ओरालो लाग्ला त सुनको भाउ ? यसो भन्छन् व्यवसायी « Arthapath.com
१० मंसिर २०८१, सोमबार

ओरालो लाग्ला त सुनको भाउ ? यसो भन्छन् व्यवसायी



काठमाडौं । सरकारले सुनको भन्सार महसुल घटाएसँगै सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले सुनको भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा घटाएको हो। चाँदीको महसुल पनि १५ प्रतिशतबाट १० प्रतिशतमा कायम गरिएको भन्सार विभागले जनाएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको हो ।

घटेको भन्सार महसुल आज (सोमबार) बाटै लागू भएको छ । भन्सार महसुल घटाएसँगै बजार भाउ पनि सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदी तोलामा १ सय १५ रुपैयाँ घटेर १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।

यसअघि भारतले पनि बजेटमार्फत सुनचाँदीको भन्सार महसुल घटाएको । भारतले सुनको भन्सार महसुल घटाएपछि खुला सिमानाका कारण तस्करीको जोखिम बढ्ने भएकाले नेपालमा पनि महसुल समायोजन गरिएको विभागले जनाएको छ ।

महासंघका पूर्वअध्यक्ष मणिक रत्न शाक्य भन्सार महसुल घट्दा उपभोक्ता र सरकार दुवैलाई फाइदा पुग्ने बताउँछन् । ‘महसुल घटाउन हामीले सरकारलाई बारम्बार आग्रह पनि गरिराखेको अवस्था हो । मससुल घट्दा पक्कै पनि व्यवसाय वृद्धिमा थप राहत पुग्छ । मूल्य वृद्धिले गर्दा ग्राहकहरूले किन्ने नसक्ने अवस्था आएको थियो । लगनकै सिजनमा समेत माग घटेको थियो । अब उपभोक्तालाई मात्र होइन राज्यलाई पनि राजश्व संकलनमा सहज हुन्छ’ उनले भने । यसले खस्किएको सुनचाँदीको व्यवसायलाई बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।

महँगो भन्सार महसुलले गर्दा अनौपचारिक माध्यमबाट सुन भित्रिदा राजश्व घटेको उनी बताउँछन् । चालू आर्थिक वर्ष ०८१/८२ को चार महिनामा १३२.५६४ किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार किलो सुन आयात भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकासिएपछि सुनको माग कमजोर भएको छ।

मूल्यमा ठूलो गिरावट आए पनि व्यवसायीलाई मर्का नपरेको उनले बताए । ‘बढ्दा खेरि पनि बढेकै हो । कहिलेकाही घट्छ पनि । व्यवसाय हो । दिगोपन सोच्नुपर्छ । सरकारको नीति व्यवसाय अनुकूल भए सबै राम्रो हुँदा जान्छ’ उनले भने ।

मूल्य बढ्दा विवाहको मुख्य सिजन मानिने मंसिरमा सुनको माग नबढेको उनले बताए। भन्सार महसुलले सुनको मूल्य घट्ने सम्भावना देखिए पनि अन्तर्राष्ट्रिय बजारमा तीव्र उतारचढाव आइरहेकाले त्यसको असर घरेलु बजारमा पर्ने उनले उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व साम्य नभएको कारण पनि सुनको मूल्य बढ्ने सम्भावना रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्