तिहारले बढायो ढाका टोपीको व्यापार
काठमाडौं । तिहार नजिकिएसँगै ढाका टोपीको व्यापार बढेको छ ।
एउटा टोपीको एक सय रुपैयाँदेखि माथि पर्ने उनले बताइन् । एक हजार रुपैयाँसम्मको टोपी अधिक खपत हुने गरेको छ । तिहार टोपीको साथै ढाकाबाट बन्ने अन्य कपडाहरू पनि बिक्री हुने गरेको छ ।
विशेष गरेर तिहारमा दिदीबहिनीले दाजुभाइलाई ढाका टोपी उपहार दिने चलन रहेको छ । दिदीबहिनीले सप्तरंगी टिका लगाएपछि दाजुभाइलाई सयपत्री र मखमलीको माला र शिरमा ढाकाटोपीले लगाइदिने गर्छन् ।
तिहारमा ढाका टोपी लगाउँदा मान प्रतिष्ठा बढ्ने विश्वास छ । पछिल्लो समय त दिदीबहिनीले समेत ढाका टोपी लगाउने चलन विकसित हुँदै गइरहेको छ ।
तिहारमा अन्य समयको तुलनामा ढाका टोपीको खपत बढी हुने गरेको व्यवसायीहरू बताउँछन् ।
तिहार नजिकिएसँगै ढाका टोपीको व्यापार गर्नेहरूको व्यस्तता मात्र बढेको छैन । असन, इन्द्रचोक, भोटाहिटी लगायत स्थानमा ढाकाको सामग्रीले सजिन थालेको छ । ढाका टोपीका पसलमा किन्ने मानिसहरुको चहलपहल देख्न सकिन्छ ।
ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोसाकका रुपमा समेत स्थापित छ । पछिल्लो समय नयाँ पुस्ताले पनि ढाका टोपीको प्रयोग गर्न थालेसँगै व्यापार पनि बढेको व्यवसायीहरु बताउँछन् ।
इन्द्रचोकमा ढाकाका सामग्री बेच्दै आएकी ममता कार्की तिहारमा ढाका टोपीको बिक्री बढी हुने गरेको बताउँछिन् । करीब ७ वर्षदेखि यो व्यवसाय गर्दै आएकी ममतालाई तिहारमा भ्याइनभ्याइ हुने गरेको छ । अन्य समयको तुलनामा यो समयमा व्यापार दोब्बर हुने गरेको उनले बताइन् । एउटा टोपीको मूल्य एक सय रुपैयाँदेखि माथि हुने गरेको छ । एक सयदेखि एक हजार रुपैयाँसम्मका टोपी अधिक खपत हुने उनले बताइन् ।
तिहारमा ढाका टोपीको अलावा पर्स, ब्याग, गलबन्दी, कुर्ता र दौरासुरुवाल पनि बिक्री हुने गरेको छ । तिहार बाहेक विभिन्न चाडपर्व, विवाह ब्रतबन्ध, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ । राष्ट्रिय पोशाक दिवसको दिन पनि अत्यधिक ढाकाको टोपी खपत हुने गरेको व्यवसायीहरू बताउँछन् ।
त्यसैले तिहार नजिकिदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यपारीहरु बताउँछन् ।