छठ मनाउन जनकपुरले मात्रै किन्यो ५ करोडको केरा! « Arthapath.com
१९ कार्तिक २०८१, सोमबार

छठ मनाउन जनकपुरले मात्रै किन्यो ५ करोडको केरा!



काठमाडौँ । भखैरै तिहार सकियो । अब तराईमा छठको रौनकले छोपिसकेको छ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र ५ करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घ्यका रूपमा चढाउने हुँदा माग उच्च हुने बताए । त्यसै कारण स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष छिमेकी मुलुकबाट ठूलो परिमाणमा केरा आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

उनका अनुसार अघिल्लो वर्ष करिब ४ करोड रुपैयाँभन्दा बढीको केरा भित्र्याइँदै आएको थियो । यसवर्ष करिब ५ करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको यादवले जानकारी दिए ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, पश्चिम बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए ।

छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको व्यवसायीले बताएका छन् । ‘छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ’, सचिव पूर्वेले भने।

व्यवसायीका अनुसार एउटा १० चक्के ट्रकमा १२०० घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रुपैयाँ हाराहारी पर्छ । बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि १००० रुपैयाँसम्म मूल्यमा बिक्री गरिने व्यवसायीले बताए ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि माग अनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको छ । साथै देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले पनि सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्न ज्यादा प्रेरित भइरहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्