बढ्न थाल्यो मूल्यबृद्धि

काठमाडौँ । चालू आर्थिक वर्ष सुरु भएपछि मुद्राफीति (औसत मूल्य बृद्धिको दर) बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अनुसार यस्तो देखिएको हो ।
गएको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । यो भनेको गत माघ यताकै उच्च हो । पछिल्लो एक महिनामा मात्रै मूल्यबृद्धिको दर ९६ आधार विन्दुले बढेको देखिन्छ ।
गत असारमा मुद्रास्फीति ३.५७ प्रतिशतमा झरेको थियो । त्यस बेला २०७८ भदौपछि सबैभन्दा न्यून मूल्यबृद्धि भएको देखिन्छ । तर नयाँ आर्थिक वर्ष सुरु भएपछि यो दर उचालिन थालेको छ । भारतमा त अक्टोबरको मुद्रास्फीति ६.२१ प्रतिशत पुगिसकेको छ ।
असारमा एउटै विन्दुमा आएको भारत र नेपालको मुद्रास्फीति अहिले भने बृद्धिको रफ्तार नेपालमा अलि सुस्त र भारतमा ज्यादा तीव्र देखिन्छ । भारतमा यसरी उकासिएको मूल्यबृद्धिको मार नेपाली बजारमा पनि पर्ने देखिन्छ । यस कारण आउँदा दिनमा अझै महँगी चर्किनसक्ने संकेत मिलेको छ ।
पछिल्ला महिनाको आँकडाहरुले असोजमा सबैभन्दा धेरै मूल्यबृद्धि भएको देखिए पनि गत सालको सोही अवधिसँग मापन गर्ने हो भने चाहीँ यो अझै कम हो । पोहोर साल असोजमा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो ।
असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ ।
माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।
महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७६ प्रतिशतले बढेको छ ।
प्रादेशिक आँकडा हेर्ने हो भने असोजमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६ प्रतिशत, मधेश प्रदेशको ५.०८ प्रतिशत, बागमती प्रदेशको ४.२४ प्रतिशत, गण्डकी प्रदेशको ३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.४२ प्रतिशत, कर्णाली प्रदेशको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको छ ।
यसले सुदुरपश्चिम र कोशीमा सर्वाधिक महँगी बढेको देखाउँछ भने कर्णालीमा महँगी दर सबैभन्दा कम रहेको देखिन्छ ।
भौगोलिक रुपमा हेनेए हो भने काठमाडौं उपत्यकाको मुद्रास्फीति ४.५ प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ । तराई क्षेत्र सबैभन्दा कम मूल्यबृद्धि रहेको देखिन्छ ।