महँगो तिहार : चहलपहल बढ्यो, बढेन व्यापार (फोटोफिचर)

काठमाडौं । हिन्दु नेपालीहरू दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड असन, इन्द्रचोक, मखनगल्लि लगायत स्थानमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको घुइँचो लाग्न थालेको छ ।
विशेष गरी तिहारका लागि आवश्यक पर्ने, माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, भाइमसला, कपडाको किनमेल बढ्न थालेका हुन् । अहिले यी स्थान तिहारका लागि आवश्यक पर्ने सामग्रीले भरिभराउ देखिन्छन् । केही दिनयता किनमेलको चहलपहल बढेको छ ।
बजारमा चहलपहल बढे पनि सोचेअनुरुपको व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् । बढ्दो महँगी र आर्थिक मन्दीको असर बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् ।

अहिले न्यूरोड असन, इन्द्रचोक, मखनगल्लि, इन्द्रचोक लगायत स्थानमा भाइमसलादेखि माटोको पाला किन्नेहरूको भीड लाग्न थालेको छ। तर उनीहरूलाई बजारको मूल्यले झस्काउने गरेको छ । कतिपय त ग्राहक मूल्य सोधेर फर्किने गरेका छन् ।
बनस्थलीदेखि भाइमसला किन्न मखनगल्लि आइपुगेकी इन्दिरा श्रेष्ठलाई बजारमा छोइनसक्नु मूल्य बढेको गुनासो गर्छिन् । ‘अहो मूल्य पनि कति बढेको । जुन सामान छोयो उही महँगो । अब त चाडपर्व मान्न पनि नसकिने भइयो’ उनी भन्छिन् ।

यो गुनासो इन्दिराको मात्र होइन किनमेल गर्ने जाने हरेक ग्राहकको गुनासो यही हुने गरेको छ । मखनगल्लिमै व्यवसाय गर्दै आएका बिक्की महर्जन होलसेलबाटै मूल्य बढेर आएको सुनाउँछन् । अहिले काजु पेस्ता बदाम लगायत सामग्रीको मूल्य बढेर आएको उनले बताए ।
इन्द्रचोक भाडा पसल सञ्चालन गर्दै आएका राजाराम तिवारी पनि अहिले बजारमा किन्नेभन्दा पनि सोध्ने ग्राहक बढी आउने गरेको बताउँछन् । यदपि विगतका तुलनामा तिहार नजिकिएसँगै व्यापार भने बढेको उनले सुनाए । उनले विभिन्न भाडाकुँडा बेच्दै आएका छन् । यसका साथै विभिन्न देवी देवताको मूर्तिहरू पनि बेच्दै आइरहेका छन् । अन्य बजारको जस्तै तिहारमा अधिक मात्रामा बिक्री हुने चाँदी तथा तामा पित्तलका भाँडाकुडा खरिद गर्नेहरुको बजारमा चाप बढ्न थालेको छ । व्यवसायीले ललितपूरको पाटन र भक्तपुरबाट ल्याएर भाडाकुँडा बेच्ने गरेका छन् ।

ढाका टोपी र झिलिमिली बत्तिको व्यवसायलाई पनि तिहारले बढाएको छ । त्यसैगरी पाला, पुजाको सामग्रीदेखि रंगोली किन्नेहरूको पनि भीड लाग्न थालेको छ । यस वर्षको तिहार आगामी साता अर्थात् कात्तिक १४ गतेबाट सुरू हुँदैछ ।
तस्वीरमा हेर्नुहोस् तिहारको चहलपहल :





