गसिपः नेपाली मुद्रा कसरी कमजोर बन्दै छ ?
काठमाडौँ । गत आइतबार पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जाल फेसबूकमा आजभन्दा ६४ वर्ष अघिको विदेशी विनिमय दरसम्बन्धि राजपत्र पोष्ट गरे । त्यस बेला अर्थ मन्त्रालयले नेपालमा जम्मा ३ वटा विदेशी मुद्रालाई मात्रै सटही सुविधा दिएको थियो ।
तर त्यो समयमा भारतीय मुद्रा चाहीँ विदेशी नभएर राष्ट्रिय चलनचल्तिमै थियो । नेपाल राष्ट्र बैंक स्थापना भएको चार वर्षमात्र भएको थियो र उसले नेपालमा आफ्नो अलग्गै मुद्रा छापेर प्रचलनमा ल्याउने कोसिस गरिरहेको थियो ।
त्यो समयमा अहिलेजस्तो ‘राजपत्र’ नभनेर भारतका अंग्रेज शासकबाट सिकिएको शब्द ‘गजेट’ भनिन्थ्यो । वि.सं. २०१७ साल कात्तिक २२ गतेको गजेटमा उक्त विनिमय दर तोकिएको खबर थियो, जुन त्यसै सालको १ पुसदेखि लागू भयो ।
त्यस बेला ब्रिटिश मुद्रा पाउण्ड स्टर्लिङ संसारमै सर्वाधिक महँगोमध्येमा पथ्र्यो । ईश्वीको १८ औँ शताब्दीको उत्तरार्धबाटै पाउण्ड विश्वकै प्रभूत्वशाली मुद्रा बनेको थियो । ब्रिटेनले सन् १८२१ मा ‘गोल्ड स्ट्याण्डर्ड’ भनिने सुनसँगको स्थिर विनिमय दर तय गरेको थियो ।
त्यसपछि त संसारमा अन्तरराष्ट्रिय ब्यापार, भुक्तानी र सञ्चितिमा ब्रिटिश मुद्राको ब्यापक प्रयोग हुन थाल्यो । तर दोस्रो विश्वयुद्ध पश्चात् ब्रिटिश मुद्रा कमजोर बन्न थालिसकेको थियो । बेलायती साम्राज्य ध्वस्त भएपछि उसको मुद्राको विश्वब्यापी उपयोग पनि घट्न थाल्यो र विस्तारै अमेरिकी डलरको उपयोग बढ्न थाल्यो ।
सन् १९४४ मा अमेरिकाले ३ साता लामो सम्मेलन गरेर एक सम्झौतामा विश्वका मुख्य अर्थतन्त्रहरुलाई हस्ताक्षर गरायो । ब्रेटनऊड्स सम्झौता भनिने घटनाले पाउण्डको साटो अमेरिकी डलरलाई सुनसँगको स्थिर विनिमयदरको अंकुशमा बाँधियो । बाँकी सबै मुद्रालाई अमेरिकी डलरसँग मापन गर्न थालियो ।
यही सम्झौता भएको १६ वर्षपछि नेपालमा तोकिएको विनियम दरको विवरण अहिले सामाजिक सञ्जालमा देखिएको हो । त्यसबेला १ पाउण्डको सटही दर २१ रुपैयाँ ३१ पैसा थियो । जुन अमेरिकी डलरभन्दा करीब ३ गुणा र स्वीस फ्राँङ्कभन्दा लगभग १२ गुणा महँगो थियो ।
त्यस समय १ अमेरिकी डलरको भाउ ७ रुपैयाँ ६२ पैसा र १ फ्राँङ्कको भाउ १ रुपैयाँ ७८ पैसा तोकिएको थियो । अहिले पाउण्ड ज्यादै सस्तो भइसकेको छ । तर त्यस समयको सस्तो मुद्रा फ्राँङ्क अहिले डलरभन्दा निकै महँगो छ ।
यस आँकडाले हिमालयको काखमा बसेको एक शान्तिप्रिय देश नेपालले आफ्नो मुद्रालाई कसरी निरन्तर ‘तन्नम’ स्थितिमा धकेल्दै लग्यो भन्ने झ्वाट्ट एक झलक प्रस्तुत गर्छ । आजको दिनमा नेपाली मुद्रा विश्वकै कमजोर मुद्राहरुमा पर्छ ।
‘एक्स–रेट्स’का अनुसार विश्वका प्रचलित ५२ मुद्राहरुमध्ये आज नेपाली मुद्रा १४ औँ कमजोर हालतमा छ । अमेरिकी डलरसँगको विनियम दर मापन गर्ने हो भने आइसल्याण्ड, जापान, पाकिस्तान, श्रीलंका, हङ्गेरी, कजाख्तान, चिली, अर्जेन्टिना, दक्षिण कोरिया, कोलम्बिया, इन्डोनेसिया, इरान र भेनेजुयलाका मुद्राहरु नेपाली रुपैयाँभन्दा कमजोर छन् ।
