फेसन, इलेक्ट्रोनिक्स, जीवनशैली आदिका विभिन्न उत्पादनहरूमा उत्कृष्ट मूल्यहरू प्राप्त गर्न सकिने छ ।

४. मुञ्चा डट कम

मुञ्चा डट कम मुञ्चा हाउसको अनलाइन संस्करण हो । यद्यपी, यसलाई अनलाइन साइटकै रूपमा वर्गीकृत गर्न सकिन्छ । यहाँ लेडिज तथा जेन्ट्सका कपडा, जुत्तादेखि लिएर एक्सेसरिज, घरेलु उपकरण आदिजस्ता आवश्यक सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् ।

५. भाटभटेनी अनलाइन सपिङ

भाटभटेनी नेपालको सबैभन्दा ठूलो किनमेल केन्द्र हो । जसको सुपर मार्केट नेपालको लगभग सबै शहरहरूमा उपलब्ध छ । भाटभटेनीले पनि प्रयोगकर्तालाई अनलाइन सपिङको गर्दै आएको छ । यसले अनलाइन किनमेलको अनुभवलाई छिटो, सजिलो र सुरक्षित बनाउन हरसम्भव प्रयास गरिरहेको छ। १० हजारभन्दा बढी ग्राहकहरू दर्ता भएको यो पनि विश्वसनीय अनलाइन सपिङको माध्यम बनेको छ ।

६. फुडमान्डु डट कम

दशैँ नयाँ कपडा र सरसामान किन्ने चाड मात्र नभएर परिवारजनसँग बसेर मीठामीठा परिकार खाने चाड पनि हो । त्यसैले घरमै बनेका मासुका परिकार खाएर थकित जिब्रोलाई छुट्टै स्वाद दिने भरपर्दो माध्यम हो फुडमान्डु । फुडमान्डु खाना डेलिभर गर्ने नेपालकै पहिलो अनलाइन साइट हो । यसको वेबसाइट वा एपको माध्यमबाट आफूलाई मनपरेको रेस्टुरेन्टबाट खाना अर्डर गर्न सकिन्छ ।

७. स्मार्ट डोको डटकम 

स्मार्टडोको नेपालको ईकमर्स उद्योगमा नयाँ सदस्य हो। स्मार्टडोको बढ्दो अवस्थामा छ र राम्रोसँग बढिरहेको छ। यहाँ खाद्यान्न, टिभी, घरायसी उपकरणहरू, ताजा खानाहरू, रक्सी उपहार तथा  स्वास्थ्य सामग्रीहरू पाइन्छन् ।

८. मेरो अनलाइन सपिङ डट कम

अनलाइन किनमेलको भरपर्दो अर्को नाम हो मेरो अनलाइन सपिङ । यसको लोकप्रियता चुलिँदो छ । यसले काठमाडौं उपत्यकाका साथै पोखरा, बुटवल, चितवन, धरान, सुर्खेत, वीरगन्ज, विराटनगर, झापा र नेपालगञ्जमा अनलाइन सपिङ उपलब्ध गराउने गराउँदै आएको छ । यहाँ नयाँ ग्याजेटहरू, उत्पादनका सामानहरू र सौन्दर्य सामग्रीहरू उपलब्ध छन्। 

९. ठूलो डट कम

विश्वभरका व्यवसाय र व्यक्तिहरूलाई सशक्तिकरण गर्न समर्पित नेपालको प्रमुख अनलाइन बजार ठूलो डट कम पनि नेपालमा अनलाइन सपिङका लागि प्रख्यात छ । जसले गुणस्तरीय उत्पादन र सेवाहरूको विस्तृत दायरा प्रदान गर्दछ।  १५ वर्षभन्दा लामो समयदेखि इ-कमर्श व्यवसाय गरिरहेको ठूलो डट कममा १० हजारभन्दा विक्रेता र अनलाइन स्टोरहरू छन् । ६ हजारभन्दा बढी कोटी र २ लाख ५० हजारभन्दा बढी उत्पादन र सेवा सूची आवद्ध छ ।  यहाँबाट अन्तर्राष्ट्रिय ब्रान्डहरूदेखि स्थानीय रूपमा बनाइएका सामानहरू सजिलै पाइन्छ ।

यी बाहेक भकारी डट कम, सोचेको डट कम, मेट्रो तरकारी, ओकेदाम डट कम, नेपाली अनलाइन सपिङ, फेसन डटकम, कपडा डटकम, क्ल्थ्स नेपाल डट कम,  गोदाम  अनलाइन, मेरो किराना, ग्यापू डट कम लगायत साइटहरु पनि नेपालका केही नाम चलेका साइटहरु हुन् ।


प्रतिक्रिया दिनुहोस्