नेपालको विद्युत बंगलादेश निर्यात सुरू

काठमाडौं । नेपालले आज (शुक्रबार)देखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।
शुक्रवार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल, विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक शुरुवात गरेका हुन् । योसँगै नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ ।
नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसाका दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रशारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रशारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत बंगलादेश विद्युत पुग्नेछ ।