आजभन्दा १० वर्ष अघि फर्कने हो भने त नेपाल विश्वको १२ औँ कमजोर मुद्रा धारक मुलुक थियो । त्यसबेला भेनेजुयला र अर्जेन्टिनाका मुद्राहरु नेपालको तुलनामा कयौँ गुणा बलिया थिए ।
अहिले पनि संसारमा सबैभन्दा महँगो मुद्रा कुवेती दिनार हो । बहराइन, बहराइन र ओमनका मुद्रा पनि तुलनात्मक रुपमा निकै महँगा छन् । ब्रिटेन, स्वीट्जरल्याण्ड र युरोपेली क्षेत्रका मुद्रा अमेरिकी डलरभन्दा महँगो छ । डलरभन्दा सस्तो भए पनि सिंगापुर, ब्रुनेई, क्यानडा र अस्ट्रेलिया तथा न्यूजिल्याण्डका मुद्रा महँगो सूचीमै पर्छन् ।
पछिल्लो १० वर्षको आँकडा हेर्ने हो भने विश्वमा तीव्र दरले सस्तिएका मुद्रामध्ये नेपाली रुपैयाँको स्थान २० वा २१ औँ नम्बरमा पर्छ । यसबीच रुपैयाँ ‘ग्रिनब्याक’ समेत भनिने अमेरिकी डलरको तुलनामा ३६ प्रतिशत अवमूल्यन् (सस्तो) भएको छ । भेनेजुसयला, अर्जेन्टिना, टर्की, लिबिया, कजाख्तान, पाकिस्तान, ब्राजिलका मुद्राहरु यो दशकमा ज्यादा सस्तिएका छन् ।
यसै मेसोमा आज हामीले सन् २००० अर्थात् वि.सं. २०५७ साललाई आधार मानेर पछिल्ला २४ वर्षमा हाम्रो नेपाली मुद्रा कति बलियो वा कमजोर भएछ भनेर हेर्ने कोसिस गर्यौँ ।
पछिल्लो २४ वर्षमा नेपाली मुद्र सर्वाधिक कमजोर भएको स्वीस फ्राँङ्कसँग हो । स्वीट्जरल्याण्डको यो मुद्रा २४ वर्षमा २६२ प्रतिशत महँगिएको छ । हुन त, पछिल्लो १० वर्षमा डलरको तुलनामा सर्वाधिक ९ प्रतिशत महँगिने मुद्रा पनि यही हो ।
अब हामी यो कथनको सुरुमा उल्लेख गरिएको ६४ वर्ष अघिको इतिहासमा फर्किने हो भने वितेको साढे ६ दशकमा स्वीस मुद्रा हाम्रो रुपैयाँको तुलनामा साढे ८ हजार प्रतिशत (८५ गुणा)भन्दा धेरै महँगिएको छ । जबकी यही ६४ वर्षमा अमेरिकी डलर केवल १६.७ गुणा र पाउण्ड जम्मा ७ गुणामात्रै महँगिएका छन् ।
फेरि २४ वर्षे आँकडामा आउँदा फ्राँङ्कभन्दा पछाडी सिंगापुर डलर, अस्ट्रेलियन डलर एवम् डेनमार्कको मुद्रा क्रोना ज्यादा महँगिएका छन् । क्रोनाकै हारहारी युरो महँगिएको छ र क्यानेडिन डलर पनि अढाई दशक अघिको तुलनामा दोब्बर महँगो भइसकेको छ ।
हङकङ डलर ८३ प्रतिशत महँगिएको छ भने अमेरिकी डलर, साउदी अरब रियाल र कतारी रियाल समान ८२ प्रतिशत महँगिएका छन् । स्वेडेनको स्विडिस क्रोना ६८ प्रतिशत, ब्रिटेनको पाउण्ड स्टर्लिङ ६३ प्रतिशत र जापानको येन ३५ प्रतिशत महँगिएको छ ।
नेपालका लागि असाध्यै कम उतारचढाव भएको मुद्रा यही जापानी येन हो । यही पनि बीचमा एक पटक नेपाली मुद्राभन्दा महँगो भइसकेको थियो । तर पछि यसको भाउ फेरि घट्न थाल्यो र अहिले नेपाली मुद्राभन्दा सस्तो भएको छ ।
दक्षिण एसियामा नेपाली मुद्रा श्रीलंका र पाकिस्तानभन्दा बलियो छ । यी दुबै देश केही वर्षयता गम्भीर विदेशी विनिमय सञ्चितिको सामना गरिरहेका छन् । नेपाल भने दक्षिण एसियामै तेस्रो ठूलो विदेशी मुद्राको भण्डार बोकेर बसेको छ ।
तै पनि नेपालको मुद्रा अपेक्षाकृत रुपमा सस्तो नहुनुमा हामीले भारतीय मुद्रासँग आफ्नो मुद्रालाई बाँध्ने कोसिस मुख्य कारण रहेको ठानिन्छ । भारुसँगको स्थिर विनिमय दर हटाइदिने हो भने नेपाली मुद्राको मजबूती अझै धरासायी बन्नसक्ने अर्थशास्त्रीहरुले बताउँदै आएका छन् ।