तिहारले बढायो कुमाले समुदायको व्यस्तता, बजारमा बढ्यो पालाको माग

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय र सोसँग व्यवसाय गर्दै आइरहेका व्यवसायीको व्यस्तता बढेको छ ।
अहिले भक्तपुरका कुमाले (प्रजापति) समुदायको व्यस्तता निकै बढेको छ । दशैँपछि नै कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याइ हुने गरेको छ । व्यापारीहरू पाला लिन घरमै पुग्ने गरेका छन् । त्यसो हुँदा मागअनुसार पाला बनाउन उनीहरू दिनरात काम गर्ने गरेका छन् ।
अहिले भक्तपुरको पोर्टरी स्क्वायरका प्रजापति समुदायका अधिकांश परिवार तिहारका लागि आवश्यक पाला, धुपौरो, घैँटोलगायत अन्य सामग्री बनाउन व्यस्त छन् । कतिपयले पाला बजार पठाइसकेका छन् । कतिपय बनाउँदै छन् भने कतिले भट्टीमा पोल्दै गरेका छन् । विशेष गरी लक्ष्मी पुजाको दिन पालाको अधिक खपत हुने गरेको छ ।

तिहारमा माटोका पाला, भिउँट, धुपौरोको माग बढी आएको हुने गरेको छ । कुमाले समुदायले पुर्खाले वर्षौंदेखि गर्दै आएको पेसालाई अँगाल्दै आइरहेका छन् ।
पोटरी स्क्वायरका ४० परिवारमा माटोका भाँडा बनाएर जीविकोपार्जन गर्दै आइरहेका छन् । करीब ९० घर यो पेसामा आश्रित रहँदै आएकोमा २०७२ को भूकम्पयता भने ४० परिवार खुम्चिएको छ ।
उनीहरू बजारको माग अनुसार माटोको भाँडा बनाउँदै आइरहेका छन् । भक्तपुरमा बनेका पाला र भाँडा भक्तपुरका साथै अन्य जिल्ला र विदेशमा समेत निर्यात हुने गरेको छ । उनीहरूले एउटा पाला होलसेलमा २ रुपैयाँ र खुद्रा ४ रुपैयाँमा बिक्री गरिरहेका छन्।
बजारमा भने साइज अनुसार पालाको मूल्य प्रतिगोटा पाँच रुपैयाँदेखि १०, १५ र २० रुपैयाँ पर्ने गरेको छ ।
अहिले असन लगायत मुख्य बजारमा पालासहितका माटोको भाँडाकुँडा बिक्री हुन थालेका छन् ।
पछिल्ला केही वर्षयता भारतबाट आयातीत पाला र विद्युतीय बत्तीले माटोका सामग्रीको माग विगतको तुलनामा घट्न थालेको व्यवसायीहरू बताउँछन् । जसले गर्दा कतिपय कुमाले समुदाय माटोको भाँडाकुँडा बनाउने पेसाबात पलायन हुन थालेका छन् ।