किन घट्न थाल्यो नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स ?

काठमाडौं । नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स घट्न थालेको देखिन्छ ।
आर्थिक शिथिलताका कारण नेपालमा ठुला आयोजना लगायतका निर्माणका गतिविधि बढ्न सकेको छैन । पूर्वाधार विकास निर्माणका काम वृद्धि हुन नसक्दा नै विदेशी कामदारले नेपालबाट लैजाने रेमिट्यान्स घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामामै यस्तो रेमिट्यानस आधा घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आवका साउन र भदौ महिनामा ५७ करोड ५१ लाख रुपैयाँ मात्रै रेमिट्यान्स विदेशी कामदारले लगेका छन् ।
यो गत आवको सोही अवधिको तुलनामा भने ६८.३६ प्रतिशत कमी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट १ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ औपचारिक रुपमा नेपालबाट बाहिरिएको थियो । गत आवको साउन र भदौमा १ करोड ३७ लाख अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो । तर, चालु आवको सोही अवधिमा भने यस्तो रेमिट्यान्स ५३ लाख डलर मात्रै बाहिरिएको छ ।
नेपालबाट वर्षेनि अरबौं रकम बाहिरिने गरेको छ । गत वर्ष मात्रै ६ अर्ब ६ करोड बढी रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो । अघिल्लो आवमा पनि ६ अर्ब ६१ करोड २८ लाख बढी रेमिट्यान्स बाहिरिएको थियो ।
नेपालमा विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउँछन् । श्रम स्वीकृति लिएर काम गर्न आउने विदेशीहरुले आफ्नो मुलुकमा पैसा पठाउने गरेका छन् । विदेशी कामदार आफुले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् ।
तर, कुल कमाइएको २५ प्रतिशत भने नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ । हाल नेपालमा ठुलो संख्यामा भारतीय कामदारहरु छन्, उनीहरुले नेपालमा अनौपचारिक रुपमा काम गर्दै आएका छन् । आफूले कमाएको रकम सिधै आफ्नो देशमा लैजान्छन् । यसरी लैजाने रकमको भने कुनै तथ्याङ्क छैन । नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्दै आएका विदेशी कामदारले पठाउने रेमिट्यान्सको आँकडा भने समावेश छैन ।
नेपालमा ठुलो संख्यामा भारतीय नागरिकहरुले चटपट, फलफूल तथा तरकारी बिक्री गर्दै आएका छन् । यसकासाथै सडक तथा निर्माणजन्य काममा पनि भारतीय नागरिकहरुकै दबदबा छ । उनीहरूले आफूले कमाएको पैसा अनौपचारिक रूपमै लैजाने गरेका छन् । यसरी अनौपचारिक रुपमा बाहिरिने रकमको भने कुनै तथ्याङ्क छैन ।
हाल नेपालका ठुला ठुला आयोजना तथा विदेशी लगानीका कम्पनीहरुमा विदेशी नै कर्मचारीहरु छन् । विशेषगरि जलविद्युत आयोजनाहरुमा ठुलो संख्या विदेशी कर्मचारी आउने गरेका छन् । अधिकांश जलविद्युत आयोजनाहरुमा पनि चिनियाँ, भारतीय कामदारहरु आउने गर्छन् । ती कामदारहरुले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन् ।
नेपालमा रेमिट्यान्स आप्रवाह उच्च, दुई महिनामै भित्रियो साढे २ खर्ब
तर, नेपाल भित्रने रेमिट्यान्स भने उच्च देखिएको छ । चालु आकवको दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १५.२ प्रतिशत बढी हो ।
गत आवको साउन र भदौ महिनाम भने २ खर्ब २८ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको थियो । भदौ महिनामा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ । नेपालमा सुरु भएको दशैं, तिहार लगायतका ठुला चाडपर्वले पनि रेमिट्यान्स आप्रवाह बढेको हो ।
मीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार चार सय ८५ पुगेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।