उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन, महँगी ४.१ प्रतिशत कायम

काठमाडौं । साउन महिनामा बजार महँगी ४.१ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धिको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ । केन्द्रिय बैंकले नयाँ आधार वर्ष २०८०–८१ अनुसार मुद्रास्फीति गणना गरेको हो । नयाँ आधार बर्षको अनुसार गणना गरेको यो पहिलो मुद्रास्फीति हो । यसअघि २०७१–७२ लाई आधार वर्ष मानेर यस्तो तथ्यांक गणना गर्दै आएको थियो । साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
देशको सातै प्रदेशको प्रादेशिक उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
मूल्य सूचकाङ्क गणनाका लागि भारित वस्तु डालोमा २४९ वस्तु तथा सेवा समुह अन्तर्गत ५२५ वस्तु तथा सेवाहरुको मूल्य संकलन गरिएको छ । तीमध्ये साप्ताहिक, मासिक र त्रैमासिक रुपमा संकलन हुने वस्तु तथा सेवाहरुको संख्या क्रमशः ५९, ९४ र ३७२ वटा रहेका छन् । नयाँ मूल्य सूचकाङ्क प्रदेशगत रुपमा समेत प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।
मूल्य संकलनका लागि ७७ वटै जिल्ला समावेश हुने गरी तराई क्षेत्रबाट २८, पहाडी क्षेत्रबाट ४३ र हिमाली क्षेत्रबाट १६ गरी जम्मा ८७ वटा बजारकेन्द्रहरु छनौटमा परेका छन् । जसमध्ये २१ वटा ग्रामीण तथा ६६ वटा सहरी बजारकेन्द्रहरु रहेका छन् । प्रदेशगत रुपमा यी बजारकेन्द्रहरु मध्ये कोशी प्रदेशमा १५, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० वटा बजारकेन्द्रहरु रहेका छन् ।
राष्ट्र बैंकका अनुसार साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.२८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०३ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेश प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.९० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत रहेको थियो ।